नेपालगन्ज — नेपालगन्जमा भेटिएका कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने पहिलो व्यक्तिका ६ जना परिवार सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका उनीहरु मंगलबार साँझ घर फर्किएपछि फूल र मिठाईले स्वागत गरिएको थियो । वडा नम्बर ७ मा बस्दै आएका उनीहरुलाई कोरोना संक्रमणको आशंकामा शुक्रबार क्वारेन्टाइनमा पठाइएको थियो ।
स्थानीय युवा श्वेता गुरुङले कोरोना संक्रमण नभएको रिपोटर् आएपछि स्थानीयले टाढैबाट फूल बर्साएर स्वागत गरेको बताइन् । परिवारका अनुसार शुक्रबार संक्रमण देखिएका वृद्ध नानपाराबाट फर्किने क्रममा क्वारेन्टाइनमा नबसी वडा नम्बर ८ जोलहनपुरको मस्जिद पुगेका थिए । लकडाउन सुरु भएपछि उनी घर कमै आउने र बढीजसो उतै बस्ने गरेका थिए ।
वैशाख १९ गते नेपालगन्जका ५० वर्षीय पुरुषमा संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङ गरी ९४ जनाको स्वाब पीसीआर जाँच गरिएको थियो । त्यसमध्ये २२ जनामा कोरोना संक्रमण देखिएको थियो । मंगलबार रातिसम्म ५६ जनाको स्वाब संकलन गरी जाँचका लागि भेरी अस्पताल नेपालगन्जमा पठाइएको जिल्ला जनस्वास्थ्यले जनाएको छ ।
