भुइँमान्छेका दु:ख– महँगीको मार अनि स्वास्थ्य र शिक्षाको चिन्ता

वैशाख ३१, २०८२

इकान्तिपुर टिम

The woes of the poor - the cost of living and the worry of health and education

भैरहवा — भुइँ तहका नागरिकका सुखदुःख के हुन् ? उनीहरूले अहिले भोगिरहेको अप्ठ्यारो के हो ? अनि उनीहरूका सुख र सपना के हुन् ? यही बुझ्न हामीले सय दिनअघि ‘घरखर्च’ स्तम्भ सुरु गरेका थियौं । हरेक दिन हामीले भुइँ तहका नागरिकका कथा उनीहरूकै भाषा र शैलीमा प्रकाशित गरेका थियौं । 

पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको डडेलधुरासम्मका ५७ जिल्लाका विभिन्न जात, धर्म, वर्ण र आर्थिक पृष्ठभूमिका सय नागरिकले हामीसँग बाँडेका सुखदुःख र संघर्षलाई हामीले विश्लेषण गरेर भुइँ तहका नागरिकको जीवनको आयाम बुझाउने प्रयास गरेका छौं ।

चर्को धुपमा सडक छेउमा बसेर मकै पोल्नेदेखि, भतभती पोल्ने पिच सडकमा कुल्फीदेखि सातु सर्वत बेच्नेसम्म, डोको नाम्लो बुनेर बेच्दै गुजारा चलाउनेदेखि अटो रिक्सा चलाउनेसम्म, भरियादेखि ज्यामीसम्म र परम्परागत पेसा धानिरहेकाहरूको घरखर्चको कथा हामीले यसबीचमा प्रकाशित गर्‍यौं । हर दिन संघर्षको जीवन बाँचिरहेका भुइँ तहका नागरिकलाई नुन–तेलको जोहो कसरी गर्ने भन्नेदेखि बालबच्चाको स्कुलको खर्च कसरी धान्ने र औषधोपचार कसरी गर्ने भन्ने चिन्ताले सबैभन्दा धेरै सताएको पाइयो ।

जिन्दगी पनि च्यातिएका जुत्ता–चप्पलजस्तै टालटुल गरेर चलाइरहेको बताउने बाँके कोहलपुर ११ की दीपा सार्कीदेखि बिरामी श्रीमानको उपचार खर्च जुटाउन रातोदिन काम गरिरहेकी गोरखा नगरपालिका–७ की मीनमाया कुमालसम्मका रहरहरू अत्यावश्यक घरखर्च जुटाउँदैको संघर्षमा बितिरहेको देखिन्छ । धेरैजसो भुइँ तहका नागरिकले जति दुःख गर्दा पनि सामान्य रहर पनि पूरा गर्न नसकेको दुःखेसो मात्रै सुनाएनन्, भविष्यप्रतिको अत्यास पनि व्यक्त गरे ।The woes of the poor - the cost of living and the worry of health and education

छोराछोरीको पढाइ–खर्च जुटाउनकै लागि कडा मिहिनेत र संघर्ष गरिरहेका पात्रहरूको घरखर्चको दुःख पनि उस्तै छ । तर यस्ता पात्रहरू भोलि छोराछोरीले राम्रो गर्लान् र सुखको जीवन जिउन पाइएला भन्ने आशामा बाँचिरहेजस्तो देखिन्छ । वीरगन्ज–२३ का विजयप्रसाद कोइरी दमकी रोगी आमा र मुटुरोगी पत्नीको उपचार खर्चका अलावा चार छोराछोरीको लालनपालन र पढाइखर्च जुटाउन ठेलामा तरकारी बेचिरहेका छन् । उनको एउटै सपना छ, हेल्थ असिस्टेन्ट पढीरहेकी जेठी छोरीको पढाइ टुंग्याउने ।

विजयको जस्तै कथा छ, मोरङको विराटनगर–६ का राजकुमार महतोको पनि । फरक यत्ति हो, विजय ठेलामा तरकारी बेच्छन्, राजकुमार ठेलामा चनाको सातु ।

