चामल किनेर खाइसक्नु छैन, २५ किलोकै ३ हजार पर्छ
संखुवासभा — पितापुर्खाको थातथलोमा जति श्रम गरे पनि खानलाउन पुग्दैन । भीरपाखामा खोरिया फाँडेर उब्जनी गर्नुपर्ने बाध्यता छ । गाउँमा ६ महिना सहकाल, ६ महिना अनिकाल हुन्छ । अन्नपात नभएका बेला कि कन्दमूल खानुपर्छ, होइन भने जिल्ला बाहिरबाट किनेर खानुपर्छ । यातायातको सुविधा नपुगेकाले कतिपय मानिसले बोकेर ल्याएको अन्नले कति दिन निर्वाह गर्ने भनेर गाउँ नै छाडे ।
संखुवासभाको भोटखोला गाउँपालिका–३ हुङगुङ मूलगाउँ घर हो । आनन्दी मनले एक छाक खान मिल्छ कि भनेर सदरमुकाम खाँदबारी झरेको पनि १० वर्ष भयो । गाउँबाट पैदल यहाँ आउन ३ दिन लाग्छ । अहिले ४५ वर्षको भएँ । आफ्नै छायासरि दुःखले पछ्याइरहेको छ ।
पहिले पनि बिरामी परियो भने उपचारका लागि सदरमुकामै आउनुपर्थ्यो । अलिकति जडीबुटी बोकेर गुजाराका लागि गाउँ छाडेको थिएँ । छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिन पनि यहीँ बसोबास गरेँ ।
सदरमुकामको पोखरीमा बसेर जडीबुटी व्यापार गर्न थालेँ । अहिले पनि त्यही कारोबारबाट घरखर्च चलिरहेको छ । जडीबुटी व्यापारले खर्च धान्न मुस्किल भएपछि अहिले फलफूल पनि बिक्री गर्न थालेको छु । श्रीमतीले यहीँ व्यवसायमा सघाइरहेकी छन् ।
कमाइको ठेगान त हुँदैन । त्यही दिनमा १ हजारदेखि २५ सयसम्मको व्यापार हुन्छ । एउटा कोठाको महिना मरेका दिन ६ हजार भाडा तिर्नुपर्छ । दिनभरि सामान पसलभरि फिजाएर बस्छु । फलफूल होलसेल व्यापारीसँग किन्न पर्छ । बिक्री नहुँदा आधाभन्दा बढी कुहिएर खेर जान्छन् ।
मेरै लागि गाउँको घर बिरानो भइसक्यो । अहिले घरछेउछाउ बाटो निर्माण भएको सुनेको छु । अझै यातायात सञ्चालनमा आएको छैन । स्वास्थ्य, सडक र शिक्षा गतिलो नहुँदा समस्या छ ।
दुई छोरा सरकारी विद्यालयमा पढिरहेका छन् । मैले पनि एसएलसी उर्त्तीण गरेको छु । गच्छेअनुसार काम नपाएपछि व्यापार गर्नुको विकल्प भएन । धेरथोर कमाइले पहिलेको भन्दा फलफूल र जडीबुटी बढाएको छु ।
२०७३ सालमा पैसा कमाउन भनेर एकपटक कतार गएको थिएँ । त्यसबेला झण्डै २ लाख खर्च भयो । त्यहाँ खानुसम्म हन्डर खाएर एक वर्षमा गएको खर्च उकासेर घर फर्किएँ । एउटा छोरो काठमाडौंमा पब्लिक हेल्थमा स्नातक गर्दै छ । उसका लागि महिनामा २५ हजार पठाउनु पर्छ ।
सानो छोरा आईटी पढ्छ, तर, उसले कमाउँदै खर्च गर्छ, उसका लागि अहिले मैले खर्च गर्नु परेको छैन ।
विदेशको दुःख सहेपछि आफ्नै गाउँठाउँमा केही गरौं भनेर व्यवसाय सुरु गरेको हुँ । बुबाआमा म सानै छँदा बित्नुभयो । मैले पनि कलिलै उमेरमा विवाह गरेँ । घर व्यवहार सम्हाल्न परेपछि पढ्न पाइएन । छोराहरूलाई दुःख गरेरै भए पनि उनीहरूले भनेजति पढाउने धोको छ ।
खाँदबारीमा दैनिक जीवन चलाउन मलाई महिनाको १५ हजारभन्दा बढी लाग्छ । चामल किनेर खाइसक्नु छैन, २५ किलोको एक बोरा चामलको कम्तीमा ३ हजारसम्म पर्छ । नुन किलोको ३० रुपैयाँ छ, तेल, मरमसला पनि महँगो छ, यसमा पनि खर्च ठूलो छ ।
माछा, मासु पनि खान मन लाग्छ । त्यो सबै जोड्दा १५ हजारले महिनामा पुग्दैन । जडीबुटी र चौरीको पुच्छर बिक्री गर्दा अलि फाइदा हुन्छ । फलफूल बिक्री गर्दा त्यही किलोमा १५ देखि २० रुपैयाँ कमाइ हुन्छ । मन्दीले गर्दा खासै व्यापार छैन । दिनभरि ग्राहक पर्खिनुपर्छ ।
भोटखोलाबाट जडीबुटी ल्याउनुपर्छ । अरुसँग किन्नुपर्दा धेरै पैसा खर्च हुन्छ । त्यसैले भोटखोलाको जंगलमा गएर खोजेर ल्याउनुपर्छ । जडीबुटी सङ्कलन गर्नेले पनि आफ्नो श्रमको मोल महँगो नै लिन्छन् । तर, ग्राहक सस्तो मोलमा जडीबुटी खोज्छन् । मेरो पसलमा धुपी, पदमचाल, पाखनबेद, बिखुम्मा लगायतका जडीबुटी पाइन्छ । एकबारको जिन्दगी दुःखले भए पनि बितिरहेकै छ ।
ठूलो लक्ष्य त केही पनि छैन । अलिकति पैसा बचाएर एउटा घर बनाउने धोको छ । खाँदबारीको सुनडाँडामा तीन लाख हालेर ७ वर्षअघि सानो घडेरी किनेको छु । अहिले त्यही घडेरीमा जस्तापाताले बार लगाएको छु ।
प्रस्तुति : दीपेन्द्र शाक्य
