नेपालको विश्वव्यापी आईटी प्रतिस्पर्धात्मकता जोगाउन नास-आईटीको आग्रह

सामाजिक सञ्जाल प्लाटफर्महरू पूर्णरुपमा प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रलाई प्रत्यक्ष असर पार्ने यस क्षेत्रमा कार्यरत संस्थाहरुले बताएका छन् ।

भाद्र २२, २०८२

सजना बराल

NAS-IT urges to maintain Nepal's global IT competitiveness

What you should know

काठमाडौँ — सामाजिक सञ्जाल प्लाटफर्महरू पूर्णरुपमा प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रलाई प्रत्यक्ष असर पारेको भन्दै नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) ले ध्यानाकर्षण भएको जनाएको छ ।

यस कदमले नेपालभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्ने आईटी कम्पनीहरूको दैनिक काम-कारबाहीलाई हदैसम्म अवरोध पुगेको आईटी कम्पनीहरूको गुनासो छ । साथै, ग्राहकहरूसँगको सञ्चारलाई पूर्ण रुपमा अवरुद्ध पारी परियोजना समन्वयमा ढिलाइ मात्र नभई समग्र व्यापार व्यवसायलाई नै ठूलो जोखिममा पार्ने स्थिति उत्पन्न भएको नास-आईटीले विज्ञप्तिमा जनाएको छ ।

‘विश्व बजारमा नेपालको बढ्दो अवसर तथा छवि कायम राख्नका लागि तथा दैनिक सेवा सम्प्रेषण कायम राख्नका लागिसमेत यस्ता सञ्चार माध्यमको अविच्छिन्न पहुँच हुनु अपरिहार्य भएकाले हाल लगाइएको प्रतिबन्धलाई यथाशीघ्र हटाई सम्बन्धित निकायसँग दीर्घकालीन समाधानका उपाय खोज्न नेपाल सरकारसँग नास-आईटी विनम्र अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

नास-आईटी नेपाल सरकारको सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सुनिश्चित गर्ने उद्देश्यप्रति सकारात्मक रहे पनि सेवालाई पूर्ण रुपमा अवरुद्ध नगरी खोजिने उपायहरुको स्वागत गर्न तत्पर रहेको उल्लेख गरेको छ ।नेपालको आईटी उद्योगलाई प्रतिनिधित्व गर्ने संस्था हो, नास-आईटी । हाल यसमा २५० भन्दा बढी सदस्य कम्पनीहरू छन् ।

यी कम्पनीहरूले सफ्टवेयर विकास, मोबाइल एप निर्माण, साइबर सुरक्षा, क्लाउड सेवा र आईटी परामर्श जस्ता विभिन्न क्षेत्रहरूमा काम गर्छन् । मूलत: सूचना प्रविधि सेवा निर्यातमा संलग्न छन् । नेपालले सन् २०२२ मा ५१ करोड ५४ लाख अमेरिकी डलर बराबरको सूचना प्रविधि सेवा निर्यात गरेको थियो । 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully