पाँच वर्षअघि सिलाइकटाइ सिकेपछि मात्र घरखर्च जुटाउने साहस गरेकी हुँ
दाङ — दाङको गढवा गाउँपालिका–६, हाँसिपुर बस्तीमा घर छ । अहिले ३९ वर्षकी भएँ । अहिलेका बच्चाको जस्तो हाँसखेल गरेर मेरो बाल्यकाल बितेन । उसबेला थारु समुदायका छोरीजतिले सकभर आफ्नै नभए अरूकहाँ घरधन्दा गर्नुपर्थ्यो ।
हाम्रो समुदायमा छोरीलाई पढाउने चलन नभएकाले मैले पनि घरेलु काम गरेँ । एक छाक खान–बस्नमात्र पनि ‘कमैया’ बस्ने चलन थियो । थारुलाई ‘भूमिपुत्र’ भनेर भाषण गरे पनि हामी सधैंका दुखिया हौं ।
पाँच वर्षअघि सिलाइकटाइ सिकेपछि मात्र घरखर्च जुटाउने साहस गरेकी हुँ । व्यापार गर्ने कुरा चुनौतीपूर्ण भए पनि अहिले आफैंले व्यवसाय गरिरहेकी छु । मेरो परिवारका लागि यो नयाँ काम हो । पहिले अरुको घर गएर धन्दा सक्न भ्याइ–नभ्याइ हुन्थ्यो, अहिले बिहान उठेदेखि आफ्नै कामबाट फुर्सद मिल्दैन ।
सबेरै उठेर घरको काम सकेपछि सिलाइकटाइ (टेलरिङ) को पसल खोल्न पुगिहाल्छु । ६ महिनाजति महिला र तीन महिनासम्म पुरुषका कपडा सिलाउने तालिम लिएपछि व्यवसाय गर्ने हिम्मत पलायो । सीप त सिकेँ, तर आफ्नै सिलाइ मेसिन भएन । त्यसपछि जसले सिलाउन सिकाउनु भयो, उहाँको पुरानो मेसिन १२ हजारमा किनेर व्यवसाय थालेकी हुँ । त्यसबेला मसँगै गाउँका ८ जनाले तालिम लिएका थिए, तर मैले मात्र यसलाई घरखर्च जुटाउने माध्यम बनाएकी छु । आफू गरिब भएपछि व्यवसाय सुरु गर्ने आँटसमेत नआउँदो रहेछ ।
सिलाइबाट बाह्रैमास एकैनासको कमाइ हुँदैन । चाडपर्वका बेला दिनको १ हजार र अन्य बेला सरदर ६ सय कमाइ हुन्छ । यसरी हात परेको पैसामध्ये थोरैथोरै सटर भाडा तिर्न खुत्रुकेमा बचत गर्छु । महिनाको दुई हजार भाडा तिर्नुपर्छ ।
यसबाहेक सहकारीमा दिनको सय रुपैयाँ बचत गर्दै आएकी छु । त्यसबाहेक कमाएको जति नुन, तेल, हरियो तरकारी र छोराछोरीका लागि खर्च गर्दैमा सकिन्छ । सिलाइ व्यवसायको काइदा भनेको दिनदिनै नगद हात पर्छ, तर धेरै बेर टिक्दैन । यताउति तिरतार गर्दैमा सकिहाल्छ । अनि त एक दिन काम नगरे कसरी खर्च चलाउने भन्ने चिन्ता सुरु भइहाल्छ । दुःख, बिराम परेका बेला त बित्यास पर्छ ।
दैनिक बचत गर्न नसकेको महिना सटर भाडा तिर्न र ऋणको किस्ता तिर्न हम्मे हुन्छ । सुरुमा ग्राहक नआउँदा निराश हुनु परे पनि अहिले टाढाटाढाबाट चिनजानका मानिस आउन थालेका छन् । सिलाइकटाइ सिकाइ दिनूस् भनेर आउने पनि धेरै भइसके । मसित सिकेका दुई जनाले अहिले मलाई नै सघाइरहेका छन् । मैले उहाँहरूलाई ठाउँमात्र दिएकी हुँ, आफूले सिलाएको कपडाको ज्याला आफैं बुझ्नु हुन्छ । पसलमा चारवटा सिलाइ मेसिन जोडिसकेकाले पनि साथीहरूसित मिलेर काम गर्न सजिलो भएको हो ।
मेरो स्वास्थ्यका कारण कडा र मिहिनेत लाग्ने काम गर्न सक्दिनँ । तैपनि, केही न केही आय आर्जनको काम नगरी घरखर्च चलाउने उपाय नभएपछि सिलाइकटाइ रोजेकी हुँ । मेरो पाठेघर र किड्नीमा समस्या भएपछि चारपटक अप्रेसन गरिसकिएको छ । शरीर चिरेर कमजोर भएकाले बढी बल पर्ने काम गर्न सक्दिनँ ।
सुरुमा एक साताको तालिम लिएर बाख्रापालन पनि गरेकी थिएँ । बाख्राको संख्या बढाएर लैजाने योजना बनाएकी थिएँ । १७ वटासम्म बाख्रा पुर्याए पनि रुख चढेर घाँस काट्न नसक्ने भएपछि छाडिदिएँ ।
घरखर्चको समस्याले कहिले कता, कहिले कता दौडने बनायो । हाम्रो दुई कट्ठा खेतको उब्जनीले खानै पुग्दैन । साँझ–बिहान किनेर खानुपर्छ । घर बनाउने मिस्त्री भएकाले श्रीमान् रामबहादुरले पनि दिनको ९ सय ज्याला पाउनु हुन्छ । तर, घर धान्ने मुख्य आधार मेरै कमाइ हो । २१ वर्षकी छोरी आशिका देउखुरी बहुमुखी क्याम्पसमा व्यवस्थापन शंकायमा स्नातक पढ्दापढ्दै छाडेर नेपालगन्ज गइन् । छोरीका लागि महिनाको ९ हजार खर्च पठाउनु पर्छ । १२ कक्षामा पढ्ने छोराको महिनाको खर्च ५ हजार लाग्छ ।
ओत लाग्न समस्या भएपछि सहकारीबाट २ लाख ५० हजार ऋण निकालेर सानो घर बनाएका छौं । अपुग रकम बचत समूहबाट पनि लिएकी थिएँ । त्यसैले सहकारी र समूहको गरेर महिनामा ७ हजार किस्ता तिर्नुपर्छ । शरीरले साथ नदिए पनि छोराछोरीले ‘आमा ! अब हजुरले काम गर्नुपर्दैन’ नभन्दासम्म शरीर घोटिरहने सोचमा छु ।
प्रस्तुति : दुर्गालाल केसी
