श्रीमान् उदय कुमाल ५३ वर्षको हुनुभो । मभन्दा कान्छो भए पनि रोगले उहाँलाई पहिल्यै समात्यो
तनहुँ — गोरखा नगरपालिका–७ च्याङ्लीमा जन्मिएर उतै घरजम गरेँ । मेरो कर्मथलो तनहुँको बन्दीपुर–१, डुम्रेबजार हो । पृथ्वीराजमार्ग भएर गुड्ने गाडीका यात्रुलाई केरा बेचेरै अहिले गुजारा चलाइरहेकी छु ।
गोरखाको च्याङ्लीबाट ल्याएको अर्गानिक केरा देखेपछि यात्रुले पनि किन्छन् । तर, दुई–चार पैसाका लागि ३० वर्षदेखि गाडीको पछिपछि दौडिंदै केरा बिक्री गरिरहेकी छु ।
अहिले ६४ वर्षकी भएँ । आफैंले हातगोडा नचलाएसम्म श्रीमान्को उपचार खर्च जुट्दैन । औषधि खर्चले गर्दा मिठोमसिनो खाने मन पनि मार्नुपर्छ । मन लागेको खाना र श्रीमान्को उपचार खर्च जुटाउन धूलोधूवाँ वास्ता नगरी संघर्ष गरिरहेकी छु ।
श्रीमान् उदय कुमाल ५३ वर्षको हुनुभो । मभन्दा कान्छो भए पनि रोगले उहाँलाई १२/१३ वर्षअगाडि नै समात्यो । किडनीमा पत्थरी भएकाले तीनपल्ट अप्रेसन नै गरियो । एउटा किड्नी पनि फ्याक्न पर्यो । तीनपटकमा ४ लाख रुपैयाँ बढी खर्च भइसकेको छ । अझै पनि समय–समयमा चेकजाँच र औषधिमा गरेर महिनामा ३/४ हजार खर्च हुन्छ । गत शिवरात्रिमा के–के परीक्षण गर्दा १५ हजार खर्च भयो ।
हाम्रा २ छोरा र २ छोरी जन्मिए । ठूलो छोरा र छोरीको विवाह भएर पनि नातिनातिना जन्मिसके । कान्छो छोरा टिप्पर चलाउँछ । कान्छी छोरी आफू पढ्दै सीटीईभीटीमा पढाइरहेकी छे । कृषि कर्म र आफूले उब्जाएको फलफूल बजारमा ल्याएर बेचेरै छोराछोरीलाई पढाएँ । उनीहरू आफ्नै खुट्टामा उभिएका छन् ।
छन त जेठो छोरा विदेश गएको छ । कान्छो छोरा र छोरीले पनि अलिअलि कमाउँछन् । कहिलेकाहीँ सघाउने बाहेक उनीहरूको कमाइ उनीहरूलाई नै ठिक्क छ । बुढाबुढीले मन लागेका बेला केही त खानै पर्यो । खाने बेलामा फेरि श्रीमान्लाई अस्पताल लैजाने गाडी भाडा र औषधि खर्च कसरी जुटाउने भन्ने चिन्ता सुरु भइहाल्छ । हरेकपल्ट छोराछोरीसित खर्च माग्न सहज नहुने रहेछ । आफूसँग भएर खर्च गर्नु र माग्नुमा ठूलो अन्तर हुँदो रहेछ । त्यही भएर सडकको धूलोधूवाँ, घामपानी नभनी खटिरहेकी छु ।
दिनकै आएर गाडीको पिछा गर्न पनि सम्भव हुँदैन । अरुबेला साताको एक/दुई दिन आउँछु । चाडबाडमा बेसी आउने गर्छु । एकपटक आउँदा मात्र २ सय गाडी भाडा, केराको भाडा र बजार क्षेत्रमा व्यापार गरेबापत दैनिक ३० रुपैयाँ दिनुपर्छ । कमाइ भएका बेला त ठिकै हो, कमाइ नहुँदा यो पैसा कताबाट तिरौं भन्ने हुन्छ ।
मैले ल्याउँदा सय कोसा केरा डेढ सय रुपैयाँमा ल्याउँछु । बेच्दा ठूला कोसा छन् भने १५/१८ कोसाको एक सय रुपैयाँमा, साना कोसा २०/२२ कोसाको एक सय रुपैयाँको दरले बिक्री गर्छु । दिनमा एक हजार देखि १२ सयसम्मको व्यापार हुन्छ । त्यही पैसाले घरखर्च पुर्याएकी छु । जाडोमा भन्दा गर्मीमा केरा अलि धेरै बिक्छ । यही कमाइबाट चाडबाड खर्च र श्रीमान्को औषधि खर्च टारेकी छु ।
अहिलेसम्म एक पैसा पनि बचत गर्न सकेकी छैन । घर चलाउनका लागि भनेर कहिलेकाहीँ समूहबाट ५/१० हजार निकालेकै हुन्छु । त्यसैको ब्याज तिर्दै ठिक्क हुन्छ । हुन त केरा बेचेको पैसा दिनको सय/सय रुपैयाँ जम्मा गरे पनि हुन्थ्यो होला तर बैंकमा खाता छैन । श्रीमान्को नाममा २ कोठाको घर छ । भूकम्पले अर्को २ कोठाको घर बनाइदिएको छ । हामी ८ जनाको परिवार यही २ वटा घरमा बस्छौं । पुर्ख्यौली जग्गाजमिन छ । केही जग्गामा सागसब्जी, तरकारी र केही फलफूल लगाएका छौं ।
मिठोमसिनो नखाए, राम्रो नलगाएर बस्दा छरछिमेकले पनि हेप्दा रहेछन् । आजसम्म दुई छाक रोकिएको छैन, अबका दिनमा पनि खानालाई ठिक्क भइदिए हुन्थ्यो भन्ने लाग्छ । अहिले सबै सामानको भाउ बढेको छ । चामल, दाल, तेल, नुन, मसला बजारबाटै किनेर ल्याउनु पर्छ । ठूलो छोराका ३ वटै नातिनातिना पढ्न जान्छन् । घरबाट पाहिला उचाल्ने बित्तिकै पैसा चाहिन्छ । पढाइ खर्च भन्यो, खाना, लगाउन, औषधि आदि पुर्याउन धौधौ नै छ । परिवारको बिहान–बेलुकाको गर्जो सहजै टरोस् भन्ने उद्देश्यले बुढेसकालमा पनि दुःख गरिरहेकी छु ।
प्रस्तुति : सम्झना रसाइली
