बालबालिकालाई दिने सन्तुलित खानाबारे सावधानी नपुग्दा मधेशका बालबालिकामा कुपोषण
What you should know
पर्सा — वीरगन्जका एक चिकित्सक दम्पती आइतबार आफ्नो एक मात्र सन्तान ११ महिनाकी छोरीलाई लिएर वीरगन्जस्थित नारायण अस्पतालमा रहेको पोषण पुनर्स्थापना केन्द्रमा आए । वीरगन्जको छुट्टै अस्पतालमा कार्यरत चिकित्सक दम्पतीकी छोरीको उमेर अनुसार कम्तीमा साढे सात किलो तौल हुनुपर्नेमा साढे ५ मात्र थियो ।
केन्द्रकी प्रमुख सरिता यादवले चिकित्सक दम्पतीलाई छोरीलाई दिने खाना र त्यसमा रहेको पोषणको मात्राबारे जिज्ञासा राखिन् । त्यसक्रममा ती बालिकाको खानामा प्रोटिन बढी र कार्बोहाइड्रेटको मात्रा कम रहको पाइयो । यसका साथै यादवले बालिकालाई दिइने खानाको स्वाद नमिलेको र समय तालिका पनि नमिलेको ठहर गरिन् । ‘चिकित्सक दम्पतीले पोषिलो खानाको नाममा छोरीलाई स्वाद मिठो नलाग्ने, प्रोटिन बढी र कार्बोहाड्रेट कम भएको खाना दिइराख्नु भएको रहेछ,’ यादव भन्छिन्, ‘फेरि खानाको समय तालिका नमिलेपछि बालिकाको खानामा रुचि नरहेको पनि पाइयो ।’
बारा जीतपुर सिमरा–६ नगौलकी रिता देवी साउन १५ मा आफ्ना २ वर्ष ४ महिनाका जुम्ल्याहा सन्तान प्रेम सिंह र प्रिन्सा सिंहलाई सोही पोषण पुनर्स्थापना केन्द्रमा ल्याइन् । छोराको तौल १० किलो र उचाइ ८८ सेन्टिमिटर छ । छोरीको तौल साढे ६ किलो र उचाइ ७७ सेन्टिमिटर मात्र छ । यी जुम्लायाहालाई उनले छैटौँ गर्भमा जन्म दिएकी हुन् । यसअघि ५ छोरी मात्र थिए । अब उनका ६ छोरीसहित सात सन्तान भएका छन् । आफ्नो खेतीबारी छैन । एक उद्योगमा कार्यरत पतिको उद्योग बन्द भएपछि रोगजारी छैन ।
यी दुबै घटनामा अभिभावकको आर्थिक अवस्था र सन्तानको संख्या फरक छ । चिकित्सक दम्पतीले समेत आफ्ना सन्तानलाई खानाको मात्रा र त्यसमा पाइने पोषणबारे सामान्य जानकारी नराख्दा उनीहरूको सन्तान कुपोषणको सिकार भएको पाइएको छ । रिता देवीले भने गरिबी र चेतना अभावले आफ्ना सन्तानलाई पोषिलो खाने कुरा दिन नसकेको पाइएको छ । केन्द्र प्रमुख यादव पनि अभिभावकमै पोषण सम्बन्धी ज्ञानको कमी तथा बालबालिकाको शरीरमा कुपोषणको समस्या नदेखुन्जेल ध्यान नदिने प्रवृत्तिले बालबालिकामा कुपोषण कम नभएको बताउँछिन् ।
अभिभावकले नै छोराछोरीलाई चाउचाउ, बिस्कुट, मम, चाउमिन जस्ता तयारी खाना बढी दिने प्रवृत्तिले बालबालिकामा कुपोषणको समस्या बढिरहेको उनले बताइन् । कतिपय अभिभावकले छोराछोरीलाई विद्यालयको टिफिनमा पनि यस्ता तयारी खाना पठाउने प्रवृत्तिले बालबालिकामा कुपोषण देखिने गरेको छ । उपचार केन्द्रमा आउने कतिपय बालबालिका केन्द्रबाट स्वास्थ्य भएर घर फर्किएपछि दोहोरिएर कुपोषित भएर केन्द्रमा आउने गरेको पनि उनले बताइन् । यसरी छोराछोरीको खानपानमा ध्यान नदिने प्रवृत्तिले तराई–मधेशमा कुपोषणको समस्या अभिभावकबाटै बढी सिर्जित भइरहेको देखिने उनले सुनाइन् ।
