१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आयातसँगै खुम्चियो निर्यात व्यापार

१० महिनामा १० खर्ब २५ अर्बको आयात, ८२ अर्बको निर्यात

काठमाडौँ — कोरोना भाइरस र लकडाउनले आयातसँगै निर्यात व्यापार पनि खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार आयात व्यापार १३ प्रतिशत घटेको छ । निर्यात ४.५ प्रतिशत बढे पनि अघिल्लो दुई महिनाको तुलनामा धेरै घटेको छ ।

आयातसँगै खुम्चियो निर्यात व्यापार

‘७/८ महिनाको तुलनामा निर्यात व्यापार करिब २४/२५ प्रतिशत बढेको थियो,’ विभागका महानिर्देशक सुमन दाहालले भने, ‘पछिल्लो दुई महिनामा निर्यात व्यापार बढ्न सकेन ।’

तथ्यांकअनुसार अघिल्लो वर्षको १० महिनाको अवधिमा ११ खर्ब ७८ अर्ब रुपैयाँको सामान आएको थियो । चालु आवको सोही अवधिमा १२.९९ प्रतिशत घटेर १० खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो आवको १० महिनामा ७८ अर्ब रुपैयाँको निर्यात भएकोमा चालु आवको सोही अवधिमा ८२ अर्ब रुपैयाँको निर्यात भएको तथ्यांक छ । पछिल्लो दुई महिनामा भने निर्यात खुम्चिएको छ । ‘अवस्था यस्तै रहिरहे आगामी महिनामा निर्यात शून्य हुन्छ,’ दाहालले भने ।

उक्त अवधिमा वैदेशिक व्यापार ११ खर्ब ७ अर्ब रुपैयाँको भयो । यसअनुसार व्यापार घाटा ९ खर्ब ४३ अर्ब रुपैयाँ भएको विभागको तथ्यांक छ । विभागका अनुसार पछिल्लो दुई महिनामा निर्यात/आयात व्यापार त्यति भएन । कोरोना संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि समग्र व्यापार व्यवसाय सुस्त छ ।

अत्यावश्यकबाहेक अन्य सामग्रीको आयात सहज छैन । बैंक, भन्सार कार्यालय र बन्दरगाहमा पर्याप्त कर्मचारी छैनन् । सवारी साधनसँगै उद्योग व्यवसाय र पसल नखुल्दा थप समस्या भएको उद्योगी व्यवसायी बताउँछन् । लकडाउनको दुई महिनामा ६६ अर्ब रुपैयाँको अत्यावश्यक सामग्री आयात भएको विभागको तथ्यांक छ । त्यसमा सबैभन्दा बढी ७५ अर्ब रुपैयाँको डिजेल आयात भएको छ । दोस्रोमा एमएस बिलेट (रडका लागि कच्चा पदार्थ) ३५ अर्ब रुपैयाँको आएको छ । खाना पकाउने एलपी ग्यास आयातमा २७ अर्ब, पेट्रोलमा २५ अर्ब र तयारी पोसाक खरिदमा २१ अर्ब रुपैयाँ बाहिरिएको छ ।

यस अवधिमा सबैभन्दा बढी प्रशोधित पाम तेलको निर्यात भएको छ । १० महिनामा १८ अर्ब रुपैयाँको यो तेल निर्यात भएको विभागको तथ्यांक छ । गत वैशाख २९ देखि भने यो तेल निर्यात पुन: रोकिएको छ । निर्यातमा एक नम्बरमा रहेको पाम तेलमा भारतले रोक लगाएपछि समग्र निर्यात व्यापारमा असर पुग्ने विभागका अधिकारी बताउँछन् । निर्यात भएको वस्तुमध्ये दोस्रो नम्बरमा भटमास तेल छ । उक्त अवधिमा ८ अर्ब रुपैयाँको यो तेल निर्यात भएको छ ।

५५ करोडको मास्क, ६ करोडको सेनिटाइजर

१० महिनामा ५५ करोड ८० लाख ३४ हजार रुपैयाँको फेस मास्क आयात भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मास्कको माग अत्यधिक छ । भारत, चीनदेखि युरोपियन मुलुकबाट मास्क आएको छ । उक्त अवधिमा ४० लाख ८० हजार १ सय ५८ किलो फेस मास्क आयात भएको छ । यसमा सबैभन्दा बढी चीनबाट ३९ लाख ९५ हजार २ सय १० केजी भित्रिएको छ ।

मास्क खरिदमा ५० करोड २२ लाख २६ हजार रुपैयाँ बाहिरिएको छ । भारत, थाइल्यान्ड, टर्की र यूएईबाट मास्क आयात भएको विभागको तथ्यांक छ । विभागका अनुसार मास्कबाट ६० करोड ५ लाख ८ हजार ६ सय २५ रुपैयाँ भन्सार सहसुल संकलन भएको छ ।

यसैबीच सेनिटाइजर भने ६ करोड ४२ लाख २१ हजार रुपैयाँको आएको छ । चीन, इन्डोनेसिया र टर्कीबाट सेनिटाइजर आएको हो । साउनदेखि वैशाख मसान्तसम्म १ लाख १४ हजार ५ सय ८५ लिटर सेनिटाइजर आएको विभागको तथ्यांक छ । यसमध्ये चीनबाट ९२ हजार ९ सय ३७ लिटर आयात भएको छ ।

आयात/निर्यात भएका मुख्य ५ वस्तु (रुपैयाँमा)

आयात रकम

डिजेल ७५ अर्ब

एमएस बिलेट ३५ अर्ब

ग्यास २७ अर्ब

पेट्रोल २५ अर्ब

तयारी पोसाक २१ अर्ब

निर्यात रकम

पाम आयल १८ अर्ब

भटमास तेल ८ अर्ब

धागो ६ अर्ब

कार्पेट ५ अर्ब

तयारी पोसाक ४ अर्ब

प्रकाशित : जेष्ठ १३, २०७७ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?