‘भाडा तिर्ने समस्याले एउटै कोठामा ६ जना बस्छौं’

संयुक्त परिवारबाट सासू, ससुरा, जेठाजु–जेठानी अलग्गिएसँगै तीन वर्षअघि उपचार गर्न म पनि सुर्खेत झरेँ

वैशाख ६, २०८२

सोभना परियार

”6 people live in one room due to the problem of paying rent”

सुर्खेत — जुम्लाको हिमा गाउँपालिका–१ को सिजा उपत्यकाबाट घरखर्चको जोहोका लागि पाँच वर्षअघि श्रीमान् सुर्खेतको वीरेन्द्रनगर झरे । धन्न गाडी चलाउने सीप थियो । यहाँ आएर निजी स्कुलको गाडी चलाएबापत महिनाको ६ हजारजति तलब बुझ्थे । त्यति पैसाले कोठा भाडा र दुई छाक खान टुपुक्क हुन्थ्यो । कहिलेकाहीँ बचेको पैसा घरमा पठाउँदा औषधिमूलो गर्न सहयोग पुग्थ्यो ।

संयुक्त परिवारबाट सासू, ससुरा, जेठाजु–जेठानी अलग्गिएसँगै तीन वर्षअघि म पनि उपचार गर्न सुर्खेत आएँ । अनि छोरालाई यहीँको विद्यालयमा भर्ना गर्‍यौं । अहिले तीन छोराछोरी, आमा र हामी श्रीमान् श्रीमती सँगै बस्छौं । वीरेन्द्रनगरको इत्राममा एउटा कोठा र भान्छा भाडामा लिएका छौं ।  

अहिले ३१ वर्षकी भएँ । श्रीमान‍्को कमाइले कोठा भाडा र खान–लाउन समस्या हुन थालेपछि तीन वर्षदेखि सडक किनारमा मकै पोलेर बिक्री गरिरहेकी छु । सिंजामा पर्याप्त जग्गा–जमिन छैन । एउटा घर सबैलाई भाग लगाउँदा हामीलाई एउटा कोठा परेको छ । मेलापात गरेर खान नपुग्ने भएकाले विकल्प खोज्दै यहाँ आयौं । यहाँ पनि दुःख नगरे एक छाक खान मिल्दैन । आफूसित कुनै सीप छैन । त्यसैले त कतै रोजगार पनि पाइँदैन । 

चितवन र बर्दियाबाट व्यापारीले यहाँसम्म ल्याएको मकै किनेर दिनमा सरदर ४० देखि ५० घोगा पोलेर बिक्री गर्छु । साउन र भदौ महिनामा भने ६० देखि ८० घोगासम्म बेच्छु । हरियो मकै खरिद गर्दा एउटा घोगाको २२ देखि २५ रुपैयाँ छ । 

प्रत्येक साल चैतदेखि असोजसम्म मकै बेच्छु । एउटा घोगाको कहिले ३० त कहिले ३५ रुपैयाँ पाइन्छ । मकै बेचेर कहिले दिनमा ३–४ सयसम्म कमाइ हुन्छ । कहिले १ देखि २ सय आम्दानी हुन्छ । कहिलेकाहीँ त घाटा लाग्छ । 

अलिकति कमाएको पनि दाल, तरकारी, चामल, नुन, तेल किन्दै ठिक्क हुन्छ । कमाइ नभएका बेला भान्छा रित्तै हुन्छ । श्रीमान‍्को तलब बढेर अहिले महिनाको १५ हजार पुगेको छ । त्यसले केही भरथेग हुन्छ । एउटा सहकारीमा दिनको ५० देखि १ सय रुपैयाँसम्म बचत गर्ने गरेकी छु । हामीलाई एक लाख ऋण लागेको छ । श्रीमान‍्ले तलब बुझेर महिनाको ६ हजार किस्ता बुझाउनुहुन्छ ।

दुई छोरा र एक छोरी श्रीमान‍्ले गाडी चलाउने स्कुलमा पढ्छन् । जेठो ४, माइलो २ कक्षा र छोरीलाई भर्खरै भर्ना गरेका छौं । छोराछोरीको फिसबापत महिनाको ५ हजार श्रीमान‍्को तलबबाट स्कुलले काट्छ । ३ हजार कोठा भाडा तिर्छौं । महिनामा श्रीमान‍्को हातमा पर्ने त्यहीँ १ हजार रुपैयाँ हो । त्यसैले पनि घरखर्च मैले जुटाउनु पर्छ । 

महिनामा दाल, तरकारी, तेलमै ८ देखि ९ हजार खर्च भैहाल्छ । दुई महिनामा एउटा ग्यास सिलिन्डर किन्दा २ हजार खर्च लाग्छ । बिहान–साँझ, दिउँसो गरेर ६ हजारजति खाजा खर्च लाग्छ । मेरो शरीर कमजोर छ । केही दिनअघि मात्र अस्पताल भर्ना भएकी थिएँ । प्रेसर घटेर वान्ता भएपछि उपचार गर्दा ११ हजार खर्च भयो । १५/१६ दिनमा एकपटक मासु खान्छौं । वर्षको १ देखि २ जोरसम्म कपडा किन्छौं । सधैं मासु खाने र कपडा किन्ने रहर मार्नुपर्छ । 

एकै कोठामा कोच्चिएर ६ जना बस्नुपर्छ । पैसा अपुग हुँदा एउटा थप कोठा चाहिएर पनि भाडामा लिन सकेका छैनौं । कतै जग्गा किनेर छाप्रो हालेर बस्न पाए पनि हुन्छ जस्तो लागिरहन्छ । यही कुरा सधैं खड्किरहन्छ । बच्चाहरूलाई मिठो-मसिनो खुवाउन र राम्रोसित पढाउन सके हुन्थ्यो । 

प्रस्तुति : तृप्ति शाही

सोभना परियार

Link copied successfully