‘सिलाइबाट दिनदिनै नगद हात परे पनि टिक्दैन’

पाँच वर्षअघि सिलाइकटाइ सिकेपछि मात्र घरखर्च जुटाउने साहस गरेकी हुँ

फाल्गुन २१, २०८१

मीना चौधरी

Even if you get cash every day from sewing, it won't last.

दाङ — दाङको गढवा गाउँपालिका–६, हाँसिपुर बस्तीमा घर छ । अहिले ३९ वर्षकी भएँ । अहिलेका बच्चाको जस्तो हाँसखेल गरेर मेरो बाल्यकाल बितेन । उसबेला थारु समुदायका छोरीजतिले सकभर आफ्नै नभए अरूकहाँ घरधन्दा गर्नुपर्थ्यो ।

हाम्रो समुदायमा छोरीलाई पढाउने चलन नभएकाले मैले पनि घरेलु काम गरेँ । एक छाक खान–बस्नमात्र पनि ‘कमैया’ बस्ने चलन थियो । थारुलाई ‘भूमिपुत्र’ भनेर भाषण गरे पनि हामी सधैंका दुखिया हौं । 

पाँच वर्षअघि सिलाइकटाइ सिकेपछि मात्र घरखर्च जुटाउने साहस गरेकी हुँ । व्यापार गर्ने कुरा चुनौतीपूर्ण भए पनि अहिले आफैंले व्यवसाय गरिरहेकी छु । मेरो परिवारका लागि यो नयाँ काम हो । पहिले अरुको घर गएर धन्दा सक्न भ्याइ–नभ्याइ हुन्थ्यो, अहिले बिहान उठेदेखि आफ्नै कामबाट फुर्सद मिल्दैन । 

सबेरै उठेर घरको काम सकेपछि सिलाइकटाइ (टेलरिङ) को पसल खोल्न पुगिहाल्छु । ६ महिनाजति महिला र तीन महिनासम्म पुरुषका कपडा सिलाउने तालिम लिएपछि व्यवसाय गर्ने हिम्मत पलायो । सीप त सिकेँ, तर आफ्नै सिलाइ मेसिन भएन । त्यसपछि जसले सिलाउन सिकाउनु भयो, उहाँको पुरानो मेसिन १२ हजारमा किनेर व्यवसाय थालेकी हुँ । त्यसबेला मसँगै गाउँका ८ जनाले तालिम लिएका थिए, तर मैले मात्र यसलाई घरखर्च जुटाउने माध्यम बनाएकी छु । आफू गरिब भएपछि व्यवसाय सुरु गर्ने आँटसमेत नआउँदो रहेछ । 

सिलाइबाट बाह्रैमास एकैनासको कमाइ हुँदैन । चाडपर्वका बेला दिनको १ हजार र अन्य बेला सरदर ६ सय कमाइ हुन्छ । यसरी हात परेको पैसामध्ये थोरैथोरै सटर भाडा तिर्न खुत्रुकेमा बचत गर्छु । महिनाको दुई हजार भाडा तिर्नुपर्छ ।

यसबाहेक सहकारीमा दिनको सय रुपैयाँ बचत गर्दै आएकी छु । त्यसबाहेक कमाएको जति नुन, तेल, हरियो तरकारी र छोराछोरीका लागि खर्च गर्दैमा सकिन्छ । सिलाइ व्यवसायको काइदा भनेको दिनदिनै नगद हात पर्छ, तर धेरै बेर टिक्दैन । यताउति तिरतार गर्दैमा सकिहाल्छ । अनि त एक दिन काम नगरे कसरी खर्च चलाउने भन्ने चिन्ता सुरु भइहाल्छ । दुःख, बिराम परेका बेला त बित्यास पर्छ ।

दैनिक बचत गर्न नसकेको महिना सटर भाडा तिर्न र ऋणको किस्ता तिर्न हम्मे हुन्छ । सुरुमा ग्राहक नआउँदा निराश हुनु परे पनि अहिले टाढाटाढाबाट चिनजानका मानिस आउन थालेका छन् । सिलाइकटाइ सिकाइ दिनूस् भनेर आउने पनि धेरै भइसके । मसित सिकेका दुई जनाले अहिले मलाई नै सघाइरहेका छन् । मैले उहाँहरूलाई ठाउँमात्र दिएकी हुँ, आफूले सिलाएको कपडाको ज्याला आफैं बुझ्नु हुन्छ । पसलमा चारवटा सिलाइ मेसिन जोडिसकेकाले पनि साथीहरूसित मिलेर काम गर्न सजिलो भएको हो । 

मेरो स्वास्थ्यका कारण कडा र मिहिनेत लाग्ने काम गर्न सक्दिनँ । तैपनि, केही न केही आय आर्जनको काम नगरी घरखर्च चलाउने उपाय नभएपछि सिलाइकटाइ रोजेकी हुँ । मेरो पाठेघर र किड्नीमा समस्या भएपछि चारपटक अप्रेसन गरिसकिएको छ । शरीर चिरेर कमजोर भएकाले बढी बल पर्ने काम गर्न सक्दिनँ ।

सुरुमा एक साताको तालिम लिएर बाख्रापालन पनि गरेकी थिएँ । बाख्राको संख्या बढाएर लैजाने योजना बनाएकी थिएँ । १७ वटासम्म बाख्रा पुर्‍याए पनि रुख चढेर घाँस काट्न नसक्ने भएपछि छाडिदिएँ । 

घरखर्चको समस्याले कहिले कता, कहिले कता दौडने बनायो । हाम्रो दुई कट्ठा खेतको उब्जनीले खानै पुग्दैन । साँझ–बिहान किनेर खानुपर्छ । घर बनाउने मिस्त्री भएकाले श्रीमान् रामबहादुरले पनि दिनको ९ सय ज्याला पाउनु हुन्छ । तर, घर धान्ने मुख्य आधार मेरै कमाइ हो । २१ वर्षकी छोरी आशिका देउखुरी बहुमुखी क्याम्पसमा व्यवस्थापन शंकायमा स्नातक पढ्दापढ्दै छाडेर नेपालगन्ज गइन् । छोरीका लागि महिनाको ९ हजार खर्च पठाउनु पर्छ । १२ कक्षामा पढ्ने छोराको महिनाको खर्च ५ हजार लाग्छ । 

ओत लाग्न समस्या भएपछि सहकारीबाट २ लाख ५० हजार ऋण निकालेर सानो घर बनाएका छौं । अपुग रकम बचत समूहबाट पनि लिएकी थिएँ । त्यसैले सहकारी र समूहको गरेर महिनामा ७ हजार किस्ता तिर्नुपर्छ । शरीरले साथ नदिए पनि छोराछोरीले ‘आमा ! अब हजुरले काम गर्नुपर्दैन’ नभन्दासम्म शरीर घोटिरहने सोचमा छु ।

प्रस्तुति : दुर्गालाल केसी

मीना

Link copied successfully