जिल्लामा ८ जना कडा, ४२ मध्यम र ४०५ सामान्य कुपोषित बालबालिकाको स्थानीय तहमा रहेका स्वास्थ्य चौकी अन्तर्गत सञ्चालित पोषण उपचार केन्द्र (ओटीसी) बाट उपचार भइरहेको छ ।
What you should know
कपिलवस्तु — जिल्लामा ४ सय ५५ जना कुपोषित बालबालिका रहेका छन् । ६ महिनादेखि ५९ महिना उमेर समूहका जिल्लामा ५० हजार २६२ बालबालिका रहेकामा १ सय ७९ बालक र २ सय ७६ बालिका कुपोषित रहेको पाइएको हो ।
‘मुवाक टेप’ र ‘जेड स्कोर’ विधिबाट कुपोषित बालबालिकाको पहिचान गरेर उपचार भइरहेको छ । जिल्लामा कडा खालका ८ जना, मध्यम ४२ र सामान्य ४ सय ५ जनामा कुपोषण रहेको पाइएको छ । उनीहरुको १० वटा स्थानीय तहमा रहेका स्वास्थ्य चौकी अन्तर्गत सञ्चालित पोषण उपचार केन्द्र (ओटीसी) बाट उपचार भइरहेको छ । कडा खालकालाई ३ महिना र सामान्य र मध्यम खालकालाई दुई महिना उपचार गरेपछि कुपोषण निको हुने जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन मोहम्मद ईफानले बताए ।
सजगता अभावमा दक्षिणी क्षेत्रका गाउँमा जन्मेको दुई वर्षसम्म आमा र गाईको दूध मात्र खुवाउने र पत्रु खाना खुवाउँदा कुपोषणको समस्या देखिएको हेलेन केलर इन्टरनेसनलद्वारा सञ्चालित पोषणमार्फत जीवन रुपान्तरण कार्यक्रमकी फिल्ड अफिसर सुस्मिता शर्माले बताइन् । ‘पोषणका लागि लिटो, जाउलो र पोषिलो कुरा खुवाउनु पर्छ,’ उनले भनिन्, ‘गाउँमा अल्छी गर्ने, नखुवाउने र खुवाए पनि नियमित नखुवाउनाले समस्या बल्झिँदो छ ।’ भर्खर गरिएको एक सर्वेक्षणमा ४६ हजार ३८० बालबालिकामा ६ सय ६९ जनामा दोहरिएर कुपोषित देखिएको उनले बताइन् । यो पनि समस्याका रुपमा देखा पर्न थालेको छ ।
कुपोषणले मानिसलाई ठूलो भएपछि शारीरिक र मानसिक समस्या हुने हुँदा गाह्रो हुने कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा. मुकेश चौधरीले बताए । ‘कुपोषण न्यूनीकरण नभए अरु क्षेत्र शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा राज्यले गर्ने लगानी पनि प्रभावकारी हुँदैन,’ उनले भने ‘त्यही भएर कुपोषण हटाउन सबै लाग्नु पर्छ ।’
जन्मेको दुई वर्षभित्र बालबालिकाको मानसिक विकास हुने भएकाले सचेत हुनुपर्ने स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन मोहम्मद ईफानले बताए । ‘कुपोषणले बालबालिकाको मानसिक र शरीरिक विकासमा समस्या ल्याई ठूलो हुँदा धेरै समस्या ल्याउँछ । त्यही भएर बेलैमा उपचार र हेरचाह गरेर नियन्त्रणमा ल्याउनु पर्छ,’ उनले भने ।
कुपोषणबारे ईकान्तिपुरमा प्रकाशित सम्बन्धित समाचारहरु पनि पढनुहोस् :
