कोरोनाकालमा यार्चाकुम्भु संकलन- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाकालमा यार्चाकुम्भु संकलन

यार्चाकुम्भुको विश्वबजार खस्किँदो छ र हङकङ, चीन, सिंगापुरका व्यापारीले किन्न नसक्ने स्थिति छ भन्ने सन्देश हिमाली गाउँगाउँमा पुर्‍याउनुपर्छ ।
सुरज उपाध्याय, अखण्ड उपाध्याय

यार्चाकुम्भु हिमाली बासिन्दाको आयको मुख्य स्रोतका रूपमा स्थापित भैसकेको छ । पछिल्ला केही वर्षमा यार्चाकुम्भुको मूल्य अनपेक्षित रूपमा बढिरहेको छ ।  मूल्यवृद्धिसँगै यसैमा निर्भर हुनेहरू पनि बढिरहेका छन् । हरेक वर्ष जेठको पहिलो हप्ताभित्र विभिन्न जिल्लाका संकलनकर्ता यार्चाकुम्भु पाइने पाटनहरूमा पुगिसक्छन् । मध्यवर्ती क्षेत्रमा राष्ट्रिय निकुञ्जबाट संकलन पुर्जी लिनुपर्छ । अन्यत्र स्थानीय गाउँपालिकाले संकलन पुर्जी दिन्छ ।


यार्चाकुम्भु संकलन गर्न जानेहरूले रासन, न्यानो कपडा, दाउरा लगायतका सामग्रीको जोहो गर्ने बेला यही हो । डोल्पा, मनाङ, रुकुम, दार्चुलाका पाटनहरूमा देशभरबाट मान्छे पुग्छन् । डोल्पामा पाइने यार्चाकुम्भु अरू जिल्लाको तुलनामा महँगोमा किनबेच हुन्छ । २०६४ सालतिर ४० रुपैयाँ प्रतिगोटा पाइने यार्चाकुम्भु गत वर्ष १ हजार ५ सय प्रतिगोटा बिक्री भएको थियो ।

डोल्पाका विद्यालयहरू यार्चाकुम्भु संकलनको समयमा बन्द हुन्छन् । लगभग १ महिना शिक्षकहरू पनि विद्यार्थीसँगै यार्चाकुम्भु संकलन गर्न जाने हुनाले अधिकांश विद्यालयको शौक्षिक गुणस्तर कमजोर छ । यो समयमा खेतीपाती र अन्य काम पनि ठप्प हुन्छन् । पठनपाठन र अन्य काम छोडेर यार्चाकुम्भु संकलनका लागि समय छुट्याउनुले पनि हिमाली जीविकोपार्जनमा यसको महत्त्व देखाउँछ । हिमाली बासिन्दाले यसरी २ देखि ३ महिना खटेर गरेको कमाइले वर्षभरि खर्च पुर्‍याउँछन् । घरखर्च, विद्यालय शुल्क, औषधि उपचारदेखि ऋण तिर्नसम्म यार्चाकुम्भुको भर पर्नुपर्छ । व्यवसाय बढाउन पनि यसैले मद्दत गर्छ । त्यसैले ज्यान जोखिममा पारेर स्थानीय बासिन्दा यार्चाकुम्भु संकलनमा हिँड्ने गर्छन् ।

यार्चाकुम्भुका कारण डोल्पामा प्राय: खेतीपाती गर्न छाडिसकियो । यार्चाकुम्भुको तुलनामा खेतीपातीको आम्दानी निकै कम हुन्छ । दु:ख भने खेतीपातीमा बढी छ । यार्चाकुम्भुको कमाइकै डोल्पा सदरमुकाम वरिपरि वा अन्न फल्ने खेतमा अहिले घरहरू ठडिन थालेका छन् ।

यस्तोमा स्थानीय तहले कोरोना महामारीको यो बेला यार्चाकुम्भु संकलन गर्न बन्देज लगाए धेरै घरको चुलोमा आगो बाल्दैन । त्यसैले हिमाली जनतालाई यार्चाकुम्भु संकलन गर्न नपाइने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

