‘पैसाका लागि शरीर र मनको चोट सहेरै मकै पोल्छु’

थोरै लगानीले पुग्ने भएकाले दुःखम‍्सुखम् मकै पोलेरै घरखर्च चलाइरहेकी छु

चैत्र ३०, २०८१

डोल्मा तामाङ

”For money, I will burn corn for the sake of my body and mind”

काभ्रे — बनेपा नगरपालिकाको तरकारी बजारमा मकै पोलेर गुजारा चलाएको १६ वर्ष भइसक्यो । यसबाहेक अरु व्यापार गर्न सकिएन । थोरै लगानी हुने भएकाले दुःखम‍्सुखम् यही काम गरिरहेकी छु । मकै पोलेरै आमाछोरीको घरखर्च टारेकी छु ।

अहिले ५७ वर्षकी भएँ । बुढ्यौलीले होला, पहिलेजस्तो काम गर्न पनि सक्दिनँ । पहिले तन्दुरुस्त हुँदा जस्तो कहाँ पो हुन्छ र ! मेरो त शरीर, मन जताततै चोट नै चोट छन् । दाहिने हात, खुट्टा र कम्मरमा समस्या भएकाले ठेला धकेल्ने हिम्मत पनि हुँदैन । २० वर्षकी कान्छी छोरीले साथ दिएकाले व्यापार गर्न सकेकी छु । 

जेठी छोरी विवाह गरेर कोरिया गएकी छन् । बिहान पढाइ सकेर छोरी फर्किएपछि आमाछोरी व्यापार गर्न निस्कन्छौं । दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म काम गर्न गाह्रो हुन्छ । बनेपाको गणेशस्थानभन्दा टाढा जाँदैनौं । त्यहीँ पनि कहिलेकाहीँ नगरपालिकाले व्यापार गर्न दिँदैन ।

बनेपाकै एक जना दाइले काठमाडौंको कालीमाटीबाट मकै किनेर ल्याइदिने भएकाले पोल्न सजिलो भएको छ । दाउरा चाहिँ नजिकैको फर्निचर पसलबाट खरिद गर्छुर् । अहिले १ हजारमा ६० घोगा मकै आउँछन् । त्यसमा पनि ५०/५५ वटा मात्रै राम्रा हुन्छन् । २ सय रुपैयाँको दाउरा किन्दा दिनको लगानी नै १२ सय पुग्छ । ठूलो घोगा ३५ र सानो चाहिँ ३० रुपैयाँमा बेच्छु । दिनभरमा कहिले ४० त कहिले ५० वटा मकै बिक्री हुन्छ । 

सबै मकै बिक्री भएका दिन १५/१६ सयसम्म कमाइ हुन्छ । चर्को घाम लागेको दिन मकै बिक्दैन । शीतल दिनमा राम्रो व्यापार हुन्छ । खर्च काटेर दिनमा ३/४ सय रुपैयाँ बचत हुन्छ । अचाक्ली महँगी छ । चामल, नुन, मसला, तिउन–तरकारी किन्नैपर्‍यो । महिनाको ४ हजार कोठा भाडा छ । महिनाको २४ सय छोरीको विद्यालय शुल्क छ । 

आफूले पढ्न नपाए पनि छोरीलाई धेरै पढाउने इच्छा छ । अहिले ११ कक्षामा पढिरहेकी छे । छोरीलाई राम्रो शिक्षा दिनकै लागि दुःख गरिरहेकी छु । फेरि साहारा भनेकै यही छोरी मात्रै छ । पहिले त परिवारमा ४ जना थियौं । श्रीमान्–श्रीमती र दुई छोरी थियौं । श्रीमान‌्ले छाडेर जानुभएको तीन वर्ष हुनै लाग्यो । खुट्टा दुख्ने समस्याले लामो समयसम्म थला पर्नुभयो । उहाँको उपचार गराउन धेरै ठाउँ धाए पनि उहाँलाई बचाउन सकिएन । 

श्रीमान् गुमाएको एक वर्षपछि अर्को दुःख थपियो । २०८० कार्तिक ९ गते दुर्घटनामा परेँ । बनेपाको नयाँ तरकारी बजारमा मोटरसाइकलले ठक्कर दिएर दाहिने हात भाँचियो, घुँडाको हड्डी फुट्यो अनि कम्मरमा चोट लाग्यो । तीन दिन अस्पतालको बसाइपछि घर फर्किएँ । बुढेसकालमा चोट लागेपछि निको हुन समय लाग्ने रहेछ । जीवनमा दुःख नसकिने रहेछ । जति दुःख आइलागे पनि कर्म त गर्नैपर्‍यो, घर व्यवहार चलाउन त बजार निस्किनै पर्‍यो । घाइते भएको चार/पाँच महिनापछि छोरीलाई साथी लिएर मकै पोल्न थालेँ । 

आफ्नो मान्छे साथमा नहुँदा धेरै पीडा हुने रहेछ । आफ्नै गाउँ–घर पनि खल्लो लाग्ने रहेछ । रामेछापको खाँडादेवी गाउँपालिकाको गागलमा घर भए पनि जानै मन लाग्दैन अचेल । २०५८ सालमा तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा जीउ/ज्यान जोगाउन गाउँबाट बनेपा झर्‍यौं । यहाँ आएर सुरुमा नाङ्लोमा खुद्रा व्यापार गरेँ । श्रीमान‌्ले घर बनाउने ठेक्कापट्टा गर्नुहुन्थ्यो । 

श्रीमान्–श्रीमतीले दुःख सुख गरेर दैनिकी चलाएका थियौं । श्रीमान् बिरामी परेपछि स्थिति फरक बन्यो । काम र व्यापार गरेर १५–२० लाख रुपैयाँ जोगाएका थियौं । त्यही पैसा उपचारमा खर्च गर्दा पनि उहाँलाई बचाउन सकिएन । 

प्रस्तुति : ज्योती श्रेष्ठ

डोल्मा

Link copied successfully