केन्द्रको ५ वर्षयताको तथ्यांकले कुपोषणको समस्या घट्नुको साटो बर्सेनि बढ्दो क्रममा रहेको देखाउँछ । सन् २०२० मा केन्द्रमा उपचारार्थ भर्ना भएका १ सय ४२ बालबालिका मध्ये १ सय ३१ कडा कुपोषित थिए । २०२१ मा १ सय ३६ भर्ना भएकोमा १ सय १४ कडा कुपोषित थिए । २०२२ मा १ सय ९० भर्ना भएकोमा १ सय ५७ कडा कुपोषित थिए । २०२३ मा १ सय ९६ भर्ना भएकामा १ सय ५८ कडा कुपोषित थिए । २०२४ मा १ सय ७५ भर्ना भएकोमा १ सय ५७ कडा कुपोषित थिए । यसबाहेक जिल्लाका स्थानीय तहले कुपोषित बालबालिकाको उपचारका लागि ‘आउट पेसेन्ट थेराप्युटिक सेन्टर’ सञ्चालन गरेका छन् । वीरगन्ज महानगरपालिका–१४, १८, १९, २०, २१, २५, २८ र ३० गरी ८ वटा वडामा यो सेन्टर सञ्चालनमा रहेको वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राजु साह बताउँछन् ।
प्रत्येक वडामा रहेको सेन्टरमा पारामेडिक्स नर्सिङ तथा अहेबहरुलाई फोकल पर्सनको रूपमा प्रमुखको जिम्मेवारी दिएको छ । महानगरपालिकाको कार्यालयले आफ्ना ६६ जनशक्तिलाई सेन्टरको जिम्मेवारी वहन गर्ने ७ दिने तालिम समेत दिइसकेको छ । यसका साथै प्रत्येक महिना सञ्चालन हुने खोप अभियान, भिटामिन ए तथा एल्वेन्डाजोल खुवाउने अभियान, गाउँघर क्लिनिक, हेल्थ पोष्टलगायतमा आउने गर्भवती, सुत्केरी महिला, परिवार नियोजनका साधन लिन आउने महिलासँग आउने छोराछोरीको पनि जाँच गरेर कुपोषण रहे/नरहेको यकिन गरिँदै आएको उनले बताए ।
केन्द्रको सम्पर्कमा आएका बालबालिकाको उमेर अनुसार तौल र पाखुरा मापन गरेपछि बालबालिका कुपोषित भए/नभएको यकिन गरिन्छ । कुपोषण यकिन भएका बालबालिकालाई आफ्नो निगरानीमा राखेर पोषिलो खानाको रूपमा दिइने ‘आरयूटिएफ’ दिने गरेको छ । यससँगै सूक्ष्म पोषक तत्त्व रहेको ‘शक्ति भिटा’ पनि दिने गरेको छ । हरेक सात दिनमा उनीहरूको स्वास्थ्य अवस्था यकिन गरिन्छ । ४२ दिनसम्म स्वास्थ्य नभए वीरगन्जस्थित नारायणी अस्पतालमा रहेको पोषण पुनर्स्थापना केन्द्रमा रिफर गरिने साह बताउँछन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत अनिल मिश्रले वीरगन्ज महानगरसहित जिल्लाका विभिन्न पालिकामा गरी ४५ आउट पेसेन्ट थेराप्युटिक सेन्टर रहेको बताए । प्रत्येक वडामा यस्तो सेन्टर हुनुपर्नेमा स्थानीय तहहरूले त्यसको पूर्ण व्यवस्था गर्न सकेका छैनन् । हाल ठोरी र जिराभवानी गाउँपालिकामा ५/५, जगरनाथपुर गाउँपालिका र पर्सागढी नगरपालिकामा ६/६, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा २/२, बहुदरमाई नगरपालिकामा ४, पोखरिया नगरपालिकामा १, कालिकामाई गाउँपालिकामा १, धोबिनी गाउँपालिकामा २ र छिपहरमाई गाउँपालिकामा ३ वटाको संख्यामा सेन्टर सञ्चालनमा रहेको छन् ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो मापदण्ड अनुसार उचाइ अनुसारको तौल नभए बालबालिकामा कुपोषणको समस्या यकिन गरिने पोषण पुनर्स्थापना केन्द्रकी प्रमुख यादव बताउँछिन् । बालबालिकामा सामान्यतया पुड्कोपना र ख्याउटेपना, उमेर अनुसार कम तौल र सूक्ष्म तत्त्वको कमीले हुने गरी ३ खालका कुपोषण हुने गरेको उनले बताइन् । सामान्यतया नवजात शिशुको उचाइ कम्तीमा ५० सेन्टिमिटर र अर्को वर्ष २५, तेस्रो वर्ष १२ दशमलव ५ र चोथौ वर्ष १२ दशमलव ५ सेन्टिमिटरका दरले उचाइ वृद्धि भएको हुनुपर्ने उनले बताइन् ।
कुपोषणबारे ईकान्तिपुरमा प्रकाशित सम्बन्धित समाचारहरु पनि पढनुहोस् :
