‘बच्चाहरूको पढाइसँगै स्वास्थ्य उपचारमा धेरै खर्च हुन्छ’

घर–परिवार चलाउन चाहिने खर्च हामीसित हुँदैन

वैशाख ५, २०८२

मनकुमारी गजमेर

”A lot is spent on health care along with children's education”

तेह्रथुम — तेह्रथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुर नजिकै हाम्रो सानो झुप्रो छ । झुप्रो भए पनि मेरा लागि त्यही दरबार हो । चार कोठाको कच्ची झुपडीमा पहिले हामी परिवारका ६ जना बस्थ्यौं । अहिले छोरा विदेश गएको छ । जेठो नाति पनि पढाइका सिलसिलामा मधेशतिर झरिसक्यो । त्यसैले घरमा अहिले चार जनामात्र छौं ।

घर छ, परिवार छ, त्यही घर–परिवार चलाउन चाहिने खर्च हामीसित हुँदैन । त्यसैले गुजाराका लागि श्रीमान् र मैले सानो पसल गरेका छौं । त्यहीबाट चटपटे, पानी पुरीलगायत खत्र्याकखुत्रुक बिक्री गरेर गुजारा चलाइरहेका छौं । ठूलो पसल चलाउन लगानी धेरै चाहिन्छ । हामीसँग त्यत्रो लगानी छैन । त्यही भएर बिहान खरिद गरेर सामान ल्याउने, दिउँसो बिक्री गर्ने गर्छौं । यसरी दिनभरि ग्राहक रुँगेर बेलुका जति आम्दानी हात पर्छ, त्यसैले घरखर्च चलाउँछौं । 

अहिले पसलबाट महिनामा सरदर १५ देखि २० हजार आम्दानी भइरहेको छ । आम्दानी र खर्च बराबरै हुन्छ । त्यसै बसेर दिन कटाउनुभन्दा चटपटे, पानी पुरीको बिक्रीबाट जेनतेन खर्च चलेको छ । पसलको सरजाम जुटाउन ५ हजारजति खर्च लाग्छ । भनेजस्तो व्यापार भए ५ हजार लगानी गर्दार् १५ हजारसम्म कमाइ हुन्छ । व्यापार नहुँदा त कहिलेकाहीँ लगानी उठाउनै हम्मे पर्छ । छोराले विदेशबाट महिनामा १० हजारजति पठाइदिन्छ । त्यो पैसा दुःख–बिराम परेका बेला काम लाग्छ । फेरि नाति–नातिनाको पढाइ खर्च पनि धान्नु पर्‍यो ।

नातिको पढाइ खर्च धेरै छ । महिनामा ५ हजारको बिल मात्रै तिर्नुपर्छ । किताब, पोसाक र अन्य खर्च पनि थप्दा १० हजारजति पुग्छ । नातिनीको १ हजारजति महिनाको बिल आउँछ । उसलाई पनि किताब, पोसाक लगायतमा थप खर्च हुन्छ । बुहारी गृहिणी हुन् । उनको कमाइ छैन । 

अहिले म ५५ वर्षकी भएँ । यता घरमा हामी बूढाबूढीसँगै दुइ नातिनी छन् । नानीहरूको पढाइमा धेरै खर्च हुन्छ । जेठो नाति इटहरी आफन्तकोमा बसेर ११ कक्षामा पढिरहेको छ । नातिनी भर्खरै बोर्डिङ स्कुलमा १ कक्षामा पुगेकी छन् । हाम्रो स्वास्थ्य गडबड भइरहन्छ । नानीहरू पनि बिरामी पर्छन् । अहिले बच्चाहरूको पढाइसँगै स्वास्थ्य उपचारमा पनि खर्च भइरहेको छ । पढ्ने भनेपछि किताब, कापी, कलम, पोसाक र खानपिनमा बढी खर्च हुन्छ । 

कहिलेकाहीं मिठोमसिनो खान मन लाग्छ । मनले मागेका दिन आफूसित पैसा हुँदैन । त्यस्तो बेला मन मारेर बस्नु पर्छ । चाडपर्वमा एकसरो नयाँ लुगा फेर्छौं । यता पहाडमा जाडो भएकाले तातो कपडाकै जोहो बढी गर्छौं । अर्को वर्षबाट श्रीमान् वेगबहादुरले पनि वृद्धभत्ता पाउने उमेर पुग्दैछ । त्यस्तो भत्ताले थोरै राहत मिल्ला कि ! 

श्रीमान् पहिला टीभी, रेडियो र घडी बनाउने मेकानिक हुनुहुन्थ्यो । अहिले त्यो पेसा नै संकटमा पर्‍यो । टीभी, रेडियो र घडीलाई मोबाइलले खर्लप्पै खाइदियो । मेरा श्रीमानको पेसा पनि खोसियो । अहिले उहाँले पनि मलाई सघाउनु हुन्छ । कमाइ थोरै छ । समस्या धेरै छन् । नानीहरूको पढाइको खर्चचाहिँ घटाउन पाए हुन्थ्यो भन्ने लाग्छ । तर, निजी बोर्डिङ र कलेजको पढाइ महँगो हुने नै भयो । हरेक दिन खर्च कम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर, बजारमा सस्तो कुरा के नै मिल्छ र ? महँगीले हामी गरिब, दुःखीलाई त बर्बादै पारेको छ । 

फजुल खर्च गर्नका लागि हामीसित पैसा नै हुन्न । कहिलेकाहीँ त दुःखको भिरालो यात्रा सम्झेर धेरै पीडा हुन्छ । छोराछोरी, नाति–नातिनाको भविष्यको चिन्ताले सताउँछन् । त्यो पीडा कसलाई सुनाउने त ? दुःख–सुखको सहारा श्रीमान्बाहेक अरु कोही छैन ।

प्रस्तुति : पर्वत पोर्तेल

मनकुमारी

Link copied successfully