सिंगापुर — कोभिड–१९ को संक्रमण नियन्त्रणमा नआएपछि सिंगापुरले आंशिक लकडाउनको अवधि लम्ब्याएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार लकडाउन अवधि चार साता बढाएर जुन १ सम्म पुर्याइएको छ । सिंगापुरमा कोभिड–१९ संक्रमितको संख्या ९ हजार नाघिसकेको छ ।
प्रधानमन्त्री ली हेसियन लुङले एक टेलिभिजन सम्बोधन गर्दै हालका कडा प्रावधानहरुलाई आगामी मे ४ सम्म यथावत् राखिने बताएका छन् । उनले मे ४ पछि पनि प्रतिबन्ध पूर्णरूपमा हटाउन सम्भव नहुने बताए । जनस्वास्थ्यविद्को सल्लाह र विश्वपरिवेशको विश्लेषण गरेर ४ साता आंशिक लकडाउन गर्ने निर्णय भएको उनले प्रस्ट पारे ।
उनले समुदायस्तरमा संक्रमितको संख्या घटेको अवस्थामा लकडाउनका कतिपय कठोर प्रावधानलाई परिमार्जन वा संशोधन गरिने बताए । प्रधानमन्त्री लुङले सरकारले आंशिक लकडाउनको अवधि लम्ब्याएकामा धेरै व्यक्ति बेखुस भए पनि यो बाध्यकारी भएको जनाए ।
‘खासगरी हाम्रा व्यवसाय र कामदारलाई यस लकडाउनले सबैभन्दा बढी असर पारेको छ । तर यो छोटो अवधिको दु:खले भाइरसको महामारीलाई परास्त गर्न मद्दत पुग्नेछ,’ उनले भने, ‘स्वास्थ्यमा सुधार ल्याउन तथा आफ्ना मानिसलाई महामारीबाट जोगाउन यसको विकल्प छैन ।’
