‘दुधे बालक बोकेर आइसक्रिमको ठेला गुडाउँछु’

खेतीपाती गरेर दुई छाक खान गाह्रो हुन थालेपछि दुई वर्षअघि तराई झर्‍यौं

फाल्गुन २०, २०८१

कल्पना मल्ल

”Carrying a milk baby, I carry a basket of ice cream”

कञ्चनपुर — कर्ममा दुःख लेखेपछि थपक्क बसेर खान नमिल्दो रहेछ । दुई/चार पैसा नकमाउने हो भने त अहिलेको जमानामा एक गाँस खान पनि मुस्किल छ । उहिलेको जस्तो खनीखोस्री गुजारा गर्ने समय पनि रहेन । तर, बाँच्नका लागि केही न केही त गर्नै पर्‍यो भन्ने ठानेर दुधे नानी काखी च्यापेर संघर्ष गरिरहेकी छु ।

घाम चर्किन थालेपछि आइसक्रिमको ठेला लिएर घरबाट निस्किन्छु । काख थाकेपछि छोरीलाई ठेलामाथि राखेर गुडाउँदा मलाई आराम मिल्छ, बच्ची रमाउँछे । बिहानदेखि साँझसम्म यसरी बजार डुल्नु भनेर भावीले लेखिदिएजस्तो लाग्छ । 

दिनभरि महेन्द्रनगर बजारमा आइसक्रिम बेचेर सकेपछि साँझपख कहिले ४/५ त कुनै दिन ७/८ सय हात पर्छ । मेरो घर डडेलधुराको अजयमेरु गाउँपालिका–२, गुनपाल हो । गाउँमा आम्दानीको बाटो केही भएन । खेतीपाती गरे पनि उब्जनी नहुँदा वर्षभरि खान पुग्दैन ।

जहाँ बसोबास छ, त्यहीँ गरिखाने वातावरण नभएपछि दुई वर्षअघि कन्चनपुर झरेका हौं । आउने बित्तिकै यहाँ पनि केही व्यवस्था नभएकाले सुरुमा बसोबासकै समस्या भयो । यताउता डुले पनि केही काम पाइएन । भौंतारिएको देखेपछि गाउँकै चिनेका एक जनाले आइसक्रिम बेच्ने काममा लगाइदिएका हुन् । त्यसपछि आइसक्रिमको ठेला घुमाउँदै बजार डुल्न थालेँ । 

बिहान खानासाना खाएपछि आइसक्रिम बेच्न निस्किने म साँझ परेपछि मात्रै घर फर्किन्छु । हल्का गर्मी चढेकाले भर्खरै यस वर्षको व्यापार सुरु भएको छ । अझै गर्मी चर्किनसकेकाले खासै बिक्री छैन । अहिले त दिनमा सय/दुई सय पनि बचत हुँदैन । सिजनका बेला महिनाको १२ देखि १५ हजार कमाइ हुने भएकाले घरखर्च ठिक्क हुन्छ ।

महिनामा साढे २ हजार कोठा भाडा, ५ हजार रासनपानी, २ हजार ग्यासलाई तिर्नुपर्छ । यसबाहेक छोरीको पढाइखर्च महिनामा ३ हजारजति आउँछ । हिउँदमा काम नचलेका बेलाका लागि भनेर आइसक्रिम उद्योगवालाले उधारोमा रासनपानीको व्यवस्था मिलाइदिएकाले उठिबास नलागेको हो । 

फागुनदेखि कात्तिकसम्म मेरो व्यापार हुने भएकाले हिउँदका चार महिना घरमै बस्छु । यत्तिकै बसेका बेला घरखर्च चलाउन गाह्रो हुन्छ । श्रीमान् पनि आइसक्रिम बनाउने उद्योगमा काम गर्नुहुन्छ । उहाँको महिनाको १५ हजार तलब छ । पहिले त धेरै वर्ष भारतमै मजदुरी गर्नुहुन्थ्यो । उता राम्रो काम नपाएपछि घर फर्किनु भएको हो ।

गुनपाल गाउँमा बुढीसासू हुनुहुन्छ । उहाँका लागि रासनदेखि आवश्यक खर्च सबै यतैबाट पठाउँछौं । दुई जनाको कमाइ अहिले घरखर्च चलाउनै ठिक्क छ । कोही बिरामी भए ऋण काढ्नुपर्ने अवस्था छ । बजारमा कोठा भाडा महँगो भएका कारण गाउँमा कोठा लिएका हौं । डेराबाट हिँडेर महेन्द्रनगर बजार पुग्न आधा घण्टा लाग्छ । 

अहिले जसोतसो कमाइले धानिरहेको छ । भोलि छोरीहरु हुर्केपछि खर्च बढ्दै जाँदा कसरी घर व्यवहार चलाउने होला भन्ने चिन्ता छ । मेरा दुई छोरी छन् । ५ वर्षकी जेठी छोरी भर्खर स्कुल जान थालेकी छे । कान्छी ७ महिनाकी छे । जेठीलाई स्कुल पठाएर कान्छीलाई आफूसँगै बोकेर हिँड्छु ।

अहिलेसम्म ‘दिनभरि करायो दक्षिणा हरायो’ भनेजस्तै भएको छ । अलिअलि बचत गर्न सकेको भए अप्ठेरो पर्दा सजिलो हुन्थ्यो । महँगी बढ्दो छ । आम्दानी पोहोरभन्दा अहिले कम छ । यसले सधैं चिन्ता बढ्दै गएको छ । 

प्रस्तुति : भवानी भट्ट

घरखर्च

कल्पना

Link copied successfully