कडा कुपोषितले सेवन गर्ने औषधि ६ महिनादेखि अभाव

टेन्डरमा मूल्य विवादका कारण स्वास्थ्य सेवा विभागले खरिद गर्न सकेन वैकल्पिक पोषक तत्व

असार १९, २०८२

मनोज पौडेल, अर्जुन शाह, प्रशान्त माली, विद्यानन्द राम

Medicines taken by severely malnourished people have been in short supply for 6 months

कडा कुपोषणले ग्रसित १२ महिनाकी प्राप्ति केसी बुटवलस्थित पोषण पुनर्स्थापना केन्द्रमा उपचाररत छिन् । केन्द्रमा भर्ना भएको ७ दिन हुँदा पनि उनमा सुधारको संकेत देखिएको छैन । यसको कारण हो– कुपोषितले खाने पोषणयुक्त औषधिको अभाव ।

केन्द्रमै उपचाररत ११ महिनाकी सिमरन पाइजाको पनि कडा कुपोषणको समस्या औषधि अभावकै कारण सुधार हुन सकेको छैन ।

कडा खालको कुपोषणको समस्या भएका बालबालिकाले खाने ‘एफ ७५’ र ‘एफ १००’ नामका औषधि (धुलो दुध पाउडर) लुम्बिनी प्रदेशिक अस्पताल अन्तर्गत बुटवलमा रहेको पोषण पुनर्स्थापना केन्द्रमा गत फागुनदेखि नै अभाव छ । ‘औषधि अभाव हुँदा पनि दुःख विमार परेर आएकालाई हेरचाह गर्दै आएका छौं । आफैं बनाएका घरेलु पोषक कुरा खुवाएर उपचारलाई निरन्तरता दिएका छौं, फर्काउन मिलेन,’ केन्द्र प्रमुख प्रतीक्षा थापाले भनिन् ।

उनका अनुसार प्रभावकारी मानिएको औषधि अभाव हुँदा दूध, जाउलो, लिटो, दालभातलगायत पोषणयुक्त खाना खुवाएर केन्द्रमा उपचार गरिँदै छ । यो औषधिजस्तो प्रभावकारी भने हुदैन । ‘थोरै र विस्तारै भए पनि काम गरोस् भनेर केन्द्रमा राखेर खुवाइएको हो,’ उनले भनिन् ।

‘एफ ७५’ र ‘एफ १००’ नामका पोषक तत्वमा भिटामिन, जिंक, अन्य खनिज लगायतका उच्च पोषक तत्व हुन्छन् । यो कडा खाले कुपोषण भएकाले खाने प्रभावकारी वैकल्पिक खाद्य पदार्थ हो ।

गत फागुनयता यसको अभाव हुँदा घरेलु पोषक तत्व खुवाएर ७५ जनालाई उपचार गरी पठाइएको पोषण अधिकृत थापाले जानकारी दिइन् । १० बेड रहेको पोषण पुनर्स्थापना केन्द्रमा अहिले ६ जना उपचाररत छन् । कडा खालका कुपोषित बालबालिकालाई १० देखि १८ दिनसम्म आवासीय रुपमा केन्द्रमा राखेर उपचार गरिन्छ । त्यसपछि जिल्लास्थित स्वास्थ्यचौकीमा रहेको ओटीसी सेन्टरमा नियमित औषधि र जाँचका लागि रिफर गरिन्छ ।

केन्द्रमा आइपुगेका बालबालिकालाई चिकित्सकले जाँच गर्दा अन्य रोग पहिचान नभएपछि मात्र कडा खालको कुपोषणको उपचार सुरु गरिन्छ । ६ महिनादेखि ५९ महिनासम्मका कुपोषित बालबालिकाको उपचार केन्द्रमा गरिन्छ । बुटवलस्थित पुनर्स्थापना केन्द्रमा पश्चिम नवलपरासी, पाल्पा, गुल्मी, रुपन्देही, अर्घाखाँची र कपिलवस्तुसम्मका बालबालिका उपचारका लागि जाने गर्छन् । बुटवलमा ०७१ देखि पोषण पुनर्स्थापना केन्द्र सञ्चालनमा छ । लुम्बिनी प्रदेशमा दाङ र नेपालगन्जमा पनि केन्द्र छन् ।

Medicines taken by severely malnourished people have been in short supply for 6 months

यस्तै, सप्तरीमा कडा खालको कुपोषण देखिएका १० बालबालिका उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज मातहतमा रहेको केन्द्रमा भर्ना छन् । तर, त्यहाँ पनि सात महिनादेखि केन्द्रले उपचारात्मक दूध (एफ–७५ र एफ–१००) पाएको छैन । उपचारात्मक पोषक तत्वको अभाव हुँदा कडा खालको कुपोषित बालबालिकाको उपचारमा समस्या भइरहेको छ ।

सात महिनादेखि बालबालिकालाई डेरीको दुध खुवाएर उपचार गरिँदा सोचेअनुसारको परिणाम पाउन नसकेको केन्द्रकी प्रबन्धक रश्मी झाले बताइन् । ‘जनवरीदेखि नै उपचारात्मक दूध अभाव छ, त्यसयता डेरीको दूध ल्याएर प्युरीफाई गरी एफ–७५ र एफ–१०० सरह बनाउँदा पनि सोचेअनुसारको उपलब्धि हुँदैन,’ उनले भनिन्, ‘डेरीको दूधमा प्रोटिन र फ्याट कम भएकाले एकदमै ढिलो गरी तौल बढाउँछ ।’

कडा खालको कुपोषण देखिएका बालबालिकालाई ल्याउँदा सुरु–सुरुमा तीनदेखि पाँच दिनसम्म एफ–७५ खुवाएर बालबालिकामा देखिने अवस्थाअनुसार थप्ने गरेको प्रबन्धक झाले बताइन् । ‘पहिलो चरणको सुधारपछि एफ–१०० खुवाउँदै पोषणयुक्त खाना खुवाउँछौं,’ उनले भनिन्, ‘तर, अहिले उपचारात्मक दूध अभावले कुपोषित बालबालिकाको उपचारमा समस्या भइरहेको छ नै डेरीको दूध किन्न पनि बजेट अपुग भइरहेको छ ।’

उनका अनुसार उपचारात्मक दूधको माग गर्दै परिवार कल्याण महाशाखामा पटकपटक पत्राचार गरिएको छ । तर, पूर्ति गराउनेतर्फ स्वास्थ्य सेवा विभागअन्तर्गत सो महाशाखाले ध्यान दिएको छैन । १० शय्याको सो पोषण पुनर्स्थापना गृहमा अहिले राजविराज नगरपालिकाका पाँच, छिन्नमस्ता गाउँपालिकाका दुई, हनुमाननगर कंकालिनी नगरपालिकाका तथा तिलाठी कोइलाडी र विष्णुपुर गाउँपालिकाका एक/एक गरी जन्मिएदेखि पाँच वर्षसम्मका १० जना कडा खालको कुपोषित बालबालिकालाई उपचाररत भर्ना छन् । तीमध्ये तीन बालबालिकालाई एफ–७५ खुवाएर उपचार गर्नुपर्ने अवस्था छ भने सात जना एफ–१०० खुवाउने अवस्था रहेको प्रबन्धक झाको भनाइ छ । 

उता बाजुराको अति विकटमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटका कुपोषित बालबालिका उपचारबाट वञ्चित छन् । उनीहरुका लागि उपचारात्मक खाना (आरयूटीएफ) छैन । सर्भेक्षण तथ्यांकमा बाजुरामा सबैभन्दा बढी कुपोषणग्रस्त रहेको मुक्तिकोटमा गत चैतको सुरुदेखि नै आरयूटीएफ छैन ।

मुक्तिकोट सामुदायिक स्वास्थ्य केन्द्रका इन्चार्ज बृज बिकका अनुसार गत साउन महिनामा दुई जना कुपोषित बालबालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा खडालबाडाका १६ महिना उमेरका सन्तोष न्यौपाने र मुक्तिकोटकी १७ महिना उमेरी जमुना बिकको मृत्यु भएको थियो । बिकका अनुसार दुबै बालबालिका ओटीसीमा उपचाररत थिए । स्वास्थ्य केन्द्रकी अनमी माला बमका अनुसार ती दुवै बालबालिका सिकिस्त भएपछि रेफर गरिएको थियो । ‘दुवै बच्चा सिकिस्त भएपछि हामीले रेफर गरेका थियौं, तर उहाँहरुले अन्यत्र लिएर उपचार गर्न सक्ने अवस्था नभएर होला, कतै लिनु भएन । त्यसपछि ती बच्चाहरुको मृत्यु भएको थियो,’ अनमी बमले भनिन् ।

इन्चार्ज बिकका अनुसार करिब पाँच महिना भयो आरयूटीएफ र सर्वोत्तम पिठो सकिएको । त्यसबेला केही मौज्दात भएका आरयूटीएफका प्याकेट गोदामबाट चोरी भए । त्यसपछि आरयूटीएफ नभएकाले कुपोषित बालबालिकाहरुको उपचार गर्न सकिएको छैन । ‘हामीले तत्कालै पालिकामा खबर गरेका थियौं,’ उनले भने ‘पालिकामा पनि नभएको जानकारी गराएका हुन् । अहिले आएको छ भन्ने खबर गरेका छन् ।’

बिकका अनुसार यसै साता गरिएको प्रारम्भिक सर्वेक्षणमा वडाभर २५ जना बालबालिका कुपोषित रहेको भेटिएका छन् । ‘११ जनालाई कडा कुपोषण छ भने १४ जना मध्ययम खालको कुपोषित छन्,’ उनले भने, ‘आरयूटीएफ नभएकोले कुपोषित बालबालिकाको उपचार गर्न नसकिएको बारे गाउँपालिकालाई जानकारी गराइएको छ ।’ उनका अनुसार गाउँपालिकाले यसै साता उपलब्ध गराउने खबर पठाएको छ । ‘आरयूटीएफ आएपछि मात्र कुपोषित बालबालिकाहरुलाई भर्ना गरेर उपचार सुरु गर्न सकिने अवस्था हुन्छ,’ उनले भने ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख भक्त कैलाले मुक्तिकोटमा आरयूटीएफ पठाउने तयारी भइरहेको बताए । ‘सडक यायातायत छैन, भरिया लगाए पठाउनुपर्ने अवस्था छ,’ कैलाले भने ‘वर्षाको कठिन बाटो छ । पूरै एक दिन लाग्छ । हामी चाँडोभन्दा चाँडो पठाउँछौं ।’

धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख झनक ढुंगानाले भने प्रदेशभर यतिबेला आरयूटीएफ अभाव नरहेको दाबी गरे ।

टेन्डरमा मूल्य विवाद

स्वास्थ्य सेवा विभागले औषधि खरिद गर्न आवश्यक बजेट हुँदाहुँदै चालु आर्थिक वर्षको अन्तिमसम्म पुग्दा पनि कुपोषित बालबालिकालाई खुवाउने पोषकतत्व, भिटामिन ‘ए’, आइरन चक्की, रेबिज भ्याक्सिन, परिवार नियाजनका अस्थायी साधान इम्प्लान्ट जस्ता अत्यावश्यक औषधी खरिद गर्न नसक्दा देशभर अभाव देखिएको छ ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार मुलुकरभर करिब ४० हजार जना शीघ्र (कडा) कुपोषित बालबालिका छन् । गत वर्ष सबभन्दा बढी नयाँ कुपोषित बालबालिका कपिलवस्तुमा २ हजार २ सय ६१ जना देखिएको थियो । गत वर्ष कुपोषणकै कारण ५२ जनाको मृत्यु भएको तथ्यांक छ ।

स्वास्थ्य सेवा विभागले कुपोषितसँगै अन्य शारिरीक रोग भएका बालबालिकालाई खुवाउने पोषकतत्व एफ ७५, एफ १००, आरयूटीएफ, बाल भिटा र परिवार नियोजनको अस्थायी साधान इम्प्लान्ट खरिद गर्न अझै टेन्डर आह्वान भएको छैन । चालु आर्थिक वर्षमा पोषक तत्व खरिद गर्न ४१ लाख ५५ हजार रुपैयाँ र इम्प्लान्टलगायत परिवार नियोजनको अस्थायी साधान खरिद गर्न १५ करोड रुपैयाँ बजेट छ । एन्टी रेबिज भ्याक्सिन खरिद गर्न १३ करोड रुपैयाँ छुट्याएको छ ।

कुपोषित बालबालिकालाई खुवाउने पोषकतत्व, इम्प्लान्ट, ‘भिटामिन ए’ खरिद गर्न नसक्नुका विभिन्न कारणमध्ये सप्लायर्सहरुको मिलेमतोमा एउटा मात्र कम्पनीले लागत मूल्यभन्दा बढीमा टेन्डर हाल्नु, समयमा टेन्डर आह्वान नगर्नु, कर्मचारी र सप्लायर्सबीच कुरा नमिल्नु प्रमुख कारण हुन् ।

कुपोषित बालबालिकालाई खुवाउने पोषकतत्व खरिद गर्न रेवाची इन्टरनेसनलले ४० प्रतिशत, इम्प्लान्ट खरिद गर्न जर्मन उत्पादक कम्पनी बायर जीले ४.७२ प्रतिशत र भिटामिन ए खरिद गर्न भारतीय उत्पादक कम्पनी सिनेनाडरले २५ प्रतिशत बढी लागत मूल्य हालेका थिए ।

गत वर्षको पोषकतत्व एफ ७५, एफ १०० र आरयूटीएफको लागत मूल्य क्रमशः प्रतिवटा ८ सय ५१ रुपैयाँ, ९ सय ४२ रुपैयाँ र प्रतिप्याकेट ४४ रुपैयाँ थियो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा.पवनजंग रायमझीले समयमा खरिद गर्न नसक्नुको कारण निर्णय गर्ने उच्चदेखि तल्लो तहका कर्मचारी पटकपटक हेरफेर हुँदा फाइल अगाडि बढाउन ढिलाइ भएको बताए । ‘तर, कर्मचारी र ठेकेदार कम्पनीबीच कुरा नमिलेका कारण औषधि खरिद गर्न नसकेको कुरा भने होइन,’ उनले दाबी गरे, ‘औषधि खरिद गर्न टेन्डर गर्दा विगतको लागत मूल्य भन्दा बढाएर राख्न नमिल्ने भएकाले खरिदमा ढिलाइ भएको हो ।’

स्वास्थ्य सेवा विभागका अधिकारीहरुका अनुसार औषधि खरिद गर्न टेन्डर गर्दा विगतको लागत मूल्यभन्दा बढाएर हाल्न नमिल्ने भने तापनि आवश्यक औषधिको मूल्यको बारेमा बजार मूल्यांकन गरेर लागत मूल्य तयार पार्न सकिन्थ्यो । तर, त्यसो नगरिएको व्यवस्थापन महाशाखाका निर्देशक डा. रायमाझीमाथि आरोप छ ।

औषधि अभाव भएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले कुपोषित बालबालिकालाई खुवाउने पोषकतत्व दातृ निकायबाट भए पनि सहयोग प्राप्त गर्ने योजना बनाएको थियो । तर, त्यसका लागि दाता अहिलेसम्म भेटिएको छैन ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेकलाल कर्णले औषधि खरिद गर्ने जिम्मेवारी पाएको व्यवस्थापन शाखाले समयमा गम्भीरतापूर्वक नलिएकाले अहिले समस्या भएको बताए । ‘समय छँदै वास्ता गरिएन । अहिले समस्या देखिन थालेको छ,’ उनले भने ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

प्रशान्त

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully