सिमले काठदेखि मोटरबोटसम्म

धार्मिक अनुष्ठान र स्थानीय आवश्यकताअनुसार सिमलका काठमा प्वाल पारेर सुरु भएको डुंगा व्यवसायले २०५० को दशकबाट व्यावसायिक यात्रा थालेको हो  

माघ ९, २०८१

प्रतीक्षा काफ्ले

From sawn timber to motorboats

कास्की — पोखरा नेपालको प्रमुख पर्यटकीय सहर हो । यहाँको प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृंखलाको मनोरम दृश्यले पर्यटकलाई निरन्तर आकर्षित गरिरहेको छ । तालतलैयाको सहरले समेत चिनिने पोखरामा डुंगा व्यवसायले छुट्टै आकर्षण थपेको छ । 

पोखरामा सञ्चालित डुंगाको छुट्टै इतिहास छ । सिमलका काठमा प्वाल पारेर सुरु गरिएको यहाँको डुंगा यात्रा आल्मुनियम र मोटरबोटसम्म पुगे पनि यहाँका अधिकांश तालमा अहिले पनि काठकै डुंगा बढी प्रचलित छन् । पोखराको फेवातालमा डुंगा सञ्चालनको इतिहास लगभग २० औं शताब्दीको मध्यतिरबाट सुरु भएको मानिन्छ । फेवातालमा डुंगा सञ्चालनको सुरुवात धार्मिक र स्थानीय आवश्यकतासँग जोडिएको छ । विशेष गरी तालको बीचमा रहेको तालबाराही मन्दिरमा पुग्नका लागि डुंगा प्रयोग गर्ने चलन सुरु भएको हो । 

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित डिकोपाटन निवासी ८२ वर्षीय मेहरमान श्रेष्ठले विगतलाई सम्झिँदै विसं १९५० देखि नै डुंगा सञ्चालनमा आएको सुनाए । पोखरा तालैतालको सहर भए पनि यहाँका ठूला ताल फेवा र बेगनासमा व्यावसायिक रूपमा डुंगा सञ्चालन गरिन्छ । इतिहास केलाउँदा सबैभन्दा पहिला फेवातालमा डुंगा सञ्चालन भएको थियो । ‘ठ्याक्कै डुंगा चलाउन कहिले थालियो भन्ने यकिन समय त थाहा छैन,’ मेयरमानले भने, ‘हामीले बेहोरेको र बाबुबाजेले सुनाएका गतिविधिलाई आधार मान्दा त्यो समय अनुमान गरेका हौं ।’ 

फेवातालको बीचमा रहेको बाराही मन्दिर दर्शनका लागि डुंगा चढेर जानुको विकल्प नरहेको उनले सुनाए । ‘पहिले धार्मिक रूपमा डुंगाको महत्त्व थियो, अहिले धार्मिकसँगै पर्यटकीय रूपमा पनि हेरिन थालेको छ,’ उनले भने । पोखराको डुंगा व्यवसाय धार्मिक र पर्यटकीय रूपमै अगाडि रहेको उनले सुनाए । 

स्थानीयका अनुसार सुरु–सुरुमा यहाँका बासिन्दाले आफ्ना धार्मिक अनुष्ठान र आवश्यकताअनुसार काठका साधारण डुंगा प्रयोग गर्थे । मन्दिर दर्शन मात्र नभई स्थानीयले डुंगाकै माध्यमबाट आउजाउ गर्थे । बालबालिकासमेत डुंगा चढेर नै विद्यालय जाने/आउने गर्थे । बिस्तारै डुंगाको प्रयोग बढ्न थाल्यो । ताल हेर्न आउने पर्यटकको संख्या बढ्दै गयो । १९५० को दशकतिर फेवाताल क्षेत्र पर्यटन गन्तव्यका रूपमा विकास हुन थालेपछि डुंगा सञ्चालन व्यावसायिक रूपमा विस्तार हुन थालेको स्थानीयवासीको भनाइ छ ।

फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बाबुराम गिरीले विसं २०२१/२२ तिर आफ्नै बाबुले सिमलको काठलाई प्वाल पारेर डुंगा बनाएको अनुभव सुनाए । ‘मेरो बुबाले डुंगा बनाएर चलाएको हामीले प्रत्यक्ष देखेका छौं । अनुभव लिएका छौं,’ उनले भने, ‘डुंगाको प्रयोग बढ्दै गएपछि २०५२ सालमा व्यावसायिक रूपमा संस्था दर्ता गरी सञ्चालन गर्न थालिएको हो ।’ अहिले फेवा किनारमा ८ वटा घाट छन् । यी सबै घाटबाट अहिले दैनिक ८ सय डुंगा चल्छन् । समितिमा दर्ता भएका डुंगा व्यक्तिगत रूपमै सञ्चालित छन् । ‘डुंगा व्यक्तिका भए पनि सामूहिक रूपमा चलाउन दिन्छौं,’ उनले भने, ‘यसरी आम्दानी भएको पैसा डुंगा चालकले बाँडेर लिन्छन् ।’ 

२०५१ सालमा मत्स्य विकास समितिमा कार्यरत एक कर्मचारीले दुई वटा काठलाई जोडेर डुंगा बनाउन मिल्छ भनेर सिकाएको र त्यसपछि डुंगा जोडेर ठूलो डुंगा बनाउन थालेको अध्यक्ष गिरीले बताए । संस्था दर्ता गर्नुअघि एउटा काठले बनेका साना डुंगा सञ्चालन हुने भए पनि पछिल्लो समय ठूला डुंगा पनि सञ्चालनमा आएको उनले बताए । 

१९७० को दशकपछि पोखरामा विदेशी पर्यटकको आगमनसँगै फेवातालमा डुंगा सञ्चालन पर्यटन व्यवसायका रूपमा स्थापित भएको स्थानीय शान्तिमाया पहारी बताउँछिन् । तालको प्राकृतिक सौन्दर्य, तालबाराही मन्दिरको धार्मिक महत्त्व र वरिपरिका हिमालको दृश्यले डुंगा सयरलाई लोकप्रिय बनायो । आजका दिनमा फेवातालमा रंगीन डुंगा र पेडलबोट पर्यटकका लागि मुख्य आकर्षण बनिसकेका छन् । स्थानीय समुदायको जीविकोपार्जनमा पनि डुंगा व्यवसायले महत्त्वपूर्ण भूमिका खेलेको छ । एउटै परिवारले फेवातालमा दैनिक ५ वटासम्म डुंगा चलाएका छन् । 

डुंगा चालक विमला गुरुङले डुंगाबाट नै जीविकोपार्जन गर्दै आएको सुनाइन् । ‘जोखिम त छँदै छ,’ उनी भन्छिन्, ‘सीप भए खानले मरिन्छ भन्ने लाग्दैन ।’ उनले विगत नौ वर्षदेखि फेवातालमा डुंगा चलाउँदै आएकी छन् । पछिल्लो समय जमिन अतिक्रमण हुँदै गएको छ । तालको आकार घट्दै गएको छ । जसका कारण डुंगा समितिले डुंगाको संख्या थप्न र घटाउन पाएको छैन । अध्यक्ष गिरीले तालभरि डुंगा हुँदा पानी छोपिने भएकाले डुंगा थप्न रोक लगाइएको बताए ।

यस्तै बेगनास तालमा २०३८ सालदेखि डुंगा सञ्चालन गर्न थालिएको हो । २०५२ सालमा बेगनास डुंगा व्यवसायी समिति गठन गरी नियमपूर्वक चलाउन थालिएको छ । पोखरा महानगरमै पर्ने बेगनास तालमा अहिले ३ सय ८१ वटा डुंगा सञ्चालित छन् । आल्मुनियमबाट बनेका ८ वटा मोटरबोट र पेडलबोट पनि सञ्चालन गरिएको छ । समितिका अध्यक्ष रवि कँडेलका अनुसार ०५५ सालमा नै तीन वटा मोटरबोट राखिएको थियो । 

गत वर्ष ५० लाखको लागतमा नयाँ मोटरबोट हालिएको भए पनि महानगरबाट अनुमति नपाउँदा सञ्चालनमा नआएको अध्यक्ष कँडेलले बताए । यस समितिमा ३ सय ८१ जना सेयर सदस्य छन् । सबैको लगानी परेको छ । स्थानीय सरकारले नै रोक लगाएपछि डुंगा व्यवसायी आक्रोशित बनेका छन् । होटल, व्यवसाय पनि सुक्दै गएको छ । तालमा ठूलो बोट सञ्चालनमा नआउँदा पछिल्लो समय पर्यटकको संख्या पनि घटेको उनले बताए ।

