बाँकेका सीडीओ फेरिए, नरैनापुरमा खटिए चिकित्सक

स्याङ्जाका सीडीओ रामबहादुर कुरुम्बाङलाई बाँके पठाइँदै
ठाकुरसिंह थारु

बाँके — लकडाउन पालना र संक्रमितको सुरक्षालाई लिएर स्थानीय प्रशासनको आलोचना भएपछि गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । कुमारबहादुर खड्काको ठाउँमा स्याङ्जाका सीडीओ रामबहादुर कुरुम्बाङलाई बाँके पठाउन तोकेको स्रोतले बताएको छ ।

बाँकेका सीडीओ फेरिए, नरैनापुरमा खटिए चिकित्सक

स्वास्थ्य मन्त्रालयले नेपालगन्जमा आठ जना चिकित्सक पठाएको छ भने नरैनापुरमा पनि सोमबारदेखि दुई जना चिकित्सकले सेवा दिने व्यवस्था मिलाएको छ ।

नरैनापुरका स्थानीयको मागअनुसार आइसोलेसन सेन्टर निर्माण अघि बढाई गाउँपालिकामै सेवा दिने गरी चिकित्सक खटाइएको हो । डा. शिवम खेतान र डा. सञ्जय बर्माले कोरोनाको ‘इपिसेन्टर’ बनेको नरैनापुर पुगेर अवस्थाको जानकारी लिनुका साथै सेवा सुरु गरेका छन् । चिकित्सकले स्थानीय स्वास्थ्यकर्मीसँग मिलेर सेवा दिन सुरु गरेपछि स्थानीयले राहत महसुस गरेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र भए पनि गाउँपालिकामा चिकित्सक थिएनन् । ‘दुई जना डाक्टर बिहान ८ बजे नरैनापुर पुग्ने र दिनभरि स्वास्थ्य सेवा दिएर साँझ फर्किने व्यवस्था मिलाएका छौं । क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ्यमा समस्या आए तत्काल नेपालगन्ज ल्याउन भनेका छौं,’ भेरी प्रादेशिक अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने, ‘नरैनापुरमा बस्न समस्या हुने भएकाले डाक्टरहरूलाई रातिमा नेपालगन्ज फर्कने व्यवस्था मिलाएका हौं ।’ संघीय सरकारले नेपालगन्जका लागि थप आठ जना चिकित्सकको टोली पठाएको उनले बताए । तीमध्ये एक चिकित्सक सरुवा मिलाएर कालीकोट गएका छन् । संघबाट आएका चिकित्सकले नेपालगन्जको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन सेन्टरमा सेवा दिनेछन् ।

संक्रमितलाई नेपालगन्ज ल्याउने क्रममा स्थानीय विरोधमा उत्रिने गरेकाले नरैनापुरमै आइसोलेसन सेन्टर बनाउने तयारी सुरु भएको छ । नेपालगन्जबाट सोमबार ३५ वटा बेड नरैनापुर पठाइएको छ । तत्कालका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन वार्ड राख्ने समझदारी भएको छ । विद्युत् नभएका कारण जेनेरेटरबाट काम चलाइने भएको छ । बाँकेका सहायक प्रजिअ हरि प्याकुरेलले आइसोलेसन वार्ड बनाउने काम सुरु भइसकेको बताए । ‘आवश्यक पर्ने बेड पठाइसकेका छौं । छिट्टै तयार हुन्छ,’ उनले भने । संक्रमितको संख्या बढेसँगै स्थानीयले विवाद गरेका कारण त्यहाँको अवस्था भद्रगोल बनेको थियो ।

आसपासबाट स्थानीय क्वारेन्टाइनस्थलमै पुग्ने, संक्रमितलाई भगाउन खोज्ने, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग विवाद गर्ने गरेका कारण समुदायमा संक्रमणको जोखिम बढेको थियो । स्थितिलाई नियन्त्रणमा लिन आइतबारबाट नेपाली सेना परिचालन भइसकेको छ । अहिले अवस्था सामान्य बनिसकेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । ‘सेना परिचालनपछि सर्वसाधारण घरबाट निस्किएका छैनन् । विवाद पनि भएको छैन,’ उनले भने, ‘चिकित्सकको टोली पनि आएपछि झन् राहत मिलेको छ ।’

नरैनापुर गाउँपालिकामा मात्रै १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये एक युवकको मृत्यु भइसकेको छ । नेपालगन्जमा २५, खजुरामा २, डुडवामा २ र राप्ती सोनारीमा ३ गरी बाँके जिल्लामा संक्रमितको संख्या १ सय ४६ पुगेको छ ।

निको हुने २२ पुगे

नेपालगन्ज–८, जोलहनपुर्वाका १८ वर्षीय युवा संक्रमणमुक्त भएर घर फर्किएका छन् । उनीसँगै जिल्लामा हालसम्म निको हुनेको संख्या २२ पुगेको छ । यसअघि उक्त टोलका २१ जना घर फर्किसकेका छन् । भेरी अस्पताल प्रमुख डा. थापाले दुईपल्टको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको बताए ।

घर फिर्ता हुनेलाई दुई सातासम्म होम क्वारेन्टाइनमै बस्न सुझाव दिइएको छ । जोलहनपुर्वाकै तीन जना आइसोलेसन वार्डमा उपचारका क्रममा छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । जोलहनपुर्वा टोलका २५ जनामा संक्रमण देखिएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?