४३ दिनदेखि देश ठप्प छ । कोरोना संक्रमितको संख्या पनि बढेर ८२ पुगिसक्यो । यहाँसम्म आइपुग्दा मानसिक र आर्थिक रूपमा हामी निकै प्रभावित भैसकेका छौं । कोरोना भाइरस फैलिन नदिन एकआपसमा १ मिटरको दूरी कायम गर्नुपर्छ भनिँदै आएको छ । सिंगो विश्व सामाजिक दूरी बढाएर कोरोना कहर कम गर्न लागिपरेको बेला हिमाली जनताले यार्चाकुम्भु संकलन गर्न पाउँछन् कि पाउँदैनन् भन्ने दुविधा बढेको छ । यार्चाकुम्भु टिप्न अनुमति दिनु उचित हुन्छ कि हुन्न भन्ने प्रश्नमा छलफल जरुरी छ । यार्चाकुम्भु संकलन गर्न जाँदा कोरोना भाइरस सर्ने जोखिम बढी हुन्छ भन्ने जानकारी सबैमा छ । यदि अहिले यार्चाकुम्भु संकलनका लागि अनुमति दिने हो भने कोरोना भाइरसले हिमाली जिल्लामा पनि भयावह रूप लिने सम्भावना छ ।

डोल्पामा यार्चाकुम्भु संकलनका लागि रुकुम, जाजरकोट, जुम्ला, मुगु, कालीकोट र राजधानीबाट समेत मान्छेहरू आउने गर्छन् । ३ महिनाको संकलन अवधिमा लगभग १ लाख मानिसको भीड हिमाली पाटनमा हुन सक्छ । अहिले यार्चाकुम्भु संकलन गर्न दिने हो भने लकडाउनको बाबजुद छिमेकी जिल्लाहरूबाट संकलनकर्ता आउने पक्का छ । राज्यले यार्चाकुम्भु संकलनका लागि अनुमति नदिए पनि लुकेर वा छलेर संकलन गरिन्छ नै । गत वर्ष संकलन समयभन्दा अघि नै यार्चाकुम्भु पाइने पाटनहरूमा मानिसको भीड लागिसकेको थियो । यो वर्ष पनि यस्तै भीड लाग्ने पक्का छ । त्यसैले कोरोना संक्रमणको त्रास रोक्न स्थानीय सरकारको रोहवरमा सुरक्षाकर्मी परिचालन गरेर यार्चाकुम्भु संकलन रोक्न सकिन्छ । यदि संकलन रोक्न सकिएन भने यार्चाकुम्भु पाइने पाटनहरूमा एक व्यक्ति मात्रै कोरोना संक्रमण भए एकैपटक धेरै संकलनकर्तामा फैलन्छ । यार्चाकुम्भु पाइने विकट हिमाली जिल्लाहरूमा सुरक्षाकर्मीको अभाव छ ।

यार्चाकुम्भु संकलन रोकियो भने पनि यार्चाकुम्भु पाउने पाटन वरपर बस्नेहरूले सजिलै संकलन गर्नेछन् । यस्तोमा पाटन टाढाका निमुखा जनता बन्द गर्ने निर्णयको मारमा पर्नेछन् र वर्षभर अभावमा बाँच्न बाध्य हुनेछन् । भोकको कहर कम गर्न सरकारले छिटो ध्यान दिन जरुरी छ । बेलैमा तीनै तहका सरकारले ठोस निर्णय गर्नुपर्छ ।