बिदा र शनिबारको दिनमा यहाँ बढी पर्यटक आउने गर्छन् । ‘यहाँ एउटा बोटले पालो पाउन १५ देखि १९ दिन कुर्नुपर्छ,’ उनले थपे । अहिले यस तालमा दैनिक २० देखि २५ वटा डुंगा नियमित सञ्चालन भइरहेका छन् । बेगनास नजिकै रहेको रूपा तालमा भने व्यावसायिक रूपमा डुंगा सञ्चालन गरिएको छैन । ११ वटा डुंगा माछा मार्न प्रयोग गरिन्छ भने एउटा रेस्क्युका लागि राखिएको छ । त्यसो त बेगनास र फेवा तालमा पनि डुंगा समितिले एक/एक वटा रेस्क्यु डुंगा (मोटरबोट) संचालन गर्दै आएका छन् । 

फेवा डुंगा व्यवसायी संगठनका संस्थापक अध्यक्ष बुद्धिबहादुर नेपालीले पोखराका डुंगा परम्पराकै रूपमा रहेको बताए । पछिल्लो समय डुंगा व्यवसायीका समस्यालाई सम्बोधन गर्दै सुरक्षा नीतिलाई पनि कडाइ गरिएको उनको भनाइ छ । ‘अहिले लाइफ ज्याकेट अनिवार्य गरिएको छ,’ उनले भने, ‘ताल छेउमा विपद् उद्धार टोली खटाएका छौं ।’ 

पोखराका तालमा डुंगा व्यवसायले पर्यटकीय आकर्षणलाई पनि टेवा दिइरहेको बताइन्छ । यहाँको डुंगा व्यवसायमा अवसरसँगै चुनौती पनि थपिएको छ । पोखराका पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठले डुंगा दुर्घटनालाई चुनौतीका रूपमा लिएको बताए ।

‘तालमा पानीको गुणस्तर बिग्रनु, प्रदूषण र जैविक विविधतामा ह्रास आउनु यहाँको डुंगा व्यवसायले सामना गर्नॅपर्ने प्रमुख चुनौती हो,’ उनले भने, ‘अव्यवस्थित व्यवसाय, प्राकृतिक स्रोतको संरक्षण, प्राविधिक समस्या, सरकारी नीति र कर, दुर्घटनाको जोखिमलाई चुनौतीका रूपमा लिन सकिन्छ ।’ 

तालमा चल्ने डुंगाको संख्या र व्यवस्थापन राम्रोसँग नियमन नभए दुर्घटना र पर्यावरणीय क्षति हुन सक्ने पर्यटनविद् डा. सुवास अधिकारीले बताए ।

‘डुंगा सञ्चालन गर्ने उपकरणको अभाव, मर्मतसम्भारको खर्च र दक्ष जनशक्तिको कमी यहाँका चुनौतीका रूपमा रहेका छन्,’ उनले भने, ‘पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीको सिर्जना, सस्टेनेबल टुरिजमको विकास, डुंगा सयरसँगै कयाकिङ, पेडलबोट एवं संस्कृति र परम्पराको प्रवर्द्धन, अन्तर्राष्ट्रिय प्रचारप्रसारलाई अवसरका रूपमा अगाडि बढाउन जरुरी छ ।’

नियमित ताल संरक्षण कार्यक्रमअन्तर्गत तालको प्रदूषण नियन्त्रण र संरक्षणका लागि विशेष नीति निर्माण गर्नु जरुरी छ । यहाँको सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्दै लाइफ ज्याकेट, प्रशिक्षित स्टाफ र आपत्कालीन उद्धारको व्यवस्था गरिनु आवश्यक छ ।

डिजिटल प्रविधिको प्रयोग अर्थात् अनलाइन बुकिङ प्रणाली र पर्यटकको प्रतिक्रिया लिने प्लेटफर्म, समुदायको सहभागिता अर्थात् स्थानीय समुदायलाई व्यवसायमा सहभागी गराई स्वामित्वको भावना विकास गर्दै यहाँका डुंगा व्यवसायीले सामना गरिरहेको चुनौतीको दिगो र प्रभावकारी व्यवस्थापन गर्न अब ढिला गरिनु हुँदैन । 

प्रतीक्षा

Link copied successfully