बाल्यकाल त मेरो धेरै दुःखमा बितेको हो । दाङ र काठमाडौं गरेर १५ वर्ष कमलरी बसें ।
दाङ — ज्याला मजदुरी गर्दागर्दै ११ वर्षअघि म ख्यालख्यालैमा होटल सञ्चालक भएँ । हरेक दिन काम खोज्दा र गरेको श्रमको ज्याला नपाउँदा वाक्कै भइसकेकी थिएँ । त्यतिबेला बचत गर्ने एउटा समूहको सदस्य भएकी थिएँ । त्यही समूहबाट कर्जा लिएर मैले ५ सय रुपैयाँमा बंगुरको पाठा किनेर पाल्न थालेकी थिएँ ।
हुर्केको पाठा गढवा बजारकै एक होटल व्यवसायीलाई बेचेँ । मासु बिक्री भएपछि पैसा दिउला भनेका साहुले पैसा दिएनन् । पैसा माग्दा माग्दा म हैरान भएँ । एक दिन ती होटल सञ्चालकले भने, 'पैसा दिन सक्दिनँ बरु होटल लैजाउ ।'
होटलबाट मैले पाउनुपर्ने थियो–५ हजार । सञ्चालकले होटलको मूल्य ८२ हजार तोके । मजदुरी गरेर उभो लाग्न सकिन्न भन्ने सोचिरहेका बेला मैले मनमनै आँट जुटाएँ । हुर्किरहेका केही बंगुर र अन्य सामान बेचेर अपुग रकम जुटाएँ । अनि त्यही होटल किनेँ ।
सुरुमा त होटल चलाउने तरिका पनि थाहा थिएन । कस्ता सामान चाहिन्छन् । के–के खानेकुरा बनाएर बेच्ने ? केही थाहा थिएन । बजारको मदिरा सम्बन्धी त झन् ज्ञान नै थिएन । बिस्तारै सबै सिक्दै गएपछि क्षन्यू राप्ती होटल अहिले स्थापित भइसक्यो ।
अहिले म ३५ वर्षकी भएँ । अहिले यही होटलको कमाइबाट घरखर्च धानेकी छु । व्यावसाय सुरु गरेपछि विभिन्न समयमा गरी समूहबाट १ लाख ५० हजार ऋण लिएर त्यसबाट होटललाई आवश्यक सामान जोहो गरेँ । पछि कमाउँदै तिर्दै गएँ ।
म आबद्ध भएको क्रियटिङ पोसिबिलिटिज नेपाल संस्थाले पनि मलाई धेरै सहयोग गरेको छ । यही संस्थाले जेठी छोरीलाई पढाइदियो । त्यसपछि कान्छी बिनुलाई आफैंले पढाउने आँट गरेँ । जेठी छोरी अहिले संस्थाकै सहयोगमा राप्ती प्राविधिक शिक्षालयमा भेटनेरी डिप्लोमा पढिरहेकी छन् । कान्छी छोरी १० कक्षामा पढ्दैछिन् ।
मेरो श्रीमान् कल्टु घर बनाउने मिस्त्रीको काम गर्नुहुन्छ । होटलको काममा देवरले सघाइरहनुभएको छ । मलाई होटल बिक्री गर्ने साहुजी पनि कहिलेकाहीँ चिया–खाजा खान आउनुहुन्छ । चिया–खाजा बिक्री गरेर महिनामा १० देखि १५ हजार बचत हुन्छ । होटल भाडा महिनाको १० हजार छ । बाँकी ५ हजारले घर र कान्छी छोरीको पढाइ खर्च पुर्याउँछु । दैनिक तीनवटा समूहमा बचत गरिरहेको छु । एउटा समूहमा ५ सय, अर्कोमा १ सय र अर्कोमा ५० गरी दैनिक रुपमा ६ सय ५० रुपयाँ बचत गरिरहेकी छु । यो नै मेरो आम्दानीजस्तो भएको छ ।
धेरथोर बचत गरेरै गाउँमा १० कट्ठा जग्गा किन्न सकेँ । दुई तलाको पक्की घर बनाएँ । व्यवसाय गरेपछि जीवन चलाउन धेरै सजिलो भयो । व्यवसायले मेरो अवस्था फेरियो । सुँगुरको पाठाले नै मलाई व्यवसायी बनाएको हो ।
बाल्यकाल त मेरो धेरै दुःखमा बितेको हो । दाङ र काठमाडौं गरेर १५ वर्ष कमलरी बसेँ । ६ वर्ष त काठमाडौं मात्रै कमलरी बसेँ । कमलरी बसेकै बेला मेरो विवाह भयो । विवाहपछि पनि मैले गाउँ आएर अरुको घरमा काम गरेँ । कमलरी बस्दा जीवन कष्टकर थियो । पेटभरि खानसमेत पाइँदैनथ्यो । अर्काको घरमा दिनरात काम गरेबापत केही मिल्थेन । मैले स्कुलमा पाइलासम्म टेक्न पाइनँ । गाउँमा चल्ने प्रौढ कक्षामा जान पाइनँ । पढ्न मन लाग्थ्यो तर परिवारले दिन्थेनन् ।
आर्थिक अभाव, पढाइको कमी र दु:खद् बाल्यकालका बाबजुद पनि जीवन परिवर्तन गर्न सकेकोमा मलाई गर्व लाग्छ । कहिलेकाहीँ आफ्नै जीवन अचम्मको लाग्छ । के–के हन्डर, ठक्कर खाएर अन्तमा व्यवसायी बन्न पुगेँ । व्यावसाय हाम्रो परिवारले कहिल्यै नगरेको काम हो । मेहनत र काममा निरन्तर लागेपछि जुन काममा पनि सफलता मिल्ने रहेछ ।
प्रस्तुति : दुर्गालाल केसी