संकलन गर्ने नदिने निर्णय गर्दा तत्कालका लागि आफ्नो रोजीरोटी खोसिएजस्तो लागे पनि यदि सरकारी निकायहरूले सकारात्मक सोच्न र योजना बनाउने हो भने यार्चाकुम्भुमा निर्भर हिमाली जीविकाको वैकल्पिक स्रोत खोज्न सक्छ । हिमाली जिल्लाहरू प्राकृतिक स्रोत र साधनमा धनी छन् । यस्ता जिल्लाहरूमा यार्चाकुम्भु मात्रैले रोजीरोटी धान्दैन । जीविकोपार्जनको अन्य विकल्पको पनि खोजी गरिनुपर्छ । अन्य दिगो जीविकापार्जनका स्रोतहरू प्रचुर मात्रामा छन् । यो वर्ष यार्चाकुम्भु संकलन रोकेदेखि जनता र स्थानीय निकाय अन्य स्रोत खोज्न बाध्य हुन्छन् । सबै सम्बन्धित निकायले योजना बनाउने हो भने पर्यटन, फलफूल खेती र कृषि दिगो र सुहाउँदो आम्दानीका स्रोतहरू हुन सक्छन् ।

यार्चाकुम्भु संकलनको सिजनअगावै राज्यले यो विषयमा कठोर निर्णयका साथ प्रस्तुत हुनुपर्छ । त्यसका लागि, पहिले स्थानीय सरकारको सहयोग लिने र आवश्यक सुरक्षाकर्मी तयार पारी यार्चाकुम्भु संकलनलाई पूर्ण रूपमा रोक्नुपर्छ । अनि यार्चाकुम्भु निर्यातका लागि दिइने छुट पुर्जी यो वर्ष दिनु हुन्न । त्यस्तै यार्चाकुम्भु संकलनलाई अवैध घोषणा गरेर कसैले संकालन गरेर बिक्री वितरण गरेको पाए वन ऐनअनुसार कारबाहीको व्यवस्था गरिनुपर्छ । यार्चाकुम्भुको विश्व बजार खस्किँदो छ र हङकङ, चीन, सिंगापुरका व्यापारीले किन्न नसक्ने स्थिति छ भन्ने सन्देश हिमाली गाउँगाउँमा पुर्‍याउनुपर्छ ।

यदि बढी माग हुने विश्व बजार अहिले बन्द छ भन्ने जानकारी संकलनकर्तासम्म पुर्‍याउन सकियो भने ज्यान जोखिममा पारेर यार्चाकुम्भु टिप्न कोही पनि जाँदैनन् । जनतालाई भोकमरीबाट बचाउन र यार्चाकुम्भु संकलनमा रोक लगाउन सकियो भने गिर्दो उच्च हिमाली पर्यावरणले पनि आफ्नो प्राकृतिक रूपमा फर्किने मौका पाउनेछ । बर्सेनि लाखौं मानिसको चपेटामा पर्ने उच्च हिमाली क्षेत्रका पाटनहरूमा फेरि पनि दुर्लभ हिउँचितुवा, नाउर, घोरलहरू चरिचरन गर्नेछन् । त्यहाँका खोलानाला यार्चाकुम्भु टिप्न गएका लाखौं मान्छेले फालेका प्लास्टिक र फोहोरबाट मुक्त हुनेछन् । यसरी तीनै तहका सरकार र स्थानीय समुदाय, व्यापारीसँगको सामूहिक छलफल र सहयोगबाट संकलनकर्तालाई खाद्यान्न अभाव हुन नदिई यो वर्ष यार्चाकुम्भु संकलनको व्यवस्थापन गर्न सकियो भने फैलँदो कोरोना संक्रमणबाट जनता बच्नेछन् । र, क्षय हुँदै गएको उच्च हिमाली पर्यावरणले पनि फेरि आफ्नै रूपमा फर्कने अवसर पाउनेछ ।

सुरज आइवा स्टेट युनिभर्सिटीमा पोस्ट डक्टरल रिसर्चर हुन् । अखण्ड एमबीबीएस अध्ययनरत छन् ।

प्रकाशित : वैशाख २४, २०७७ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्

कोशी अस्पतालबाट ६ जना कोरोना संक्रमित भारतीय नागरिक डिस्चार्ज

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरे बिदाई
देवनारायण शाह

विराटनगर — विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि उपचाररत ६ जना भारतीय बुधबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने ६ जना नै भारतको नयाँदिल्लीका बासिन्दा हुन् ।

