‘आत्मनिर्भर भएकाले जीवनमा कष्ट भोग्नुपरेको छैन’

छोराछोरीको भविष्यका लागि आफ्नै घरमा केही काम गरेर आम्दानी गर्ने निधो गरेँ

वैशाख ९, २०८२

प्रेमशिला देवी

”Being self-reliant does not have to suffer in life”

जनकपुर — धनुषाको विदेह नगरपालिकास्थित ठाँढी झिजामा हाम्रो पुर्ख्यौली बसोबास रहेको छ । म भने २० वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका–८ को नमुना बस्तीमा परिवारसहित बसिरहेकी छु । परिवारमा अहिले हामी तीन जना छौं । छोरी सुजिताको बिहे भइसक्यो । छोरा मनीष अहिले लोकसेवाको तयारीमा व्यस्त छ । श्रीमान् शिक्षक भएकाले घरखर्च चलाउन धेरै दुःख छैन ।

अहिले म ५० वर्षकी भएँ । श्रीमान‍्को जागिरको भर परेर बसिनँ । आफैंले पनि सिलाइको काम गरेर धेरथोर कमाइ गरिरहेकी थिएँ । तर, कोरोना महामारीका बेला काम ठप्प भयो । महामारीमा छुटेका ग्राहक त्यसपछि कहिल्यै फर्केनन् । त्यस्तो अवस्थामा पनि हिम्मत हारिनँ ।

छोराछोरीको भविष्यका लागि आफ्नै घरमा केही काम गरेर आम्दानी गर्ने निधो गरेँ । सुरुमा शाकाहारी परिकार बनाएर चार/पाँच ठाउँमा चाख्न दिएपछि धेरैले मन पराउनु भयो । तर, उद्योग दर्ता नभएकाले सामान खरिद गर्न कसैले मानेनन् । त्यसपछि शाकाहारी धनुषा परिकार उद्योग दर्ता गराएर घरमै परिकार तयार गर्न सुरु गरेँ ।

अहिले मेरो उद्योगमा १५ थरीका परिकार उत्पादन हुन्छन् । आँप, कटहर, बड्हर, अम्ला, अम्रा, कागती र तिलको अचार बनाउँछु । अदौरी, तिलौरी, कुम्हरौरी, बिरिया, तिसयौरी र आलु चिप्स पनि बनाउँछु । अहिले उत्पादन गरेका परिकार जनकपुरधामकै डिपार्टमेन्ट स्टोरमा खपत भइरहेका छन् । स्टोर सञ्चालकले नगद हातमा थमाउँछन् । सबै सामानको मूल्य निर्धारण गरेको छु । 

अदौरी, तिलौरी र तिसयौरी दुई सय ग्रामको प्याकेट हुन्छ । अदौरी १ सय १० मा, तिसयौरी पनि सोही मूल्यमा र तिलौरी ८० रुपैयाँमा बिक्री हुन्छ । सय ग्राम बिरिया १ सय ६०, आलु चिप्स एक प्याकेटको ९० र कुम्हरौरी १ सय ३० रुपैयाँमा बिक्री हुन्छ । ४ सय ५० ग्राम आँप, अम्रा, रुखिया र कागतीको अचार २ सय ५० मा र बड्हर ३ सय ४० रुपैयाँमा बिक्री गर्छु । 

अहिले दुई जना महिलालाई रोजगारी दिएकी छु । तर, यो व्यापार सिजनअनुसार चल्छ । यसले घरखर्चका लागि सहयोग पुगेको छ । सबै खर्च कटाएर वार्षिक एक लाख बचत हुन्छ । श्रीमान् पनि मावि शिक्षक हुनुहुन्छ । उहाँको पैसा बचत गरिरहेका छौं । यसले छोरालाई आत्मनिर्भर बनाउन सहयोग हुन्छ । 

छोराको लोकसेवा तयारी कक्षाको मासिक ५/६ हजार खर्च छ । भडामा बस्दा अलि बढी खर्च हुन्थ्यो । औषधि उपचारमा वर्षमा २५/३० हजारजति खर्च होला । कपडालाई वार्षिक २० हजार लाग्छ । सानो परिवार भएकाले लुगाफाटोमा धेरै खर्च छैन । पर्वका बेला किनेका कपडाले वर्षभरि लगाउन पुग्छ । आत्मनिर्भर बनेकाले जीवनमा कठिन परस्थिति धेरै आएनन् ।

घरमा सबै जना शाकाहारी हुनुहुन्छ । फुर्सद भएका दिन भजन, कीर्तनमा जान्छु । २० वर्षदेखि मनको शान्तिका लागि सत्संग जाने गरेकी छु । सत्संग पुग्दा मनका सबै पीडा भुल्छु, हलुको हुन्छ । त्यहाँ दान, पुण्य र सेवा गर्ने अवसर पनि मिल्छ ।

प्रस्तुति : कमलेश ठाकुर 

प्रेमशिला

Link copied successfully