थप एक दर्जन ठूला आयोजनाले काम थाले

बर्खाअघि सडक कालोपत्र र पुल ढलान सकिने

वैशाख ११, २०७७

विमल खतिवडा

काठमाडौँ — लकडाउनसँगै रोकिएका आयोजनाको काम पछिल्लो समय पुनः सुरु भएको छ । स्वास्थ्य सावधानी अपनाउँदै देशभरका एक दर्जनभन्दा बढी ठूला आयोजनाको काम जारी छ । यसमा सबैभन्दा बढी गौरवका आयोजना छन् ।

केही आयोजनाले भने प्रशासन र स्थानीय तहसँग समन्वय गरेर काम थाल्ने तयारी गरेका छन् । यति बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र पारिएको छ । विमानस्थलमा पार्किङ वे र रनवेको काम भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

‘दुई वटा पार्किङ वे थपिँदै छ । डिपार्चरको टर्मिनल भवन बनाएर सञ्चालनमा ल्याइसकिएको छ । २ सय कामदारले विमानस्थलतर्फ काम गरिरहेका छन्,’ उनले भने, ‘काम सुरु भएको १० दिन भयो । जहाज आउजाउ नहुँदा काम गर्न धेरै सजिलो भएको छ ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पनि काम भइरहेको छ ।

गौरवका आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम रेलमार्गअन्तर्गत पक्क पुल र ट्र्याकबेल्ट निर्माणको काम थालिएको छ । पुलको काम अघि बढेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । अहिले सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके पुल ढलान भइरहेको उनले जानकारी दिए । सर्लाहीकै लखनदेही खोला पुलमा पिलरको जग (पाइल) राखिँदै छ ।

‘रौतहटको वाग्मती खोला पुल र यही जिल्लामा ट्र्याकबेल्टको काम सुरु गरिएको छ,’ मिश्रले भने, ‘पुल बनाउन जनशक्ति धेरै चाहिँदैन । मेसिनबाटै धेरै काम हुन्छ । अहिले एउटा पुलमा ४० जनासम्मले काम गरिरहेका छन् ।’ प्रायः आयोजनामा पुल ढलान र सडक कालोपत्र गर्ने काम तीव्र पारिएको छ । हुलाकी राजमार्गअन्तर्गत अहिले कतै सडक त कतै पुल निर्माणको काम भइरहेको छ । कतै भने कल्भर्ट निर्माणको काम गरिँदै छ ।

गृह मन्त्रालयले काम गर्न भन्दै चिठी दिएपछि नगरी नहुने कामलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक रोहित बिसुरालले जानकारी दिए । ‘एकदम काम भइरहेको त होइन,’ उनले भने, ‘तर रोकिनेभन्दा सकिन लागेका आयोजनाको काम थालिएको छ । ढलान भएर बसेका पुलमा लठ्ठा तन्काउने काम भएको छ ।’

बलान पुल सिराहा, धनुषा र सिरहाको बीचमा पर्ने कमला खोला पुल, झापाको विरिङखोला पुलमा काम भइरहेको उनले बताए । झापा प्रशासनबाट स्वीकृति लिएर रतुवा–झापा सडकखण्डको काम गर्न लागिएको छ । विराटनगर–रंगेली सडकमा पनि स्वीकृति लिएर काम सुरु गर्ने तयारी भएको छ । ‘यो चलिरहेको सडक हो,’ बिसुरालले भने, ‘सवारीसाधन डाइभर्सनबाट गुडिरहेका छन् । अहिले कल्भर्ट बनाउन नसके बर्खा सुरु भएपछि समस्या हुन्छ ।’

विभिन्न जिल्लाका प्रशासन कार्यालय र स्थानीय सरकारले पनि काममा सहयोग गरिरहेको उनले बताए । ‘जहाँ हामीलाई सपोर्ट हुन्छ, त्यहाँ निर्माण व्यवसायीलाई काममा लगाएका छौं,’ बिसुरालले भने, ‘जनकपुरमा पनि सडकको काम सुरु गर्न लागिएको छ ।’ सप्तरीमा सडक कालोपत्र गर्ने काम रोकिएकाले सुरु गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । वीरगन्ज–ठोरी सडकको काम पनि बुधबारबाट सुरु गरिएको छ । कपिलवस्तुमा सैया पुलमा काम भइरहेको उनले बताए । हालसम्म हुलाकी राजमार्गको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ ।

सडक र पुल निर्माणको काम लकडाउनले गर्दा कतै पनि नरोकिएको उत्तर दक्षिण (कोसी) लोकमार्ग आयोजनाका प्रमुख गौतम श्रेष्ठले बताए । लोकमार्गमा ७ वटा पुल निर्माणको काम भइरहेको छ । ‘मौज्दात निर्माण सामग्रीबाट काम भइरहेको छ,’ उनले भने, ‘पुलहरुमा नाङखोला, चाङखोला, जोरखोला, वाङखोला, उवाखोला र ठाडोखोलामा काम भएको छ ।’ निर्माण सामग्रीका लागि प्रशासनमार्फत सवारी पास उपलब्ध गराएर काम गराइएको उनले जानकारी दिए । ‘करिब ३ सय कामदार निर्माणस्थलमै छन्,’ उनले भने, अहिले पुलका पिलर उठाउने काम भइरहेको छ ।

लोकमार्ग र डिभिजन सडकअन्तर्गत निर्माण भएका सडक पुलमा लकडाउनले त्यति ठूलो असर परेको छैन । निर्माण सामग्री नहुँदा थोरै गति कम भए पनि सामग्री ल्याएर कामको रफ्तार बढाइरहेको उनले बताए । सडकतर्फ अहिले कटिङ, ग्याभिन र ग्राभेलिङको काम भइरहेको छ । तुम्लिङटार डिभिजन सडकअन्तर्गत टुटे देउरालीबाट मुडेसम्म कालोपत्र गर्ने काम भएको छ । गुफापोखरी जाने सडकमा कटिङको काम जारी रहेको श्रेष्ठले जानकारी दिए ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लकडाउनका बेला दुईवटा पुलको ढलान भइसकेको छ । पाँचथरका स्थानीय खोला र तेह्रथुमको खुरुंगा खोलामा बनिरहेका पुलमा ढलान भइरहेको आयोजना प्रमुख दीपक केसीले बताए । ‘काम गर्न पाउनुपर्‍यो भन्दै निर्माण व्यवसायीबाट दैनिक चिठी आउने क्रम जारी छ,’ उनले भने, ‘अहिलेसम्म १५ वटा निर्माण व्यवसायीले चिठी पठाइसके । हामीले विभागलाई पठायौ, विभागले मन्त्रालय पठाएकाले प्रक्रियामा छ ।’

पास आउनासाथ कामदार व्यवस्थापन गरेर काम सुरु गर्न सकिने उनको भनाइ छ । सबै निर्माण व्यवसायीलाई तयारी रहन भनेको र घरघर गएका कामदार ल्याउन पनि थालिएको उनले बताए । ‘काम नगरी सुखै छैन, बसेर मात्र निकास आउँदैन,’ केसीले भने ।

उत्तर–दक्षिण (कर्णाली) लोकमार्गमा पनि निर्माण व्यवसायीले काम सुरु गर्न पाउनुपर्ने माग राखेका छन् । तर निर्माण सामग्री र तेलको समस्याले काम समस्या बनाएको आयोजना प्रमुख शशांक मिश्रले जानकारी दिए । एक गाउँपालिकाबाट अर्को गाउँपालिका हुँदै मेसिनलाई चाहिने तेल लैजान गाह्रो छ,’ उनले भने, ‘सबै सहज हुने हो भने काम गर्न समस्या छैन ।’

तराई–मधेस द्रुतमार्गअन्तर्गत ३० वटा प्याकेजमध्ये दुईवटामा काम भइरहेको छ । मख्खुबेसी र सिस्नेरीमा कटिङ र फिलिङको काम भइरहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको काम पनि धमाधम भइरहेको छ । सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माणको काम जारी राखिएको छ ।

लकडाउन बेला काम भइरहेका आयोजना

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

– गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

– मेलम्ची खानेपानी आयोजना

– माथिल्लो तामाकोसी जलविद्युत् आयोजना

– तराई–मधेस द्रुतमार्ग

– हुलाकी राजमार्ग

– पूर्व–पश्चिम रेलमार्ग

– उत्तर–दक्षिण (कोसी) लोकमार्ग

– पुष्पलाल (मध्यपहाडी) लोकमार्ग

– गल्छी–त्रिशूली–मैलु–स्याफ्रुबेसी–रसुवागढी सडक

– कान्ति लोकपथ

– नाग्मा–गमगढी सडक

– वसन्तपुर–मुडे–चैनपुर सडक

– लम्की–अत्तरिया सडक

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully