‘एक पोका नुन किन्न पनि वृद्धभत्ता कुर्नुपर्छ’

थोत्रा–पुराना जस्तापाता बटुलबाटुल पारेर बनाएको टहरामा अहिले आनन्दको सास फेर्न पाएको छु

फाल्गुन १८, २०८१

चन्द्रबहादुर श्रेष्ठ

”You have to wait for old-age allowance even to buy a bag of salt”

गोरखा — सहिद लखन गाउँपालिका–७ बुंकोटको चिलौनेस्वाँरामा २००९ सालमा जन्मिएको हुँ । भगवान‍्को लेखा त होला– छोराछोरी जन्मिएनन्, दाजुभाइ पनि छैनन् ।

जंगल छेउ एक्लो घरमा दुःख बिमार परेका बेला हारगुहार गर्दा पनि कसैले नसुन्ने भएपछि गत मंसिर २१ मा कान्छी फुपूका छोराको घर खाब्दीमा सरेको छु । थोत्रा–पुराना जस्तापाता बटुलबाटुल पारेर बनाएको टहरामा अहिले आनन्दको सास फेर्न पाएको छु । 

आफ्नै अनेक व्यथा छन् । बचपनबाटै दाहिने आँखा देख्दिन थिएँ । २०७० सालबाट बायाँ आँखाले पनि देख्न छाडेपछि जीवनसँगै संसारै अँध्यारो भैगो नि ! आँखा ठप्प हुनुअघि ६ रोपनी वन छाडेर बचेको ४ रोपनी पाखोबारीमा खनीखोस्री गर्दै दिन बित्थ्यो । अहिले काम गर्न सक्दिनँ । श्रीमती विलमायाले पालेका तीनटा बाख्रा पनि २०७२ सालतिरै बेचियो ।

सानै छँदा बुवा बितेकाले अनुहारसम्म सम्झना छैन । आमा हुन्जेल भैसी पालेर भए पनि खान पुग्थ्यो । जहिल्यै पैसाको खाँचो हुन्थ्यो । बारीमा फलेको एक किलो चिचिन्डा पनि गोरखा बजार पुर्‍याएर बेचेर नुन र तेल किनेको सम्झना छ । कर्कलो एक मुठा हुने बित्तिकै खानभन्दा बेचे पैसा आउँछ भन्दै बजार पुर्‍याउँथेँ । त्यो बेलादेखिको अभाव र दुःखले मर्ने बेलासम्म छाडेन ।

फुजेलको ढावेबाट पहिलो बिहे गरे पनि श्रीमती तीन वर्षमात्र मसँग बसिन् । आमा बितेपछि एक्लिएको मेरो बिजोग देखेर गाउँलेले घ्याल्चोकबाट फेरि बिहे गराइदिए । दोस्रो बिहे गरेको ३५ वर्षजति भयो । ७० वर्ष पगेकी श्रीमती र मबीच दुई वर्ष अन्तर छ । अहिले यताउति गर्न परे श्रीमतीले नै डोहोर्‍याएर पुर्‍याउँछिन् ।

गत असारमा चिलौनेस्वाँराको घरमा भल पस्यो । घरमा भल पसेपछि सहयोगका लागि हारगुहार गर्दा कसैले सुनेनन् । रातीको बेला छामछुम गर्दै नजिकैको पुरानो घरमा सर्‍यौँ । त्यसपछि एकसरो ओढ्ने–ओछ्याउने र भाँडावर्तन बोकेर खाब्दी भञ्ज्याङमा सरेको हुँ । 

आँखा नदेख्ने भएकाले ९ वर्षअघि अपाङ्गता भत्ताबापत दुई हजार पाउँथेँ । त्यही पैसाले नुन–तेल किन्न पुगेको थियो । एउटा आँखाले देख्ने बेलासम्म निबेक गरेर आएको पैसाले पनि खत्र्याकखुत्रुक किन्न पुग्थ्यो । भूकम्प गएको वर्ष (२०७२ साल) मा अर्को आँखा पनि ठप्प भएपछि निबेक गर्न जान सकिनँ ।

दुई वर्षदेखि वृद्धभत्ता मिलिरहेको छ । त्यही पैसाले ‘चिमोटी, चिमोटी’ खान पुर्‍याएका छौं । नपुगे पनि कसले दिने हो र ! खेती गर्न सकिँदैन । मलाई सुगर र बुढीलाई प्रेसर भएकाले रोज दबाई खानुपर्छ । कहिलकाहीँ त स्वास्थ्य चौकीबाट निःशुल्क दबाई पाइन्छ । त्यहाँ नहुँदा एउटै पातो औषधिलाई एक सय रुपैयाँ तिनुर्पछ । तीन महिनामा एक जनाको १२ हजारका दरले भत्ता आउँछ । 

अहिले चामलको मूल्य बढेर २५ सय बोरा पुग्यो । साँझ–बिहान भातबाहेक मिठो मसिनो खान पनि पैसा हुँदैन । मासु खान मन लागेर के गर्नु ? एक किलोको ५/६ सय तिनुपर्छ । जति लोभ गरे पनि महिनाको ८/१० हजार घरखर्चलाई नभई हुँदैन । अरुको घरमा आश्रय लिएर बस्नु परेकाले नुन, तेल, लसुनदेखि अदुवासम्म किन्नुपर्छ । कहिलेकाहीँ छिमेकीले रोपेको साग चिमोटेर ल्याएर हरियो तरकारी खाने रहर पुर्‍याउँछौं । 

आफूसित बेचबिखन गर्ने कुरो पनि केही नभएकाले भत्ताको पैसा साँचेर तीन महिनालाई पुर्‍याउँछु । अहिले त कानले पनि राम्रोसँग हेक्का पाउन छाडेकाले दुःख छ । पैसा लाग्ने भएकाले कान जँचाउन पनि गएको छैन । पुरानोले लाज छोप्न नसक्ने भएपछि मात्रै नयाँ लुगा किन्छौं । हामीलाई नयाँ पो किन चाहियो र ! आङ ढाक्न पुगे भो ।

पकाएर खाने जाँगर पनि हराएपछि अहिले त जीवनदेखि नै दिक्क लाग्न थालेको छ । तर, के गर्नु ? मर्न काल आउँदैन, त्यसैले जे जस्तो भए पनि सन्तोष नमानी भएन । 

प्रस्तुति : हरिराम उप्रेती

चन्द्रबहादुर श्रेष्ठ

Link copied successfully