'४६ वर्षदेखि जुत्ता–चप्पल सिलाए पनि सडकमै'

मुटु रोगी भएकाले गह्रौं काम गर्न नसक्दा घर खर्च जुटाउन जुत्ता–चप्पल सिलाउने काम रोजेँ

फाल्गुन १७, २०८१

रामचन्द्र राममोक्ष

'Even though I have been sewing shoes and sandals for 46 years, they are still on the streets'

मकवानपुर — सप्तरीको तिरहुत गाउँपालिका–८ मा पुर्ख्यौली बसोबास भए पनि गाउँमा आफ्नो नाममा केही छैन । ऐलानीमा टहरो बनाएर बसे पनि जग्गा नापी नहुँदा लालपुर्जा मिलेन । त्यसपछि गाउँ छाडेर परिवारै सदरमुकाम राजविराजमा सरेको थियो ।

बच्चैबाट मुटु रोगी भएकाले गह्रौं भारी बोक्ने काम गर्न सक्दिनँ । हात काप्ने समस्यासँगै शरीर कमजोर भएकाले घरखर्च जुटाउन जुत्ताचप्पल सिलाउने काम रोजेँ । अरुभन्दा सजिलो र बसेर गर्न सकिने भएकाले यही कामलाई पेसा बनाएको हुँ । २०३५ सालबाट राजविराजमा सडक किनारमा बसेर जुत्ता सिलाउन थालको हुँ । २०४२ सालमा बसाइँ सरेर मकवानपुरको हेटौंडा आएँ । ४६ वर्षदेखि जुत्ता–चप्पल सिलाए पनि सडकको सडकमै छु ।

हेटौंडा–९ स्थित औद्योगिक क्षेत्र नजिकै श्रीमती र म डेरामा बसेका छौं । मेरा तीनवटा छोरीको विवाह भइसक्यो । छोरीहरूको बिहेवारी गर्दा तीन लाख रुपैयाँ रिन लागेको छ । त्यो कर्जा चुकाउन पुग्ने आम्दानी छैन । पहिला दिनकै एक हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो । स्थानीय सरकारले जुत्ता–चप्पल सिलाउने ठाउँ परिवर्तन गरिदिएपछि कमाइ घटेको हो । अचेल कुनै दिन एक हजार त कुनै दिन दुई सय पनि कमाइ हुँदैन । 

जुत्ता सिलाएको मूल्य ठ्याक्कै यत्ति नै भन्ने छैन । सिलाइ हेरेर २० रुपैयाँबाट मूल्य सुरु हुन्छ । सोल फर्नुपर्ने भए तीन सय सयसम्म लिने गरेको छु । सामान्य सिलाएको र गम लगाएका बेला ग्राहकले हाँसीखुसी जति दिन्छन् लिन्छु । सबै ग्राहक दयालु हुँदैनन् । केहीले पहिल्यै पैसा फिक्स गरेर मात्र जुत्ता सिलाउन दिन्छन् । ठेगान नभएको कमाइबाट घरखर्च पुर्‍याउन मुस्किल भइरहेका बेला ऋण कसरी तिर्ने भन्ने चिन्ताले नै बौलाउनुजस्तो हुन्छ । 

एउटा कोठाको महिनाको तीन हजार रुपैयाँ भाडा तिर्छु । मासिक दुई हजारका दरले मुटु रोगको औषधि खाइरहेको छु । रासन र चियापानीको गरेर महिनाको १० हजारजति खर्च हुन्छ । दिनभरि काम गरेर डेरामा फर्किने बेला भान्छालाई चाहिने कुरा किनेर बजारबाट फर्किन्छु । महिनामा मुस्किलले एक दिन मासु खाइन्छ । अलि धेरै माछामासु खाने भनेको त्यही चाडपर्वका बेला हो ।

कोठा नजिकैको लघुवित्तबाट लिएको ऋणको किस्ता तिर्न महिनामा १२ हजार चाहिन्छ । त्यही रकम जुटाउने तनावले कुनै दिन रातभर निद्रा लाग्दैन । ऋणको किस्ता लिन महिना मर्नासाथ लघुवित्तका कर्मचारी कोठामै आइपुग्छन् । 

खुरुखुरु व्याज तिरे पनि साँवा धेरै घटाउन सकिरहेको छैन । व्याजमात्र बुझाएर हुन्न भन्दै साँवा घटाउन दबाब दिन्छन् । घरखर्च, ऋण र व्याजको बोझले गर्दा नयाँ लुगा नकिनेको पनि तीन वर्षजति भयो । पुरानै बाक्ला लुगाले यस वर्षको जाडो कट्यो ।

उपमहानगरपालिकाले राप्ती रोडबाट जुत्ता सिलाउनेलाई व्यवस्थित गर्ने भनेर हेटौंडा अस्पतालअगाडि टहरा बनाएर सार्‍यो । त्यसपछि त जुत्ता–चप्पल सिलाउने मान्छे हाम्रोतिर आउनै छाडे । यस विषयमा हामीले नगरपालिका र वडा कार्यालयलाई जानकारी गराउँदा सुनुवाइ भएन । हाम्रो विषयमा कुनै पनि निकाय गम्भीर नहुँदा धेरै दुःख पाइरहेका छौं । 

छोरीहरूले काम नगर्नु बुवा भनेर भन्छन् । शरीरले धानुन्जेल छोरीहरूलाई दुःख दिन मनले मान्दैन । त्यसैले अहिलेसम्म पनि काम गरिरहेको छु । अहिले मुटुको रोग बढेजस्तो लागे पनि खर्च नहुँदा अस्पताल गएको छैन । पहिला ऋण तिर्छु अनि मात्र आफ्नो रोग जचाउँछु भनेर बसेको छु ।

लकडाउनको समयमा औषधि खानसमेत पैसा भएन । त्यतिबेला सप्तरी फर्केर अरुको जग्गा भाडामा लिएर बुढाबुढीले खेती गर्‍यौं । त्यो पनि घाटामा गएपछि हेटौंडा फर्केर जुत्ता सिलाउने कामलाई निरन्तरता दिएँ । लकडाउनमा गाउँबाट फर्केपछि अहिलेसम्म गएको छैन । आफ्नो घरजग्गा नभएकाले जाने सोच पनि छैन । जेजति सकिन्छ, यतै गर्छु । 

प्रस्तुति : सुवास बिडारी

रामचन्द्र राममोक्ष

Link copied successfully