कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेलमार्गमा काम निरन्तर

लकडाउनपछि सुस्ताएको कामले बिस्तारै लय पक्रिँदै छ
विमल खतिवडा

काठमाडौँ — लकडाउनका बेला स्वास्थ्य सावधानी अपनाएर देशभर विभिन्न आयोजना निर्माणको काम तीव्र पारिएको छ । बर्खा नजिकिन थालेकाले सक्नैपर्ने कामलाई प्राथमिकतामा राखेर ठूला तथा साना आयोजनाको काम अघि बढाइएको हो ।

रेलमार्गमा काम निरन्तर

यसअन्तर्गत २२ वटा गौरवका आयोजनामध्ये प्राय: मा काम जारी छ । रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाअन्तर्गत पूर्वपश्चिम रेलमार्गका विभिन्न खण्डमा काम भइरहेको छ । रेलमार्गमा पर्ने पक्की पुल र ट्रयाक बेल्टको काम भइरहेको रेल विभागले जानकारी दिएको छ । ‘सबैतिर काम सुरु गर्ने तयारीमा छौं,’ विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘धेरै ठाउँमा सुरु भइसकेको छ ।’

अहिले आधा दर्जन खोलामा पक्की पुल ढलानको काम भइरहेको उनले बताए । केहीमा सुरु गर्ने तयारी छ । ‘ट्रयाक बेल्टको काम दुई ठाउँमा सुरु भएको छ,’ उनले भने, ‘अन्यत्र पनि स्वीकृति लिँदै काम थाल्दै गर्छाैं । अहिले रौतहट, सर्लाही र महोत्तरीमा काम भएको छ ।’ कल्भर्ट, पुल, एनिमल पासलगायतको काम जारी छ । सर्लाहीको लखनदेही पुल निर्माणका क्रममा केही समस्या आए पनि समस्या समाधान गरेर काम अघि बढाइएको मिश्रले जानकारी दिए । यो खण्डमा पर्ने १६ पुलमध्ये ७ वटाको काम थालिएको छ । सबैभन्दा ठूलो वाग्मती पुलको काम सुरु गर्न स्वीकृति लिइसकिएको उनको भनाइ छ ।

‘भारतीय पक्षबाट थालिएका काममा राम्रै प्रगति छ,’ मिश्रले भने, ‘हामीले पनि कामको रफ्तार बढाइरहेका छौं ।’ उनका अनुसार महोत्तरीको मराहा, भब्सी, सर्लाहीको जंगाहा, लखनदेही, सर्लाही र महोत्तरीको सीमालगायतका पुलमा पनि काम भइरहेको छ । अन्यत्र पनि ट्रयाक बेल्टको काम सुरु गर्न स्वीकृति लिने प्रक्रिया जारी छ । ‘रौतहट, सर्लाहीमा ट्रयाक बेल्टको काम सुरु भएको छ । इनरुवादेखि काँकडभिट्टासम्मको काम पनि सुरु गर्नेबारे छलफल भइरहेको छ,’ मिश्रले भने, ‘नयाँ आवबाट काम सुरु हुन्छ ।’ उनका अनुसार १ सय ६ किमिमा ट्रयाक बेल्ट र पुल निर्माणको काम थालिनेछ । मेची–महाकाली रेलमार्गका रूपमा रहेको यसको लम्बाइ ९ सय ४५ किमि छ ।

यता भारतीय पक्षबाट निर्माण भइरहेको जयननगर–जनकपुर–कुर्था खण्डमा अझै रेल सञ्चालनमा आउन सकेको छैन । एक खण्डको निर्माण पूरा भएको र रेल सेट बनिसके पनि अहिले कोरोनाको त्रासका कारण समस्या भएको छ ।

दुई सेट रेल भारतमै बनेर बसेका छन् । जयनगरदेखि कुर्थासम्म ३५ किमि दूरीमा रेल सञ्चालनका लागि ती रेल निर्माण गरिएको हो । कुर्थादेखि बिजलपुरासम्म १७ किमिमा अहिले धमाधम काम भइरहेको छ । त्यस्तै बिजलपुरादेखि बर्दिबाससम्म १७ किमिमा पनि रोकिएको काम हुँदै छ । सबै गरेर कुल रेल नेटवर्क जयनगरदेखि बर्दिबाससम्म ६९ किमिको हो ।

‘कुर्था–बिजलपुरा खण्डको १७ किमिमा अहिले निर्माणको काम भइरहेको छ,’ महानिर्देशक मिश्रले भने, ‘लकडाउनअघिसम्म काम जारी थियो, पछि रोकियो । अहिले फेरि सुरु भएको छ ।’ प्रशासनसँग स्वीकृति लिएर काम सुरु गरिएको उनले बताए । यो खण्डको बिजलपुरासम्म रेल ट्रयाक ओछ्याउने काम भइरहेको छ । ट्रयाक बेल्ट, माटो ओछ्याउने, सिल्पर राख्नेलगायत काम जारी रहेको उनले बताए । ‘यो खण्डमा नेपाली र भारतीयसहित करिब ८० जना कामदार फिल्डमा छन्,’ उनले भने, ‘सबै ठाउँमा स्वास्थ्य सावधानी अपनाएर मात्र काम गराइएको छ ।’ बर्दिबासदेखि निजगढ खण्डमा पनि काम भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : वैशाख २१, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?