काठमाडौँ — भारतका सबैभन्दा धनी मुकेश अम्बानीको स्वामित्वमा रहेको मोबाइल इन्टरनेट कम्पनी रिलायन्स जियोमा फेसबुकले ५ अर्ब ७० करोड अमेरिकी लगानी गर्ने भएको छ । फेसबुक र जियो दुवैले बुधबार यसलाई पुष्टि गरेका छन् । यति रकम भारत भित्र्याएबापत फेसबुकले रिलायन्स जियोको करिब १० प्रतिशत सेयर स्वामित्व पाउनेछ ।
जियोमा लगानीसँगै फेसबुकले भारतीय बजारमा आफ्नो पकड बनाउने उद्देश्यलाई एक कदम अघि बढाएको विश्लेषण गरिएको छ । फेसबुक स्वामित्वमा रहेको म्यासेजिङ एप ह्वाट्सएपका भारतमा मात्रै ४० करोड प्रयोगकर्ता छन् । ह्वाट्सएप भारतमा सबैभन्दा लोकप्रिय म्यासेजिङ एप हो । जियोसँगको सहकार्यले फेसबुकलाई ह्वाट्सएपको प्रभाव विस्तार मात्रै नभएर योसँगै जोडिने अन्य सेवा र व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने अनुमान छ ।
ह्वाट्सएपले भारतमा निकट भविष्यमै डिजिटल पेमेन्ट सेवा सुरु गर्ने तयारी गरिसकेको छ । सवा अर्ब जनसंख्या भएको मुलुकमा यस्ता सेवा निकै प्रतिफलजनक हुन सक्छन् । फेसबुकले विज्ञप्ति जारी गर्दै जियोमा लगानीलाई भारतप्रतिको आफ्नो प्रतिबद्धताको संज्ञा दिएको छ । भारतीय टेलिकम बजारमा जियोले ल्याएको तरंगले फेसबुक उत्साहित भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
फेसबुकले जियोमा लगानी गर्ने मात्रै नभई जियोको मातृ कम्पनी रिलायन्सको स्वामित्वमा रहेको ई–कमर्स कम्पनी जियो मार्टसँग ह्वाट्सएपको साझेदारी गराउने योजना पनि रहेको जनाएको छ । ह्वाट्सएपमार्फत जियो मार्टका सामान खरिदका लागि प्रयोगकर्तालाई प्रोत्साहित गर्ने दुई कम्पनीको योजना छ ।
फेसबुक मालिक मार्क जुकरबर्गले दुई कम्पनीबीचको यो साझेदारीले भारतमा सूचना प्रविधिसम्बन्धी व्यवसायका लागि थप सम्भावनाको ढोका खोल्ने दाबी गरेका छन् ।
दुई महिनाअघि मात्रै फेसबुक स्वामित्वको ह्वाट्सएपले भारत सरकारबाट ह्वाट्सएप पे नामक डिजिटल भुक्तानी सेवा सञ्चालन अनुमति पाएको थियो । ह्वाट्सएप पेले दुई वर्ष परीक्षणपछि मात्रै पूरा सेवा सञ्चालन गर्न पाउनेछ ।
जियोले पनि विज्ञप्ति जारी गर्दै यो सम्झौताले दुवै कम्पनीका लागि मात्रै नभई भारतलाई समेत लाभान्वित गर्ने बताएको छ । ‘यो साझेदारीले भारतीय अर्थतन्त्र र यहाँका जनतालाई समेत फाइदा पुर्याउनेछ,’ जियोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
तेलदेखि टेलिकमसम्मका ठूला कम्पनी सञ्चालन गरिरहेको रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको जियो मूल्यवान् कम्पनी हो । सस्तो डाटा प्याकेज उपलब्ध गराउँदै जियोले भारतमा छोटो समयमै टेलिकम क्षेत्रमा पकड जमाएको छ । जियोले उपलब्ध गराइरहेको मोबाइल सेवा, लाइभ टीभी, म्युजिक स्ट्रिमिङजस्ता सेवालाई फेसबुकले आफ्नो एपमा पनि एकीकृत गर्न सक्ने विश्लेषकहरूको अनुमान छ । जसका कारण भारतीय प्रयोगकर्तामाझ फेसबुक थप उपयोगी एप बन्नेछ ।
भारतीय धनाढ्य अम्बानीले टेलिकम क्षेत्रमा लगानीका लागि लिएको ऋण तिर्ने समय नजिकिँदै गर्दा फेसबुकसँगको सम्झौताले मूर्त रूप लिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । पछिल्लो समय अम्बानीले आफ्नो ऋण दायित्वहरू कम गर्दै लगिरहेका छन् । उनले पुँजीगत खर्चबापत मात्रै जियोमा पछिल्ला केही वर्षमा २५ अर्ब अमेरिकी डलर लगानी गरेको अनुमान छ । रिलायन्स जियोले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार २०१९ मा यो कम्पनीको ऋण मात्रै ६५ अर्ब अमेरिकी डलर छ, जुन सन् २०१५ मा १९ अर्ब डलर मात्रै थियो ।
रिलायन्स कम्पनीको ऋणलाई सन् २०२१ सम्म तिरिसक्ने अम्बानीको घोषणालाई फेसबुकको लगानीले केही राहत दिनेछ । फेसबुकसँगको सम्झौतापछि सन्देश जारी गर्दै जियोका मालिक अम्बानीले ह्वाट्सएप र जियो मार्टलाई एकीकृत सेवाका रूपमा सञ्चालन गर्ने घोषणा गरेका छन् । विशेषगरी गृहिणीलाई लक्ष्य गरी यो ई–कमर्स साइटलाई व्यापकता दिने जियोको तयारी छ ।
सन् २०१६ मा सुरु भएको जियो टेलिकमले ३७ करोड भारतीयलाई आफ्नो सेवामा जोडिसकेको छ । सस्तो डाटा दिएर कम्पनीलाई लोकप्रिय बनाउन जियोले बैंकबाट ठूलो परिमाणमा ऋण लिएको थियो । यो सबै ऋण आगामी वर्षको मार्चसम्म चुक्ता गर्ने जियोको योजना छ । फेसबुकले भित्र्याएको लगानीले जियोलाई आफ्नो प्रतिबद्धता पूरा गर्न सघाउनेछ ।
जनसंख्याका आधारमा फेसबुकले भारतलाई आफ्नो ठूलो बजार मानिरहेको छ । फेसबुक र यसको स्वामित्वमा रहेको ह्वाट्सएप भारतीयमाझ चर्चित पनि छ । विभिन्न अध्ययनले देखाएअनुसार सवा अर्ब जनसंख्या भएको मुलुक भारतमा सन् २०२२ सम्म इन्टरनेट प्रयोगकर्ता ८५ करोड पुग्ने अनुमान छ ।
इन्टरनेट प्रयोगकर्ता बढेसँगै ई–कमर्स, सूचना र प्रविधि क्षेत्रसँग सम्बन्धित व्यवसाय विस्तारको ठूलो सम्भावना हुने भन्दै संसारका ठूला कम्पनीले भारतमा गर्ने लगानीलाई महत्त्व दिन थालेका छन् ।
गत वर्ष माइक्रोसफ्टले पनि जियोसँग क्लाउड कम्युटिङ व्यवसायका लागि साझेदारी घोषणा गरेको थियो । यी दुई सम्झौताले भारतीय टेलिकम क्षेत्रमा ठूला अमेरिकी लगानी थप भित्रिन सक्ने संकेत गर्छन् ।