उनीहरुलाई दुई वटा एम्बुलेन्समा विराटनगर १५ रानीस्थित ‘रानी मरकज’ को क्वारेन्टाइनमा लगेर राखिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पुन: थ्रोट स्वाब परीक्षण गरिने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।

डिस्चार्ज भएका ६ जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गमजेर तथा चिकित्सकहरुले फूलमाला दिएर बिदाइ गरे ।

डिस्चार्ज भएका अनुस जैदीले आफूहरुको अस्पताल बसाइ अत्यन्तै सुखद भएको बताए । ‘धर्म प्रचारका लागि हिँडेका हामीहरुमा संक्रमण देखिदा पनि त्रसित भएनौं,’ उनले भने, ‘संक्रमण पुष्टि भएपछि हामीलाई विराटनगरको कोरोना उपचार केन्द्रमा ल्याएर राखेको र यहाँ चिकित्कसहरुको अत्यन्तै राम्रो हेरचाहले आत्मबल झन मजबुत भयो ।’

उपचार केन्द्रमा आफूहरुको नियमित स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै विभिन्न चिकित्सकहरुले पनि नियमित फोन सम्पर्क गरेर हेरचाह गरेको जैदीले सुनाए । आफूहरुलाई आवश्यक भएको हरेक सामग्री पनि स्वास्थ्यकर्मीहरुले उपलब्ध गराइदिएर माया गरेको भन्दै उनले धन्यवाद ज्ञापन गरे ।

प्रदेश १ मा सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनाको लगातार तीन पटक थ्रोट स्वाब परीक्षण गर्दा डिस्चार्ज भएका ६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुसँगै संक्रमण देखिएका अन्य ७ जनाको तीनै पटकको परीक्षणमा भने ‘पोजिटिभ’ आएको मिश्रले बताइन् । उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको तर नतिजा आउन बाँकी रहेको उनले सुनाइन् ।

मेडिकल सुपरिटेन्डेन्ट मिश्रले संक्रमितहरु उपचार केन्द्रमा आएदेखि हेरचाह मात्रै गरेको र हालसम्म कसैलाई पनि कुनै किसिमको उपचार गर्नुपर्ने कुनै लक्षण नदेखिएको बताइन् । ‘कोरोना भाइरसको संक्रमण देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘उपचार केन्द्रमा बसेका कसैलाई पनि कुनै औषधिसमेत खुवाएका छैनौं र उनीहरुमा कुनै लक्षणसमेत देखिएको छैन ।’ डिस्चार्ज भएर जानेहरुले धन्यवाद ज्ञापन गरेर जानु नै आफूहरुको उपलब्धि भएको उनको भनाइ थियो ।

मन्त्री घिमिरेले डिस्चार्ज भएकाहरुलाई क्वारेन्टाइनमा बसेको अवधिमा पनि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने व्यवस्था मिलाएको बताए । ‘यसरी नै चाँडै सबै जना स्वस्थ्य भएर डिस्चार्ज भई घर फर्किने विश्वास छ,’ उनले भने ।

उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासीसहित १२ जनामा वैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यही दिन उनीहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा ल्याएर राखिएको थियो । त्यसपछि भुल्केका थप १६ जना गरी कूल २८ जना संक्रमित भई उपचार केन्द्रमा भर्ना गरिएकोमध्ये ६ जना डिस्चार्ज भएका हुन् । यस्तै, भोजपुरको हतुवागढीका १ र झापाको बाह्रदशी र दमकको २ जना गरी अब कूल २५ जना उपचार केन्द्रमा भर्ना छन् ।

योसँगै नेपालमा हालसम्म संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या २२ पुगेको छ भने विभिन्न अस्पतालमा ७० जना उपचाररत छन् ।

प्रकाशित : वैशाख २४, २०७७ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×