गुजारा चलाउन धनगढी बजारमा भाडाको कोठामा श्रीमान्, छोराछोरी र म बसिरहेका छौं
कैलाली — म अहिले ३६ वर्षकी भएँ । मेरो पुर्ख्यौली घर बैतडी हो । गुजारा चलाउन भनेर धनगढी आएको पनि नौ वर्ष भइसक्यो । अहिले धनगढी बजारमा भाडाको कोठामा श्रीमान्, छोराछोरी र म बस्छौं । परिवारको आर्थिक अवस्था कहिल्यै राम्रो भएन । गरिखानलाई गाउँमा केही छैन । सहरमा हातपाउ नखियाई खानै पुग्दैन । हुँदा खानेका लागि गाउँ र सहर एकै हुने रहेछन् ।
श्रीमान्–श्रीमती नै काम गरौंला, बालबच्चा राम्रो स्कुलमा पढाउँला भनेर धनगढी आएका थियौं । यहाँ आएपछि सोचेजस्तो कहाँ भयो र ! न श्रीमानले काम पाए, न त मैले नै । अहिले बजारमा भौंतारिएर ज्याला मजदुरीको काम खोज्छौं । कहिले होटलका भाँडा माझेर छाक जोहो गर्छौं । कहिलेकाहीँ मजदुरी मिल्छ । तर यही काम भन्ने छैन । जतिबला जुन काम पायो, त्यही गर्छौं ।
दुवैले महिनाभरि काम गरेर १८/२० हजार कमाउँछौं । पाँच हजार कोठा भाडा तिर्नुपर्छ । पानी र बत्तीको बिल अलग्गै तिर्नु पर्छ । दाल, चामल, नुन, तेल, तरकारी सबै किन्नु पर्छ । १५/१६ हजार त त्यसै खर्च हुन्छ । बचेको ३/४ हजार बचत गरौं भन्ने सोच्छु । तर हुँदैन । कहिले के पर्छ, कहिले के ! अहिलेसम्म सुको पैसा बचत छैन ।
सबैभन्दा बढी खर्च खानामा हुन्छ । त्यसको पैसा घटाउन सके अलि बचत गर्न सकिन्छ कि भन्ने लाग्छ । तर अन्न उब्जाउने जमिन छैन । अरूको जमिन भाडामा लिन सक्ने क्षमता छैन । पहिला १ हजार ५० मा किन्ने मोटा चामलको मूल्य १७ सय पुगिसक्यो । महँगीले मारेको छ ।
१६ वर्षकी छोरी १० कक्षामा पढ्छे । उसको महिनाको चार सय रुपैयाँ फिस तिर्नुपर्छ । १३ वर्षको छोरा पनि सात कक्षामा पढ्छ । उसको दुई सय रुपैयाँ फिस तिरिरहेका छौं । सामुदायिक स्कुल भएकाले सस्तो छ । बोर्डिङ स्कुल पढाउने रहर त थियो तर बस्न–खानै गाह्रो भयो । आफूले पढ्न नसके पनि छोराछोरी पढेर ठूलो मान्छे भएको हेर्न चाहन्छौं । छोरीले जस्तो अवस्था भए पनि पढाइ छोड्दिन भन्दा खुसी लाग्छ । मन भए पनि छोराले पढाइ छोडेर काम गर्छु भन्दा खिन्न हुन्छु ।
अहिले गर्मीको सिजन सुरु भएपछि श्रीमान् र मैले आइसक्रिम बेच्न सुरु गरेका छौं । बिहान फ्याक्ट्रीबाट ल्याउनु पर्छ । दिनभरि बजार डुलेर एउटा आइसक्रिम बेचेबापत ३ रुपियाँ नाफा पाउँछौं । १ सय गोटा आइसक्रिम बेचेपछि बल्ल ३ सय रुपैयाँ पाइन्छ । दिनभरि घाममा वरपर गरेर सय गोटा आइसक्रिम बेच्न पनि हम्मे हुन्छ । कहिले त ५०–६० गोटा पनि बिक्री हुँदैन ।
एक दिन दुवै जनाले २ हजार रुपैयाँको आइसक्रिम बेचेका थियौं । ६ सय रुपैयाँ हामीले पायौं । त्यस दिन धेरै खुसी भयौं । साँझ मासु लगेर घर गयौं । परिवारै बसेर रमेर मासु–भात खाएको दिन कम्ता खुसी लागेन ।
अचेल यही आइसक्रिम बेचेर घरखर्च चलाइरहेका छौं । गएको बिहीबार दुवैको मिलाएर सात सयको आइसक्रिम बेचेका थियौं । साँझ ५ सय फ्याक्ट्रीमा बुझायौँ, दुई सय हामीले पायौं । ढुक्कले यही आइसक्रिम पनि बेच्न पाइँदैन । नगरपालिकाको डरले लुकी लुकी बेच्नु पर्छ । नगर प्रहरीले थाहा पायो कि सबै आइसक्रिम लगेर नगरपालिका भित्र राखिदिन्छन् । दिनभरि दुई सय कमाइ हुँदैन । साँझपख समान छुट्याउन ६ सय रुपैयाँ लाग्छ । पोहोर साल धनगढी नगरपालिकाले आइसक्रिमको डब्बा नै लग्दिएपछि ३ दिनमा ६ सय तिरेर छुटाएका थियौं ।
सबैभन्दा बढी चिन्ता छोराछोरी बिरामी पर्छन् कि भनेर लाग्छ । राम्रो अस्पताल लगेर जाँच गराउन सकिँदैन । केही भैहाल्यो भने प्राइभेटमा लग्न सकिँदैन । सरकारीमा पनि गरिबले छुट पाउँछन्, निःशुल्क उपचार हुन्छ भन्छन् । खै हामीले त सधैं पैसा तिर्नु पर्छ । सरकारले बिरामीको निःशुल्क उपचार गराइदिने भए त कति राम्रो हुन्थ्यो !
पहाडबाट मेरो नातागोता सबै तराई आइसके । अहिले बसाइँ सरेर नआएकाहरूले पनि यतै घरजग्गा जोडेर राखेका छन् । यहाँ घर नहुने मेरो गाउँको म मात्रै हो । पैसा कमाएपछि तराईमा घरबास जोड्ने ठूलो इच्छा छ । सकिन्छ कि सकिँदैन कुन्नि ! तर आश मरेको छैन । हामीले नसके पनि छोराले आफ्ना पालामा त बनाउला नि !
प्रस्तुति : रञ्जना बीसी
