रामशाह माविमा एक कक्षामा भर्ना हुने बेलासम्म शरीरमा चारवटा गाँठा थिए । आठ कक्षा पुग्दा त शरीरको आधाआधी ढाकियो
गोरखा — गोरखा नगरपालिका–१३, पुरनडी देउरालीमा जन्मिएको हुँ । नागरिकता अनुसार म ४४ वर्षको भएँ । जन्मिएको दिनको हिसाब गर्ने हो भने ५१ वर्षको लागेँ । कस्तो कर्म लिएर जन्मिएँछु कुन्नि ! शरीरभरि गाँठागुठीले ढाकेका छन् ।
जन्मिँदा ढाडमा दुईवटा मसिना गाँठा थियो रे ! रामशाह माविमा एक कक्षामा भर्ना हुने बेलासम्म चारवटा पुगेछन् । आमाबुवाका अनुसार आठ कक्षा पुग्दा त शरीरको आधाआधी ढाकियो ।
पढ्ने रहर त थियो । गाँठागुँठी बढेपछि कक्षामा साथीले घृणा गर्न थाले । बस्ने ठाउँसम्म नदिने गरेपछि आठ कक्षामै स्कुल छाडिदिएँ । उमेरसँगै गाँठगुँठी पनि बढ्दै गए । ३०–३२ वर्षको हुँदा त शरीर ढाकिसकेको थियो । डाक्टरलाई देखाउँदा खुन (रगत) बिग्रिएको हो भन्नुभयो ।
शल्यक्रिया गरेर निको हुन्छ कि भनेर साथीभाइले सहयोग अभियान पनि चलाए । आठ वर्षअघि केही गाँठागुँठीको अप्रेसन पनि गराएँ । त्यतिबेला जापानबाट १ लाख २२ हजार रुपैयाँ सहयोग मिलेको थियो । अप्रेसन गरेको ठाउँमा अहिले अलिअलि गाँठा पलाएका छन् । तर गाँठा फाल्न पैसा पुगेन ।
गाँठागुँठीले मलाई असह्य पीडा दिन्छन् । केही दिनयता पाकेर पिप जम्न थालेको छ । शरीरको अगाडिपट्टि भएका गाँठा निचोरेर आफैँ पिप निकाल्छु । पछाडिपट्टिको भागको निकाल्न सकेको छैन ।
दायाँ फर्किएर सुत्दा पनि घाउ दुख्छ । बायाँ फर्किंदा पनि त्यस्तै पीडा हुन्छ । उत्तानो पर्दा पनि उही त हो । रातभरि ऐयाऐया भन्दै जागै बस्ने गरेको छु । यसबाहेक नियमित औषधि खानुपर्ने रोग त छैन । केही दिनयता फेरि पायल्सको समस्या देखिएको छ । अपाङ्गता भएको कार्ड लिएर गएपछि सित्तैमा पायल्सको औषधि पाएँ । अस्पताल भर्ना भएर उपचार गर्न पैसा छैन ।
चिनेको मान्छेले दुई–चार पैसा सहयोग र तिउन तरकारी पनि दिन्छन् । नचिनेकाले त छिछि दूरदूर गर्छन् । मेलापात गरेर खान पनि नसक्ने स्थितिमा छु । बाबा बितेको १५ र आमा बितेको १४ वर्ष भयो । दाइ पनि दुई वर्षअघि क्यान्सर रोगले बित्नुभयो । एक जना दिदी विवाह गरेर धरानतिर हुनुहुन्छ ।
भतिजो र भाउजू आफ्नै सुरमा हुनुहुन्छ । अहिले म एक्लै बस्छु । आमाको नामको चार रोपनी पाखोबारी मेरो भागमा परे पनि आफ्नो नाममा छैन । डेड वर्षअघिसम्म राजदेवी स्कुलमा सहयोगीको काम गर्थें । १ हजार ३ सय तलब आउँथ्यो । अहिले जागिर पनि छाडेँ ।
‘ख’ वर्गको अपाङ्गता कार्ड बनाएको आठ वर्ष भयो । पहिले त पाँच सय आउँथ्यो, अहिले महिनामा दुई हजार भत्ता आउँछ । त्यसैबाट खाने, लाउने, उपचार गर्ने हो । २५ किलो चामलालाई २२ सय पर्छ । एक बोरा चामलले डेढ महिना पुर्याउँछु । नुन, तेल उधारोमा ल्याउँछु ।
प्रत्येक तीन महिनामा भत्ताको ६ हजार आएपछि एकैचोटि तिर्दा रासन–पानीको पैसा पनि पुग्दैन । अनि फेरि बाँकी राख्छु । जसै गरे पनि महिनामा ८–१० हजार घर खर्च हुँदो रहेछ । आउने बाटोघाटो अरू केही छैन । ग्यास सकिए किन्नै २२ सय लाग्छ । डेढ सय रुपैयाँ त बोक्नेलाई ज्याला दिनुपर्यो । खर्च कसरी टरिरहेको छ, आफैं अलमलमा छु । तर मेरो यस्तो अवस्था देखेर कसै कसैले त सहयोग पनि गर्छन् ।
तिउन–तरकारी मागेर पनि खान्छु । कति रात त चामल नभएर भोकै पनि सुतेको छु । दसैं र तिहार आउँछ, म एक्लो मान्छे चाडपर्वमा झनै नरमाइलो लाग्छ । चाडपर्वको मुखमा अलिअलि सहयोग गर्न मान्छे आउँछन् । चाडपर्वमा नयाँ लुगा किन्ने भन्ने छैन । यही लुगा पुरानो भएपछि अर्को फेर्छु ।
घरमा आमाबुवा छँदैका भाडाँकुडा छन्, ओढ्ने ओछ्याउने पनि छन्, त्यही प्रयोग गरिरहेको छु । बुवाआमा हुँदा सजिलै थियो । अहिले मेरो कोही छैन जस्तो लाग्छ । आफ्नो जिन्दगी सम्झदा आफैंलाई विरक्त लाग्छ ।
प्रस्तुति : हरिराम उप्रेती