विजयको जस्तै चिन्ता छ, सातु बेचेर ९ जनाको परिवारको घरखर्च धानिरहेका राजकुमारको पनि । किनकि, २ महिनाअघि प्यारालाइसिस भएका बाबुको उपचार खर्च उनका लागि सबैभन्दा खर्चिलो विषय भएको छ । विजयजस्तै उनी सारा घरखर्च धानेर ७ कक्षामा पढ्ने छोरा र १ कक्षामा पढ्ने छोरीको पढाइ–खर्च जुटाइरहेका छन् । छोराछोरीलाई भनेजस्तो पढाउन सके जीवनका दुःख घट्थ्यो कि भन्ने आशाले उनी चर्को घाममा पनि पसिना बगाइरहेका छन् ।

यस स्तम्भमा ७३ वर्षीय चन्द्रबहादुर श्रेष्ठदेखि ८३ वर्षका चेतनाथ ढकालसम्मका ज्येष्ठ नागरिकले भोगिरहेको घरखर्चको संघर्षदेखि जीवनप्रतिको बुझाइ समेटिएका छन् । विविध कारणले परिवारबाट अलग्गिएका र एक्लै जीवन बाँचिरहेकाहरूको संघर्षको कथा झनै गहिरो देखिन्छ । यस्ता पात्रहरू बुढ्यौलीसँग र महँगो बन्दै गएको घरखर्चसँग पौंठे खेलिरहेको भेटियो । धादिङमा जन्मेहुर्केका चेतनाथ काठमाडौंका सडकमा १२ वर्षदेखि पानी र अन्य खिच्रीमिच्री बेचेर आफ्नो पेट पालिरहेका छन् । भन्छन्, ‘म त डाँडामाथिको घामजस्तै भइसकेँ । अब त्यस्ता केही सपना छैनन् । यत्ति हो– कसैसँग हात थापेर खान नपरोस् । कसैबाट यो बुढेसकालमा अपमानित हुन नपरोस् ।’

The woes of the poor - the cost of living and the worry of health and education

सन्तान नभएका गोरखा बुङकोटका ७३ वर्षीय चन्द्रबहादुर श्रेष्ठ बुढेसकालको दुःखसँग संघर्ष गरिरहेका प्रतिनिधि पात्र हुन् । बुढ्यौलीसँगै दुवै आँखा नदेख्ने भएपछि उनको जीवनमा थप दुःख थपिएको छ । वृद्धभत्ताको आशमा महिना बिताउने र त्यही रकमले नुन–तेलको जोहो गर्ने उनी आफूलाई मृत्यु कुरेर बसिरहेको पात्रजस्तो ठान्छन् । भन्छन्, ‘पकाएर खाने जाँगर पनि हराएपछि अहिले त जीवनदेखि नै दिक्क लाग्न थालेको छ । तर के गर्नु ? मर्न काल आउँदैन, त्यसैले जे जस्तो भए पनि सन्तोष नमानी भएन ।’

यस स्तम्भमा हामीले ११ जना एकल महिलाको घर चलाउँदाको संघर्ष र उनीहरूको साहसको कथा पनि समेट्यौं । बिहेको एकाध वर्षमै श्रीमान् गुमाएकादेखि बुढेसकालमा पति वियोग खेपेका महिलाले गरिरहेको संघर्ष सुन्दा नेपाली समाजको अनुहार छर्लंग हुन्छ । बाराको कलैया उपमहानगरपालिकाकी ६५ वर्षीया सन्जु देवी १७ वर्षदेखि पतिको यादमा ३ सन्तान हुर्काउन अनवरत संघर्षमा छिन् । छाप्रोको चिया पसलमा उनी चिया उमालेर बढ्दो महँगीसँग जुधिरहेकी छन् र आफ्नो जीवनकालमा पूरा हुन नसक्ने घर–सपना जनतसाथ हुर्काइरहेकी छन् । भन्छिन्, ‘जीवन नै घरबारविहीन भएर बितेकाले होला मलाई आफ्नै घर भई दिए हुन्थ्यो जस्तो लाग्छ । दुई धुर जग्गामा भए पनि आफ्नै सानो पक्की घर होस् । जहाँ म शान्तपूर्वक बस्न सकुँ । म त सपना र बिपना पनि आफ्नै पक्की घरमा सुतेको मात्र देख्छु । अब कति नै बाँचिएला र ! यो जुनीमा आफ्नै घर बनाउने सपना पूरा हुने छाँटकाँट छैन ।’

१० वर्षअघि श्रीमान् गुमाएको पीडा मनमा खिपेर बुढेसकालका दिन बाँचिरहेकी गोरखा घैरुङकी ८० वर्षीया भुन्टिमाया बसेल अनेकन् दुःखसँग जुधिरहेकी छन् । भन्छिन्, ‘घर बनाउँदा, बुढाको किरिया र उपचार गर्दा लागेको ऋण तिर्न पाए आनन्दले मर्न हुन्थ्यो जस्तो लाग्छ ।’

The woes of the poor - the cost of living and the worry of health and education

स्तम्भमा ३८ महिला र ६२ पुरुषले आफ्नो घरखर्च धान्दाका संघर्ष–कथा सुनाए । यस्तो संघर्षमा गरिखाने मान्छेले कसरी दुःख र सास्ती भोगिरहेका छन् भन्ने मात्रै प्रस्ट हुँदैन, उनीहरूका सपना र रहरहरू के रहेछन् भनेर पनि थाहा हुन्छ । स्तम्भमा ३८ दलित, ११ एकल महिलाको घरखर्चको संघर्ष अन्यको भन्दा पेचिलो देखिन्छ । उनीहरूको कथाबाट थाहा हुन्छ, भुइँ तहका नागरिकको दुःख, संघर्ष र सपनाको आफ्नै लय छ । जसबारे सिंगो सरकार बेखबरजस्तो प्रतीत हुन्छ ।

हेटौंडा बस्ने रामचन्द्र राममोक्ष ४६ वर्षदेखि सडक छेउमा बसेर जुत्ता–चप्पल सिलाइरहेका छन् । तर उनी आफ्नै उध्रिएको रहर र सपना पूरा गर्न सकिरहेका छैनन् । तीन छोरीको बिहेवारी सकेको वर्षौं भइसक्दा पनि उनी बिहेको कर्जा तिर्न सकिरहेका छैनन् । भन्छन्, ‘घरखर्च, ऋण र ब्याजको बोझले नयाँ लुगा नकिनेको तीन वर्षजति भयो । पुरानै बाक्ला लुगाले यस वर्षको जाडो कट्यो ।’

बर्दियाको गुलरिया–८ का ४५ वर्षीय इन्ताज अलि मनिहार २० वर्षदेखि टाँगा चलाइरहेका छन् । टाँगाको टकटक सुन्नेहरूका निम्ति कर्णप्रिय भए पनि उनको जीवनमा दुःखका धुन वर्षौंदेखि उस्तै कर्कश छ । जति दुःख गरे पनि परिवारलाई खुसी राख्न नसकेको चिन्ताले उनलाई खाइरहेको छ । भन्छन्, ‘ईदको दिन पनि यात्रु कुरेरै बित्यो । महान् पर्वमा पनि बालबच्चालाई लत्ताकपडा र राम्रो खाना खुवाउन सकिनँ ।’ वर्षौर्संम्म निरन्तर दुःख गर्दा पनि सोचेजस्तो नभएका कारण उनी हिजोआज भाग्यलाई नै दोष दिन्छन् । भन्छन्, ‘सानो हुँदा ठूलो भएर धेरै कमाउँला र सुखसाथ बाँचौंला भन्ठान्थेँ । त्यो सपना पनि कहिल्यै साकार भएन । सायद मेरो भाग्यमै यस्तो रहेछ ।’

घरखर्च नै धान्न अप्ठ्यारोमा परेका धेरै पात्र स–साना रहर पनि पूरा गर्न नसकेर आफैं दिक्क देखिन्छन् । सुर्खेत, वीरेन्द्रनगर बस्ने ३१ वर्षीया शोभना परियार कोठाभाडा तिर्ने पैसा नभएकाले ६ जनाको परिवार एउटै कोठामा खुम्चिएर बस्नुपर्दाको दुःख सुनाउँदै भन्छिन्, ‘सधैं मासु खाने र कपडा किन्ने रहर मार्नुपर्छ ।’ तीन वर्षदेखि सडक किनारमा मकै पोलेर बेचिरहेकी उनी र गाडी चलाउने श्रीमानको कमाइ दाल, तरकारी, नुन र तेल किन्दैमा ठिक्क हुने बताउँदै भन्छिन्, ‘कमाइ नभएका बेला भान्छा रित्तै हुन्छ ।’

The woes of the poor - the cost of living and the worry of health and education

निरन्तर कर्म गरिरहेकाहरू पनि स–साना रहर पूरा गर्न संघर्ष गर्नुपर्ने परिस्थिति कस्तो हुन्छ भनेर पनि घरखर्च स्तम्भमा समेटिएका पात्रहरूले बताएका छन् । चार वर्षदेखि रूपन्देहीको बुटवल–बेलहिया सडकको पडसरीमा उखुको रस बेचिरहेका ३३ वर्षीय विष्णुनाथ यादव हरेक महिना छोराको विद्यालयको मासिक ५ हजार शुल्क र मासिक ३ हजार कोठाभाडाको जोहो र नुनतेलको खर्च पुर्‍याउने चिन्ताले सताइराख्ने बताउँछन् । कमाएको सबै घरखर्चमा जाने भएकाले उनी बेलाबखत स–साना रहर पनि मार्न बाध्य हुन्छन् । भन्छन्, ‘मासु खान त मन लाग्छ तर पैसाले पुग्दैन ।’

लुम्बिनीका ७२ वर्षीय गुने थारुले तिलौराकोट (प्राचीन कपिलवस्तु) को चौर वरपर सरसफाइको काम गर्न थालेको १३ वर्ष भयो । मनकारी दाताहरूले दिने दानबाट गुजारा चलाइरहेका उनले पैसाको अभावमा चार वर्षदेखि नयाँ कपडा नकिनेको बताए । भन्छन्, ‘नयाँ जुत्ता नलगाएको ६ वर्ष भयो । कहिलेकाहीँ त मलाई लाग्छ, भगवान‍्ले नै मेरो छाक जुटाइदिइरहेका छन् ।’

सारङ्गी रेटेर घरखर्च जुटाइरहेका भोजपुरको अरुण गाउँपालिका–६, जरायोटारका ६१ वर्षीय बमबहादुर गन्धर्व हुन् कि, डाला, दौरा, पेटारी, चङेली र बेना (हाते पंखा) बुनेर बिक्री गर्दै आएका रौतहटको बृन्दावन–७ स्थित डोमबस्तीका २५ वर्षीय दिनेश मलिक हुन् । सबैसँग परम्परागत पेसा र सीप छ तर त्यसबाट बढ्दो महँगीसँग जुध्ने आम्दानी नहुँदाको चिन्ता छ । ४५ वर्षदेखि सारंगी रेटिरहेका बमबहादुर आफ्नै जीवनको दुःखदेखि आत्तिएका देखिन्छन् । भन्छन्, ‘बिरामी परिहाले उपचार–खर्च गर्न २/४ हजार चाहिएला भनेर बचत गरेको छु । तर गम्भीर रोग लाग्यो भने थला पर्नेबाहेक उपाय छैन ।’

परम्परागत पेसा गरिरहेका, खेतीपाती वा पशुपालनमा निर्भर रहेका वा ज्यालादारीमा निर्भर भएकाहरूभन्दा स–सानो भए पनि उद्यम गर्नेहरू जीवनप्रति बढी आशावादी देखिन्छन् । उद्यममा लागेकाहरूले आफ्ना स–साना रहर भए पनि पूरा गर्न सकेको, घरखर्च सजिलैसँग धान्न सकेको बताउँछन् । 

The woes of the poor - the cost of living and the worry of health and education

१७ वर्ष प्रहरीमा काम गरेर अवकाशको जीवनमा ई–रिक्सा चलाउन थालेका रूपन्देहीका चामु थारु हुन् कि दाङको गढवा बजारमा सानो चिया नास्ता पसल चलाएर परिवारको गर्जो धानिरहेकी मानमती चौधरी हुन्, पठाओ चलाएर दुई छोराछोरीको पढाइ खर्च र सारा घरखर्च जुटाइरहेकी एकल महिला शान्ति मगरको संघर्ष होस् कि सिलाइकटाइको काम गर्ने तनहुँ व्यासकी विष्णुमाया आले हुन् । सबैले इलम गर्दाको संघर्ष र त्यसबाट खान लाउनको दुःख नभएको कथा साटेका छन् ।

ई–रिक्सा चलाएर दिनको दुई हजार कमाउने चामुको कुरा होस् कि सिलाइकटाइ गरेकै भरमा छोराको स्कुल खर्च र दुई कोठाको मासिक १२ हजार भाडा तिर्न र भान्साको १० हजार खर्च धानिरहेकी तनहुँ व्यासकी विष्णुमायाको कथा होस् वा चिया खाजा बेचेरै महिनाको १० देखि १५ हजार बचत गर्ने दाङ गढवाकी मानमती चौधरीको कथा । उद्यम र सीप भएकाहरूसँग अभावको सानोतिनो कथा भए पनि घरखर्चको सधैंको पिरलो कम भएको देखियो ।

भुइँमान्छेहरूका जीवनका दुःख रहर पूरा गर्न नसकेको वा मिठो मसिनो खान नपाएको वा कतै घुम्न जान नपाएका जस्ता विषयमा छैनन् । बरु उनीहरूमा औषधो उपचारको खर्च कसरी जुटाउने भन्नेदेखि छोराछोरीको पढाइखर्च र बिहेवारी कसरी गर्ने भन्ने चिन्ता गाढा देखिन्छ । ओत लाग्ने आफ्नै घर नभएको पिरलोले केहीलाई सताएको देखिए पनि उनीहरू यो जुनीमा आफ्नै घरमा बस्ने सपना पूरा हुन्न भनेर मेख मारेर बसेको भेटियो । बढ्दो महँगी, सर्वसुलभ शिक्षा र स्वास्थ्यको अभावले गरिखाने वर्गलाई सबैभन्दा धेरै पिरलो थपेको देखियो ।

तथ्यांकमा सहभागीहरू 

घरखर्च स्तम्भमा ६२ जना पुरुष, ३८ जना महिला सहभागी थिए । सहभागी महिलामध्ये ११ जना एकल महिला थिए भने सहभागीमध्ये ४ जना अपांगता भएका थिए । जनजाति समुदायका २९ जना, क्षेत्री/ब्राह्मण समुदायका २५ जना, दलित समुदायका २०, मधेसी समुदायका २२ र मुस्लिम समुदायका ४ जना थिए । 

घरखर्च स्तम्भमा समेटिएका सय जनामध्ये यकिन आय नभएका ९ जना बाहेक न्यूनतम मासिक ५ देखि १० हजारदेखि अधिकतम् ६० हजार कमाइ भएकासम्म थिए । जसमध्ये ७६ जना त २० हजारभन्दा कम आए भएका छन् । २० हजारभन्दा कम आय भएका र डेरामा बस्नेहरूलाई घरखर्च धान्न धौ–धौ भएको देखियो भने २० हजारभन्दा कम आए भए पनि आफ्नै घरबारी भएकाहरूलाई घरखर्चको चिन्ता तुलनात्मक रूपमा कम देखियो ।

खेतीपाती वा परम्परागत पेसा/व्यवसायमा रहेकाहरूले भन्दा उद्यमशील काममा लागेकाहरूले तुलनात्मक रूपमा राम्रो कमाइ गरेको देखियो । त्यस्तै श्रीमान् श्रीमती दुवै पेसामा जोडिएकाहरूको आय राम्रो देखियो भने एकल महिला, अपांगता भएका र छोराछोरीबाट परित्यक्त ज्येष्ठ नागरिकलाई घरखर्च धान्न गाह्रो भएको र रहरहरू मारेर बस्नुपर्ने अवस्था देखियो ।

घर खर्च स्तम्भमा प्रकाशित सबै सामग्री तलको लिंकमा 

https://ekantipur.com/Ghar-Kharcha

संयोजक : दीपेन्द्र बडुवाल

इकान्तिपुर टिम

Link copied successfully