‘ठूलो चिन्ता भनेकै नानीहरूको स्कुल फिस हो’

दुई महिनाअघि अचानक प्यारालाइसिस भएपछि बुवाको ज्यान त बच्यो, तर पूर्ण अपांग हुनुभएको छ

फाल्गुन २२, २०८१

राजकुमार महतो

”The biggest concern is the children's school fees”

विराटनगर — मोरङको विराटनगर महानगरपालिका–६ शर्सिया टोलको स्थायी बासिन्दा हुँ । ठूलो सहरको बासिन्दा भन्दैमा मक्ख परेर गुजारा चल्दैन । ज्यान त पाल्नै पर्‍यो भनेर विराटनगरको देवकोटा चोकमा चनाको सातु बिक्री गरेर घरखर्च चलाइरहेको छु । तीन कोठे साँघुरो घरमा अहिले ९ जनाको परिवार अटसमटस बसिरहेका छौं ।

अहिले म ३५ वर्षको भएँ । बुवाले ६० वर्ष पार गरिसक्नु भो । आमा त्यही ५५ वर्ष हाराहारी हुनुभो । मेरी श्रीमती, एक छोरा, एक छोरी छन् । भाइकी श्रीमती र छोरी छन् । १३ वर्षको मेरो छोरा ७ कक्षामा पढ्छ । ८ वर्षकी छोरी बल्ल १ कक्षामा पढ्छिन् । यो त भयो मेरो पारिवारिक विवरण ।

मेरा दुःखको फेहरिस्त त बेग्लै छ । बुवालाई करिब २ महिनाअघि अचानक प्यारालाइसिस भयो । जसोतसो ज्यान च बच्यो, तर उहाँ पूर्ण अपाङ्ग हुनु भएको छ । एक्लै हिँडडुल गर्न सक्नुहुन्न । बुवाका लागि महिनाको १२ हजार त औषधिमै खर्च गर्नुपर्ने भएको छ । 

जस्तै परे पनि सहनुपर्ने बाध्यता छ । अहिले परिवारको आर्थिक बोझ उठाउने जिम्मेवारी मेरो र भाइको काँधमा छ । चोकमा बसेर दिनभरि चनाको सातु बिक्री गर्छु । भाइले पनि महावीर चोकतिर ठेला थापेर सातु नै बेच्ने हो । हामी दुवैका जहान घरको सम्पूर्ण काम सम्हाल्छन् । जेठानी–देउरानी मिलेर हरेक दिन चनाको सातु र त्यसका लागि चाहिने सरजाम तयार गरिदिन्छन् । 

सातु बनाउने काम ज्यादै झन्झटिलो छ । १ सय ५० रुपैयाँ किलो चना किनेर ल्याउने, त्यसलाई भुट्ने अनि मिलमा लगेर पिस्ने काम पनि मेरी र भाइकी श्रीमतीले नै गर्ने हो । ”The biggest concern is the children's school fees”सातु स्वस्थकर खाजा भनेर ठेलामा भीड लाग्छ । हाम्रो तराई क्षेत्रमा यसको बिक्री हुन्छ । बिरेनुन र कागतीको रस मिसाएर तयार गरिएको एक गिलास चनाको सातु ५० रुपैयाँमा बेच्छु ।

यसरी धेरै नै दुःख परे पनि सातु बेचेर महिनाको आम्दानी करिब २० हजारजति पुग्छ । भाइको पनि १८/२० हजार पुग नपुग हुन्छ नै । दुई भाइ मिलेर घरखर्च चलाइरहेका छौं । बुवा–आमाको उपचार पनि मिलेर गर्छौं । नानीहरूको पढाइ र बुवा–आमाको स्वास्थ्य उपचारमा वढी खर्च हुने गरेको छ । दैनिक रासनपानीमा पनि उस्तै खर्च छ । मिठो खान, राम्रो लाउन मन त कसको हुन्न र ! तर, मन मारेर बस्नु परेको छ । 

माछामासु हप्ता/पन्ध्र दिनमा मात्रै खाने हो । नयाँ लुगा किन्न छठ नै आउनु पर्छ । महँगी बढ्दै गएकाले खर्च पुर्‍याउन कठिन भइरहेको छ । दाजुभाइको कमाइ महिनाको ५०/५० हजार भैदिए त सजिलो गरी खर्च धानिन्थ्यो । ”The biggest concern is the children's school fees”

सबैभन्दा ठूलो चुनौती भनेकै नानीहरूको स्कुल खर्च हो । राम्रो शिक्षा दिने भनेर बोर्डिङ स्कुलमा भर्ना गरेकाले महिनाको ६ हजार फिस बुझाउनु पर्छ । सरकारी स्कुलमा पढाउँदा पनि हुन्थ्यो भन्ने त लाग्छ, तर गाउँलेले आफ्ना नानी निजीमै पठाइरहेकाले हामीलाई पनि दबाब परेको हो । छरछिमेकीको देखासिकीले पनि छोराछोरीलाई बोर्डिङमा पढाउन बाध्य भयौं, फेरि सरकारी स्कुलको पढाइ विश्वास लाग्दो पनि त छैन । 

अचाक्ली महँगी, नानीहरूको पढाइ, बुवा–आमाको औषधिउपचार र रासनपानीमा भइरहेको खर्चले चिन्ता लाग्छ । दिनभरि परिश्रम गर्दै ठिक्क हुन्छ, सुत्ने बेलामा भने घरखर्चको सुर्ताले हत्तपत्त निदाउन दिँदैन । अति छटपट हुन थालेपछि श्रीमतीसँग दुःख साट्छु । उनले ढाडस दिएपछि हलुको लागेर निदाउँछु । 

प्रस्तुति : पर्वत पोर्तेल

राजकुमार

Link copied successfully