५ वर्षमा १ अर्ब खर्च कर्णालीमा कुपोषण ज्युँका त्युँ

कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मात्र २०७६ यता पाँच वर्षको अवधिमा ५२ हजार ४ सय ४० बालबालिका कुपोषित पाइएका छन् भने पोषण कार्यक्रम लागू नभएका सुर्खेत, सल्यान, रुकुम, दैलेख र जाजरकोटमा पनि २६ हजार ४ सय ४२ बालबालिकामा कुपोषण देखिएको छ।

पुस १३, २०८१

ज्योति कटुवाल

1 billion spent in 5 years due to malnutrition in Karnali

सुर्खेत — उमेरअनुसार आठमहिने छोरीको तौल र उचाइ नबढेपछि हुम्लाको ताजाकोट–३, बच्चौडकी कल्पना सुनार सुर्खेतको पोषण पुनर्स्थापना केन्द्रमा आइन् । चिकित्सकले उनलाई सुत्केरी हुँदा पोसिलो खानेकुरा नखाएका कारण त्यसको असर छोरीमा देखा परेको बताए ।

आठमहिने छोरीलाई देखाउँदै कल्पना भन्छिन्, ‘यसको तौल ४ किलो मात्र छ । अहिलेसम्म स्वास्थ्य संस्थाबाट जम्मा दुई पटक मात्र पोसिलो पिठो पाएँ । घरमा अरू पोसिलो खुवाउँ भने केही छैन ।’

कालीकोटको सान्नी त्रिवेणी–३ कि सरस्वती देवकोटा पनि छोराको उपचारका लागि यसै साता पोषण सुधार केन्द्रमा आएकी थिइन् । यसअघि पनि छोरालाई लिएर केन्द्रमा आइसकेकी उनी गाउँका स्वास्थ्य संस्थाले चिनजानकालाई मात्र पर्याप्त पोसिलो पिठो दिने गरेको आरोप लगाउँछिन् ।

‘पोसिलो पिठो लिन जान एक दिन ढिला भयो भने पनि कर्मचारीले छैन भनेर हप्काउँछन्, सधैं झगडा पर्छ,’ उनले भनिन् । ‘जसका नाममा आएको हो, उसले नपाउने भया केमा खर्च हुन्छ ? त्यो त हामीले थाहा पाउनु पर्‍यो नि ।’

सरकारले कुपोषण न्यूनीकरणका लागि पोसिलो पिठो गाउँगाउँमा पठाइरहेको दाबी गर्छ । तर गाउँका विपन्नले भने नपाएर उपचारका लागि अस्पताल धाउनु परिरहेको छ । घरबाट करिब ४ घण्टा पैदल हिँडेपछि मात्र पुगिने सामुदायिक सेवा स्वास्थ्य इकाई लुयाटामा भने पुग्दा नपुग्दै सरकारले निःशुल्क प्रदान गर्ने पोसिलो पिठो सकिएको भन्ने गरेको सरस्वतीले सुनाइन् । 

डोल्पोबुद्ध गाउँपालिका–१ धोकी निमलाजुम भोटे सुत्केरी भएको १७ महिनासम्ममा ६/७ पटक मात्र पोसिलो पिठो पाएको बताउँछिन् । प्रत्येक महिनामा आफूले पाउनुपर्ने पोसिलो पिठो नपाएको उनको गुनासो छ । ‘कहिले चिसोले कर्मचारी छैनन् भनेर दिँदैनन्, कहिले बर्खाका कारण पिठो आएन भन्छन्,’ उनी दुःखेसो पोख्छिन्, ‘छुटेको समयमा नपाएको पिठो अघिपछि पनि दिँदैनन् ।’

1 billion spent in 5 years due to malnutrition in Karnali

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार कर्णाली प्रदेशका बालबालिकाको पोषण सुधारका लागि प्रदेश र संघीय सरकारले २०७६ असारदेखि २०८१ असारसम्म ५ वर्षको अवधिमा १ अर्ब ३ करोड रुपैयाँ खर्च गरिसकेका छन् । तर, कर्णालीका पाँच जिल्ला कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मात्र २०७६ यता ५२ हजार ४ सय ४० बालबालिका कुपोषित पाइएका छन् ।

कार्यक्रम लागू नभएका सुर्खेत, सल्यान, रुकुम, दैलेख र जाजारकोटमा पनि २६ हजार ४ सय ४२ बालबालिकामा कुपोषण देखिएको छ । यी जिल्लाहरूमा ‘बालभिटा कार्यक्रम’ लागू छ । २०६९/७० बाट सुरु भएको उक्त कार्यक्रम रुकुम पश्चिम, जाजरकोट, दैलेख, सल्यान र सुर्खेतका सबै स्थानीय तहमा लागू भएको छ । यो कार्यक्रमअन्तर्गत ६ महिनादेखि २३ महिनाका बालबालिकालाई पोषणयुक्त लिटो ‘बालभिटा’ खुवाइन्छ ।

नेपाल सरकार र संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको साझेदारीमा कर्णाली प्रदेशका ५ जिल्लामा ‘आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम’ लागू गरिएको हो । यसबाहेक प्रदेशमा अन्य कार्यक्रम पनि लागू छन् ।

तर, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकै तथ्यांक भन्छ– ५ वर्षमा यहाँका ११ महिनासम्म उमेर समूहका २३ हजार ८ सय ६९ र १२ देखि २३ महिनासम्म उमेर समूहका २८ हजार ५ सय ७१ बालबालिकामा कुपोषण पाइएको छ । कर्णालीमा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि मात्र संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७७/७८ देखि ०८०/८१ सम्म ५९ करोड ३४ लाख ६४ हजार रुपैयाँ खर्च गरिसकेको छ । 

 सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसी कर्णालीमा कुपोषण दर घटाउन राज्यको लगानीअनुसार काम नभएको टिप्पणी गर्छन् । ‘यति ठूलो रकम खर्च गर्दा पिठो बेच्ने कम्पनी र त्यससम्बन्धी काम गर्ने निकायलाई मात्र फाइदा भएको देखिन्छ तर विपन्न परिवारका बालबालिका लाभान्वित हुन सकेका छैनन् । त्यो तथ्यांकमा प्रस्ट देखिन्छ ।’

१ अर्ब खर्च भएको त्यो कार्यक्रमले कुपोषण किन घटाउन सकेको छैन भनेर खोजिनुपर्ने उनले बताए । डा. केसीका अनुसार कर्णालीमा खानाको कमी र खानासम्बन्धी चेतना अभावकै कारण कुपोषण भएको नबुझ्नु मुख्य समस्या हो । 

यहाँ बालविवाह र सुत्केरी अवस्थामै काममा जानुपर्दा बच्चाले खान नपाउने र सीमान्तकृत वर्गको चरम विपन्नता कुपोषणका प्रमुख कारण हुन् । यसलाई सम्बोधन नगर्दासम्म पिठो बाँडेर मात्रै पोषणमा सुधार नहुने डा. केसीको बुझाइ छ । भन्छन्, ‘कर्णालीमा सानो उमेरमा गर्भवती हुनेको संख्या धेरै छ, अर्को दलित समुदायका बालबालिकामा पनि धेरै कुपोषण देखिन्छ ।’ 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतले २०७९/८० र ८०/८१ मा पोसिलो पिठो आपूर्तिमै १४ करोड ६८ लाख खर्च गर्‍यो । त्यसयता भने टेन्डर प्रक्रियामै अनियमितता भएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि नयाँ टेन्डर गरेको छैन ।

वितरणमा मात्रै २०७६ देखि ५ वर्षमा ४० करोड ३६ लाख ७६ हजार रुपैयाँ खर्च भइसकेको छ । तर निर्देशनालयले नै उपलब्ध गराएको तथ्यांकअनुसार कुपोषित बालबालिकाको संख्यामा कमी आएको भने देखिँदैन । कुपोषित बालबालिकाको संख्या २०७६/७७ मा ९ हजार ५ सय ८४ रहेकोमा ०८०/८१ मा पुग्दासम्म ९ हजार ४ सय ६९ छ । 

1 billion spent in 5 years due to malnutrition in Karnali

सरकारले ‘स्वस्थ, सुखी र समृद्ध परिवार, हाम्रो सरोकार प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकार’ भन्ने नाराका साथ कर्णाली प्रदेशमा २०७० सालदेखि यो कार्यक्रम लागू गरेको हो । कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका ५ जिल्लाका १ सय ४८ स्वास्थ्य संस्थामा लागू गरिएको आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रमअन्तर्गत गर्भवती र ६ देखि २३ महिनासम्मका शिशुलाई पौष्टिक आहाराका लागि पोषण मिसाइएको पिठो वितरण गरिन्छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाकी कार्यक्रम अधिकृत समीक्षा आचार्य तथ्यांक हेर्दा कर्णालीमा बालबालिका तथा महिलाहरूको पोषणको अवस्था अत्यन्तै कमजोर रहेको बताउँछिन् । ‘बालबालिकामा उच्च रूपमा ख्याउटे तथा पुड्कोपना, किशोरकिशोरी र महिलाहरूमा न्यून पोषण तथा रक्तअल्पताजस्ता समस्या असाध्यै धेरै छ,’ उनले भनिन् । 

कालीकोटमा ५ वर्षयता मात्र झन्डै १ हजार ३९ मेट्रिक टन पौष्टिक आहारा वितरण गरेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । यो कर्णालीका अन्य जिल्लाको तुलनामा धेरै हो । यहाँका ७३ वटा स्वास्थ्य इकाइबाट यो पिठो वितरण हुन्छ ।

जिल्ला अस्पताल कालीकोटले यो कार्यक्रमबाट वार्षिक औसतमा ७ हजार ६ सय ५० जना गर्भवती महिला र बालबालिका लाभान्वित भएको दाबी गरेको छ । तर, कालीकोटमा १ वर्षमा ८ महिना मात्र पोसिलो पिठो प्राप्त हुने गरेको कालीकोट जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महत बताउँछन् ।

‘चार महिनासम्म नपाएको पिठो पुनः पाइँदैन । चार महिनासम्म बालबालिकाले पिठो पाउँदैनन् । त्यो चार महिनासम्म जिल्लामा नपठाएको पिठो खरिद हुन्छ/हुँदैन हामीलाई थाहा हुँदैन ।’ कालीकोटमा मात्र २०७७/७८ मा १ हजार ७ सय ७० बालबालिका कुपोषित भएकामा २०८०/८१ मा १ हजार ६ सय ६९ जना छन् । जुम्ला, हुम्ला र डोल्पामा त कुपोषित बालबालिकाको संख्या ५ वर्षको अन्तरालमा झन् बढेको छ ।

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंह सुत्केरी महिलाहरूले पोसिलो पिठो नपाएको गुनासो पालिकामा आउने गरेको सुनाउँछिन् । ‘स्वास्थ्य संस्थामा अनुगमन गर्न जाँदा सुत्केरी महिलाले प्रत्येक महिनामा पिठो लिई भरपाई गरेको कागजपत्र मिलाएर राखेको देखिन्छ,’ उनले भनिन्, ‘तर कागजमा उल्लेख भएअनुसारको पिठो नपाएको गुनासो छ । यो त कागजतपत्र मिलाएर भ्रष्टाचार गरेजस्तो पो देखियो ।’ 

भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत केन्द्रले पनि अनुसन्धान गरिरहेको छ । ‘२०७८ यताको पिठो खरिदमा अनियमितता भएको उजुरी परेकाले हामीले छानबिन गरिरहेका छौं । अन्य कुराहरू खुल्दै जालान्,’ अख्तियारका एक अधिकारीले भने ।

हुम्लाको ताजाकोट गाउँपालिकामा रहेको मदाना स्वास्थ्य चौकीका प्रमुख रामलाल देवकोटा असोजदेखि फागुनसम्म पिठो ढुवानी नहुने बताउँछन् । ‘हिउँ परेपछि हवाई सेवा बन्द हुन्छ, सडक पनि ठप्प हुन्छ । त्यसैले ६ महिनासम्म पिठो वितरण हुँदैन ।’ उनका अनुसार पिठो वितरण गर्ने सरकारी निकाय र समन्वय गरिरहेका गैरसरकारी संस्थाले आफ्नो क्षेत्रमा पिठो वितरण गरेको संख्या धेरै देखाए पनि वास्तवमा सोअनुसारको पिठो वितरण भएको पाइँदैन । 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराई गरिबी, बालविवाह, खानपान र सरसफाइ नहुनेजस्ता कारणले कर्णालीमा कुपोषण बढेको बताउँछिन् । ‘पिठो वितरण सुत्केरी अवस्थामा मात्र गरेर हुँदैन, किशोर–किशोरी लक्षित कार्यक्रम पनि चाहिन्छ,’ उनले थपिन्, ‘बालबालिकामा कुपोषण देखा परेपछि आमाहरू पोषण सुधार केन्द्रमै बस्न मान्दैनन्, फलोअपमा आउन सक्दैनन् । त्यसैले कुपोषणको दर घट्न नसकेको हो ।’ 

स्वास्थ्य निर्देशनालयकी वरिष्ठ सामुदायिक नर्सिङ अधिकृत मानकुमारी गुरुङ कुपोषणको प्रमुख कारण चेतनाको कमीलाई ठान्छिन् । भन्छिन्, ‘शिशुलाई पूर्णस्तनपान गराउन नसक्दा पनि कुपोषण भयानक हुँदै गएको छ । बच्चा जन्मिएको २ वर्षसम्म ८० प्रतिशत बौद्धिक विकास भइसक्नुपर्छ तर कर्णालीमा भने पुरक खाना खुवाउन नपाउँदा बालबालिका कुपोषणको सिकार हुन्छन् र शारीरिक तथा मानसिक विकास पर्याप्त हुन पाउँदैन ।’ उनले बजेट अभावका कारण हरेक महिना उपलब्ध गराउनुपर्ने पिठो ३/४ महिनाको फरकमा वितरण गर्नुपरेको बताइन् । 

कुपोषणको रोकथामका लागि सरकारले कर्णालीमा १६ वटा कार्यक्रम सञ्चालन गरेको छ । सुर्खेत, दैलेख र जुम्लामा पोषण पुनर्स्थापना केन्द्र सञ्चालित छन् । यद्यपि कुपोषण कम हुन सकिरहेको छैन । जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती कर्णालीका सहरी बस्ती र छेउछाउमा पिठो बाँड्दैमा कुपोषण कम नहुने बताउँछिन् । ‘पोषण भनेको विकासको मुद्दा हो’ उनले प्रश्न गरिन्, ‘कर्णाली सरकारले पोषणलाई ठूलो मुद्दा बनाउनै सकेको छैन ।’ 

उनका अनुसार बालभिटा कामै नलाग्ने चिज हो । त्योभन्दा स्थानीय उत्पादनलाई जोड दिँदै पोसिलो खाना कसरी खाने भन्नेबारे जानकारी दिनु उपयुक्त हुने उनी बताउँछिन् । ‘मुगु गएका बेला मैले कुहिएको पिठो बाँडेको देखेकी थिएँ,’ डा. उप्रेती भन्छिन्, ‘कर्णालीका सबै दुर्गम जिल्लाको अवस्था एउटै छ ।’ 

 (खोज पत्रकारिता केन्द्रका लागि)

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully