सामाजिक सञ्जाल बन्दको प्रभाव : अनलाइन व्यापार ठप्प बन्दा मारमा सञ्चालक र श्रमिक

सरकारले कानुन ल्याएर गर्नुपर्ने काम निर्णय र निर्देशनको भरमा गर्नु गल्ती भएको अर्थविद्को टिप्पणी, लामो समय यही अवस्था रहे देशको अर्थतन्त्रमा नराम्रो असर पर्ने, सरकारका यस्ता क्रियाकलापले देशमा बेरोजगारी बढ्ने दाबी

भाद्र २३, २०८२

अनुप पौडेल, सन्जु पौडेल, कमलेश ठाकुर

Impact of Social Media Shutdown: Employers and workers hit hard when online business shuts down

What you should know

कास्की, जनकपुरधाम, लुम्बिनी — पोखराको चिप्लेढुंगामा भित्री गल्लीमा एउटा पसल छ जसले देशभर फोटो फ्रेमको व्यापार गर्छ । तीन दिनदेखि यो पसलका सञ्चालक ओम सुवेदी गहिरो चिन्तामा छन् । उनलाई अब व्यवसाय कसरी चलाउने भन्ने तनाव थपिएको छ । सरकारले चल्तीका सामाजिक सञ्जाल बन्द गरेपछि कति व्यवसायीलाई जीविकोपार्जन गर्न विकल्प खोज्नुपर्ने अवस्था आइलागेको छ ।

कतिलाई टिकटक र भौतिक रूपमा सञ्चालित व्यवसायले राहत मिलेको छ । तर, जसको व्यवसाय फेसबुक र इन्स्टाग्रामबाट बढी चलेको छ, उनीहरू विस्थापनको चिन्तामा छन् । 

सुवेदी तिनै व्यवसायीमध्ये एक हुन्, जसको व्यवसाय फेसबुक र इन्स्टाग्रामकै माध्यमबाट चलेको छ । उनी १८ वर्षदेखि फोटो फ्रेम र प्रिन्ट व्यवसायमा संलग्न छन् । बाटोमै नभएकाले नियमित आउने ग्राहकबाहेक अरूलाई उनको पसल थाहै छैन । उनको व्यापारको स्रोत भनेकै सामाजिक सञ्जाल हो । उनी पोखरा अनलाइन पसल नामको फेसबुक पेज र इन्स्टाग्राम प्रोफाइलमा आफूले तयार पारेका गिफ्ट सामग्री, फोटो फ्रेम, प्रिन्टेड कपडा र डिजाइन पोस्ट गर्छन् । त्यहीँबाट अर्डर आउने र अहिले आफ्नो व्यापारको मुख्य स्रोत नै बन्द भएपछि समस्या भएको उनले सुनाए ।

‘फेसबुक र इन्स्टाग्रामबाटै अर्डर आउने हो । त्यो नै नभएपछि अब सबै सकिएजस्तै भयो,’ उनले दुःख सुनाए । २०७६ सालमा कोरोनाले लकडाउन भएपछि उनी अनलाइन व्यवसायतिर जोडिएका थिए । त्यसयता उनको व्यवसाय अनलाइन केन्द्रित छ । सरकारले आफूजस्ता व्यवसायीबारे नसोची, विकल्प नखोजी बन्द गरेकामा उनी दुःखी छन् । ‘हामीले बोलेको कुरा सरकारले सुन्दैन । यस्तो झ्याप्पै बन्द नगरी विकल्प पनि हुन सक्थ्यो । सामाजिक सञ्जालमै निर्भर हुने मान्छेलाई त गाह्रो पर्छ,’ उनले भने । 

चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, न्युरोड पोखराका मुख्य बजार हुन्, जहाँ महँगो भाडा तिर्नुपर्छ । त्यसैले भइरहेको ठाउँमा उनले न व्यवसाय चलाउन सकेका छन्, न नयाँ ठाउँमा सर्न सक्छन् । व्यापारको मुख्य स्रोत रहेका दुवै सामाजिक सञ्जाल बन्द रहेपछि व्यवसाय के गर्ने भन्ने बिलखबन्दमा उनी छन् । दुई जना कर्मचारीलाई निकाल्नुपर्ने र व्यवसाय नै छोड्नुपर्ने अवस्था आइलागेको उनले सुनाए । 

Impact of Social Media Shutdown: Employers and workers hit hard when online business shuts down

पोखराकै सिर्जनाचोकमा सुस्मिता ढकाल पछिल्लो ६ वर्षदेखि कपडा भाडामा दिने व्यवसाय चलाइरहेकी छन् । ‘पोखरा ड्रेस रेन्टिङ सर्भिस’ को व्यापारको मुख्य स्रोत पनि सामाजिक सञ्जाल नै हो । काठमाडौंको सिनामंगलमा पनि यसको शाखा छ । टिकटक चलेकाले उनलाई व्यापारमा टाउको नै समात्नुपर्ने गरी खासै धेरै फरक परेको छैन । तर, सामाजिक सञ्जालबाट भइरहेको व्यापार–व्यवसायको ठूलो हिस्साबारे सरकार गम्भीर हुनुपर्ने उनको मत छ । 

Impact of Social Media Shutdown: Employers and workers hit hard when online business shuts down‘मैले पहिल्यैबाट टिकटक चलाउने भएर अहिले त्यति धेरै असर परेको छैन,’ उनले भनिन्, ‘तर, टिकटकबाटै मात्र ग्राहक आउने भन्ने हुँदैन । त्यसैले प्रभाव परिहाल्छ ।’ उनी जापान, अस्ट्रेलिया, बेलायतलगायत देशमा अनलाइनकै माध्यमले पोखराबाटै कपडा बिक्री गरिरहेकी छन् । 

सूचना प्रविधिमा स्नातक गरेका जनकपुरधामका सञ्जयकुमार चौधरीले पढाइसँगै चार वर्षदेखि अनलाइन व्यवसाय गर्दै आएका थिए । एमएम डिजिटल ग्यारेजका सञ्चालक रहेका उनी ४० वटा व्यवसायीलाई अनलाइन सेवा दिइरहेका छन् । ६ जना युवालाई पनि रोजगारी दिएका छन् । तर, सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेपछि उनको काम ठप्प हुने अवस्थामा पुगेको छ ।

 अनलाइन प्रचारप्रसार तथा ग्राफिक्स डिजाइन गर्दै आएका सञ्जयले विगतको तुलनामा ५० प्रतिशत काम घटेको बताए । तर सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न नदिए बिस्तारै यी काम पनि खोसिने उनको चिन्ता छ । ‘काम आउन छाडेको छ । त्यही भएर अहिले तीन जनालाई मात्रै अफिस बोलाएका छौं,’ उनले भने, ‘दिनकै १० हजार रुपैयाँ घाटा भइरहेको छ ।’ सरकारले मेटालगायत २५ वटा कम्पनीका सामाजिक सञ्जाल बन्द गरेपछि सञ्चालनमा रहेको प्लाटफर्ममा सेवाग्राहीलाई लगिरहेको उनको भनाइ छ । तर ती प्लाटफर्म त्यति धेरै प्रभावकारी नरहेको उनले जनाए । 

सरकारले फेसबुक, म्यासेन्जर, एक्सलगायतका सामाजिक सञ्जाल बन्द गरेर आफूहरूजस्ता प्रविधिमा आधारित व्यवसाय गरिरहेकालाई थप मारमा पारेको उनको बुझाइ छ । ‘सरकारले युवालाई रोजगारी दिन सकेको छैन । भएको सानो रोजगारी पनि खोस्दै छ,’ उनले भने, ‘सरकारले गरिखानेलाई दुःख दिने काम गरेको छ ।’ 

एमएम डिजिटल ग्यारेजजस्तै मारमा छ पठाओ नेपाल पनि । जनकपुरधाममा १० महिनाअदेखि पठाओ पार्सल सुरु भएको छ । धनुषा र महोत्तरीमा दैनिक २० जनालाई सेवा दिइरहेका थिए । बिस्तारै पठाओ पार्सलले लय समात्दै थियो । तर, सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि पठाओको काम नै ठप्प भएको पठाओ जनकपुर शाखाका प्रतिनिधि आलोककुमार मण्डलले जनाए । 

‘हामीले हिजो (शनिबार) सम्म पहिलाकै अर्डरअनुसार काम गर्दै थियौं । त्यही भएर बन्द भएको दुई दिनपछिसम्म काम पाएकै थियौं,’ मण्डलले भने, ‘तर आज (आइतबार) पार्सल आएकै छैन ।’ सामाजिक सञ्जाल बन्द भएपछि ग्राहकसँग विक्रेता कम्पनी पुग्न नसकेपछि आफूलाई पनि काम नआएको उनले सुनाए । जनकपुरधामकी इन्दु सिंह पनि अनलाइन व्यवसाय ठप्प भएको बताउँछिन् ।

सटरको भाडा बढेपछि एक वर्षअघि उनले अनलाइनमार्फत फेन्सी सामान बिक्री गर्दै आएकी थिइन् । तीन दिनयता उनको व्यापार पनि ठप्प भएको छ । ‘ग्राहकसँगको सम्पर्क नै टुटेपछि कसरी व्यापार हुन्छ,’ उनले भनिन्, ‘सरकारले एक्कासि बन्द गरिदिँदा रोजीरोटी खोसिदिएजस्तो लागेको छ ।’ 

रूपन्देहीको बुटवल उपमहानगरपालिका – ८ भानुपथमा साइन डिजिटल पसलबाट फोटो, क्यालेन्डर, टिसर्ट प्रिन्ट गरी फेसबुक, इन्स्टाग्राममा पोस्ट गरेर देशभर नै बिक्री गरिरहेका राजीवप्रसाद भुसाल व्यापार नभएपछि छटपटिएका छन् । ‘मेरो त व्यापार पूरै डामाडोल भयो, अर्डर लिन पाइएन, पुरानाले पैसा पठाएको स्क्रिन सट पनि नआउँदा पैसा आयो वा आएन थाहा नै भएन,’ उनले भने । अनलाइनबाट दिनको २५ हजारभन्दा बढी व्यापार हुने गरेकामा यसरी नै बन्द भइरहे ठूलो मर्कामा पर्ने उनले बताए । आफूले सञ्जालमा गरेको पोस्टबाट ग्राहकले रोजेर किन्ने गरेकामा अब व्यवसाय नै रोकिएको भुसालले जनाए ।

Impact of Social Media Shutdown: Employers and workers hit hard when online business shuts down

सामाजिक सञ्जाल नचल्दा व्यापार ठप्प भएको दिनमै ८० हजार रुपैयाँभन्दा बढीको व्यापार गरिरहेकी तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलकी रूपा बस्नेतले बताइन् । बाबो किड्स नामक बच्चाका सामान पाइने उनको पसल अनलाइन व्यापारकै लागि परिचित छ । ‘अहिले नयाँ सामान हालिएको छ, चाडबाडमा आफन्तकहाँ आउने अभिभावकले बच्चाका लागि खरिद गरिदिने गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘अब कसरी व्यापार हुन्छ थाहा छैन ।’ 

विशेषगरी बालबालिकाका लागि गाडी, स्कुटर, साइकललगायत बिक्री गर्दै आएकी बस्नेतले शनिबार एउटा पनि सामान बेच्न नपाएको सुनाइन् । आइतबार अर्को सामाजिक सञ्जाल भाइबरमा एकाउन्ट खोलेर मुस्किलले १/२ वटा बिक्री गरेको उनको भनाइ छ । कोरोनाकालदेखि नै अनलाइन माध्यमबाट व्यापार सुरु गरेकी उनले सरकारले एक्कासि बन्द गरेर व्यवसाय अस्तव्यस्त बनाइदिएको गुनासो गरिन् । आफूले गरेको काममा परेको असरबारे कसलाई भन्ने र अब कसरी व्यापार चलाउने भन्ने सोच्नै नसकेको उनले सुनाइन् । 

रूपन्देहीमा पछिल्लो समय धेरैले पसलसँगै भए पनि अनलाइनबाट व्यापार बढाइरहेका थिए । सामाजिक सञ्जाल बन्द हुँदा आन्तरिक छलफल र ग्राहकले गरेको अर्डरमा सहज तरिकाले पुर्‍याउन नसकिएको ‘भोज डिल्स’ एपकी सञ्चालक नेहा अग्रवालले बताइन् । हरेक दिन नै ग्राहकका लागि अफर ल्याउन सकिने वा केही नयाँ विषयबारे जानकारी पोस्ट्याउन पर्दा त्यसमा असर परेको उनको भनाइ छ । 

व्यापारिक हिसाबले मात्र नभएर हरेक सामान्य नागरिकले पनि दैनिक रूपमा गरिरहेको सञ्जालको प्रयोग गर्न नपाउँदा दैनिकीमै अप्ठ्यारो सिर्जना भएको अग्रवालको भनाइ छ । सरकारले नियम, कानुन बनाउने कामलाई अगाडिदेखि नै लागू गराएको भए हुने वा अहिले पनि सम्बन्धित निकायलाई खबर गरेर नागरिकलाई यो माध्यम बन्द नगरिदिएको भए हुन्थ्यो भन्ने लागेको उनले बताइन् ।

सरकारले कानुन ल्याएर गर्नुपर्ने काम निर्णय र निर्देशनको भरमा गर्नु गल्ती भएको अर्थशास्त्री सुरेन्द्र लाभको तर्क छ । लामो समय यही अवस्था रहे देशको अर्थतन्त्रमा नराम्रो असर पर्ने उनले जनाए । सरकारको यस्ता क्रियाकलापले देशमा बेरोजगारी बढ्ने उनको भनाइ छ । ‘सबैभन्दा महत्त्वपूर्ण कुरा सरकारले तत्काल विकल्प नदिए नागरिकको विश्वास गुमाउँछ,’ उनले भने, ‘यसले अर्को रूप लिन सक्छ । किनभने यसले सबैभन्दा बढी प्रभावित निम्नवर्गीय मानिसलाई गरेको छ ।’ 

सरकारले नागरिकको मुख थुन्ने काम गरेको राजर्षि जनक विश्वविद्यालयका सहायक प्राध्यापक रजत पाण्डेको टिप्पणी छ । विकल्प नदिएर सरकारले सामाजिक सञ्जाल बन्द गरेर कानुनकै उल्लंघन गरेको उनले बताए । ‘डिजिटल युगमा अभ्यस्त भइसकेपछि बन्द गर्नु ठीक होइन,’ उनले भने, ‘सरकारले यो १० वर्षअघि गर्ने काम अहिले गरेको छ ।’ सरकारले कम्पनीलाई कानुनी दायरामा ल्याउन यस्तो निर्णय गरेको भने पनि समग्रमा नागरिकको अधिकार हनन गरेको उनको प्रतिक्रिया छ । 

अनुप

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully