‘हातखुट्टा नचलाएसम्म श्रीमान‍्को उपचार खर्च जुट्दैन’

श्रीमान‍् उदय कुमाल ५३ वर्षको हुनुभो । मभन्दा कान्छो भए पनि रोगले उहाँलाई पहिल्यै समात्यो

चैत्र ८, २०८१

मीनमाया कुमाल

”Unless he can move his arms and legs, he will not be able to pay for his treatment”

तनहुँ — गोरखा नगरपालिका–७ च्याङ्लीमा जन्मिएर उतै घरजम गरेँ । मेरो कर्मथलो तनहुँको बन्दीपुर–१, डुम्रेबजार हो । पृथ्वीराजमार्ग भएर गुड्ने गाडीका यात्रुलाई केरा बेचेरै अहिले गुजारा चलाइरहेकी छु । 

गोरखाको च्याङ्लीबाट ल्याएको अर्गानिक केरा देखेपछि यात्रुले पनि किन्छन् । तर, दुई–चार पैसाका लागि ३० वर्षदेखि गाडीको पछिपछि दौडिंदै केरा बिक्री गरिरहेकी छु । 

अहिले ६४ वर्षकी भएँ । आफैंले हातगोडा नचलाएसम्म श्रीमान‍्को उपचार खर्च जुट्दैन । औषधि खर्चले गर्दा मिठोमसिनो खाने मन पनि मार्नुपर्छ । मन लागेको खाना र श्रीमान‍्को उपचार खर्च जुटाउन धूलोधूवाँ वास्ता नगरी संघर्ष गरिरहेकी छु । 

श्रीमान‍् उदय कुमाल ५३ वर्षको हुनुभो । मभन्दा कान्छो भए पनि रोगले उहाँलाई १२/१३ वर्षअगाडि नै समात्यो । किडनीमा पत्थरी भएकाले तीनपल्ट अप्रेसन नै गरियो । एउटा किड्नी पनि फ्याक्न पर्‍यो । तीनपटकमा ४ लाख रुपैयाँ बढी खर्च भइसकेको छ । अझै पनि समय–समयमा चेकजाँच र औषधिमा गरेर महिनामा ३/४ हजार खर्च हुन्छ । गत शिवरात्रिमा के–के परीक्षण गर्दा १५ हजार खर्च भयो ।

हाम्रा २ छोरा र २ छोरी जन्मिए । ठूलो छोरा र छोरीको विवाह भएर पनि नातिनातिना जन्मिसके । कान्छो छोरा टिप्पर चलाउँछ । कान्छी छोरी आफू पढ्दै सीटीईभीटीमा पढाइरहेकी छे । कृषि कर्म र आफूले उब्जाएको फलफूल बजारमा ल्याएर बेचेरै छोराछोरीलाई पढाएँ । उनीहरू आफ्नै खुट्टामा उभिएका छन् । 

छन त जेठो छोरा विदेश गएको छ । कान्छो छोरा र छोरीले पनि अलिअलि कमाउँछन् । कहिलेकाहीँ सघाउने बाहेक उनीहरूको कमाइ उनीहरूलाई नै ठिक्क छ । बुढाबुढीले मन लागेका बेला केही त खानै पर्‍यो । खाने बेलामा फेरि श्रीमान‍्लाई अस्पताल लैजाने गाडी भाडा र औषधि खर्च कसरी जुटाउने भन्ने चिन्ता सुरु भइहाल्छ । हरेकपल्ट छोराछोरीसित खर्च माग्न सहज नहुने रहेछ । आफूसँग भएर खर्च गर्नु र माग्नुमा ठूलो अन्तर हुँदो रहेछ । त्यही भएर सडकको धूलोधूवाँ, घामपानी नभनी खटिरहेकी छु । 

दिनकै आएर गाडीको पिछा गर्न पनि सम्भव हुँदैन । अरुबेला साताको एक/दुई दिन आउँछु । चाडबाडमा बेसी आउने गर्छु । एकपटक आउँदा मात्र २ सय गाडी भाडा, केराको भाडा र बजार क्षेत्रमा व्यापार गरेबापत दैनिक ३० रुपैयाँ दिनुपर्छ । कमाइ भएका बेला त ठिकै हो, कमाइ नहुँदा यो पैसा कताबाट तिरौं भन्ने हुन्छ ।

मैले ल्याउँदा सय कोसा केरा डेढ सय रुपैयाँमा ल्याउँछु । बेच्दा ठूला कोसा छन् भने १५/१८ कोसाको एक सय रुपैयाँमा, साना कोसा २०/२२ कोसाको एक सय रुपैयाँको दरले बिक्री गर्छु । दिनमा एक हजार देखि १२ सयसम्मको व्यापार हुन्छ । त्यही पैसाले घरखर्च पुर्‍याएकी छु । जाडोमा भन्दा गर्मीमा केरा अलि धेरै बिक्छ । यही कमाइबाट चाडबाड खर्च र श्रीमान‍्को औषधि खर्च टारेकी छु । 

अहिलेसम्म एक पैसा पनि बचत गर्न सकेकी छैन । घर चलाउनका लागि भनेर कहिलेकाहीँ समूहबाट ५/१० हजार निकालेकै हुन्छु । त्यसैको ब्याज तिर्दै ठिक्क हुन्छ । हुन त केरा बेचेको पैसा दिनको सय/सय रुपैयाँ जम्मा गरे पनि हुन्थ्यो होला तर बैंकमा खाता छैन । श्रीमान‍्को नाममा २ कोठाको घर छ । भूकम्पले अर्को २ कोठाको घर बनाइदिएको छ । हामी ८ जनाको परिवार यही २ वटा घरमा बस्छौं । पुर्ख्यौली जग्गाजमिन छ । केही जग्गामा सागसब्जी, तरकारी र केही फलफूल लगाएका छौं । 

मिठोमसिनो नखाए, राम्रो नलगाएर बस्दा छरछिमेकले पनि हेप्दा रहेछन् । आजसम्म दुई छाक रोकिएको छैन, अबका दिनमा पनि खानालाई ठिक्क भइदिए हुन्थ्यो भन्ने लाग्छ । अहिले सबै सामानको भाउ बढेको छ । चामल, दाल, तेल, नुन, मसला बजारबाटै किनेर ल्याउनु पर्छ । ठूलो छोराका ३ वटै नातिनातिना पढ्न जान्छन् । घरबाट पाहिला उचाल्ने बित्तिकै पैसा चाहिन्छ । पढाइ खर्च भन्यो, खाना, लगाउन, औषधि आदि पुर्‍याउन धौधौ नै छ । परिवारको बिहान–बेलुकाको गर्जो सहजै टरोस् भन्ने उद्देश्यले बुढेसकालमा पनि दुःख गरिरहेकी छु । 

प्रस्तुति : सम्झना रसाइली

घरखर्च

मीनमाया

Link copied successfully