चितवन — भरतपुर अस्पतालले संकलन गरेका नमुनामध्ये पीसीआर गर्दा ४० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाका अनुसार अस्पतालमा बुधबार १ सय ४० जनाको स्वाब संकलन भएको थियो । अस्पतालले भरतपुरमा सञ्चालन गरेको प्रयोगशालामा पीसीआर गर्दा बिहीबार बिहान आएको नतिजामा तीमध्ये ४० प्रतिशत अर्थात् ५६ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
चैतको दोस्रो हप्तापछि चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र बनेको छ । संक्रमण बढेपछि चितवन जिल्ला प्रशासन कार्यालयले बिहीबार मध्यरातदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा लगाउने भएको छ ।
चितवन स्वास्थ्य कार्यालयका अनुसार बुधबार मध्याह्नसम्म चितवनमा सक्रिय सक्रमितको संख्या ५ सय ८५ थियो । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । जसमध्ये अस्पताल बस्ने ४६ जना मात्रै छन् । चैत २ देखि ११ गतेसम्म अस्पतालमा संक्रमितको संख्या शून्य थियो । होम आइसोलेसनमा बस्ने पनि २० जनाको हाराहारीमा थिए ।
