‘चटपटे बेचेर दिनमा कमाइ हुने २ सयले घरखर्च चलाउँछु’

नेपाल प्रहरीमा जागिरेसित बिहेबारी भएपछि उहाँसँगै कञ्चनपुरको महेन्द्रनगर आएँ

चैत्र २७, २०८१

पार्वती कुँवर

”I use the 200 per day earned by quick selling to cover household expenses”

कञ्चनपुर — मेरो घर दार्चुलाको दुर्गम दुहुँ क्षेत्रमा रहेको छ । पहाडमा जन्मी हुर्केको र उतै बसोबास भएकाले तराईका धेरै कुरा थाहा थिएन । गाडी, ठूला घरका बारेमा कसैले बताउँदा पनि कहानीजस्तो लाग्थ्यो । मेरा श्रीमान् नेपाल प्रहरीमा जागिरे थिए । बिहेबारी भएपछि उहाँसँगै कञ्चनपुरको महेन्द्रनगर आएँ । यहाँ आएर कोठा भाडामा लिएर बस्न थाल्यौं ।

उहाँले जागिर, मैले घर सम्हालिरहेकी थिएँ । सबै कुरा ठिक चलिरहेको थियो । हाम्रो खुसी लामो समय टिकेन । मेरै कर्म खोटो हो कि ! अभागी कर्म भनेर चित्त बुझाउँछु । एक्कासि श्रीमान‍्ले दोस्रो बिहे गरेको खबर सुनेँ । सौतासँगै प्रहरीको जागिर छाडेर उनी पहाड फर्किए । त्यसपछि मेरा दुःखका दिन सुरु भए ।

केही दिन त के गर्ने कसो गर्ने भन्ने सोचेरै बिते । पछि आफैंले आफूलाई सम्हालेर महेन्द्रनगरका पसल र होटेलमा काम गर्न थालेँ । ज्यालाको कामले अलिकति भए पनि राहत दियो ।

मेरा दुई छोरा छन् । उनीहरूलाई पढाउने जिम्मेवारी थियो । महिना मरेपछि कोठा भाडा तिर्नुपर्थ्यो । भान्सामा चाहिने सबैथोक किनेरै खानु पर्ने बाध्यता थियो । आफूले जस्तो भोगे पनि छोराहरूका लागि मरेरै काम गर्नुपर्ने भयो । 

भाँडा माझेको कमाइले आधा महिना पनि धान्न सकेन । त्यसपछि सबै काम छाडेर डेढ वर्षदेखि ठेलामा चटपटे बेचिरहेकी छु । जेठो छोरा अक्षर चिन्ने भएपछि काम खोज्दै भारतमा कमाउन गएको छ । कान्छो छोरा अहिले कक्षा ११ मा पढिरहेको छ । मैले चटपटे बेचेर घरखर्च र छोराको पढाइखर्च चलाइरहेकी छु । 

चटपटे बिक्री गरेर दिनमा दुई/तीन सय कमाइ हुन्छ । कुनै दिन एक/दुई सय मात्रै हात पर्छ । त्यसबाट नुनतेल, साबुन र साग तरकारी किन्न पनि पुग्दैन । साग तरकारीदेखि नुन, तेल र मसला समेत गरेर दिनमै दुई/तीन सय खर्च आउँछ । दुई महिनामा एकपट खाना पकाउने ग्यास किन्नुपर्छ । 

चटपटे बेच्नुका साथै महेन्द्रनगरकै एयरपोर्टमा एउटा घर रेखदेखको काम पनि गर्छु । उक्त घर रेखदेख गरिदिएबापत बस्नका लागि एउटा कोठा पाएकी छु । त्यही भएर कोठा भाडा तिर्नुपर्दैन । चटपटे बेचेर यहाँकै सहकारीमा दैनिक २ सय बचत गर्छु । त्यही मेरो नाफा हो । त्यसैबाट घरखर्च र कहिलेकाहीँ छोरालाई सहयोग गर्छु । 

चटपटे बेचेर महिनामा ७/८ हजार कमाइ हुन्छ । दैनिक १ सयको तरकारी, महिनामा ४/५ हजारको नुन, तेल, लुगा धुने सर्फ, साबुन र मसला लगायतमा खर्च हुन्छ । मेरो कमँइले यसकै लागि पुग्दैन । कहिले खर्च नभएर निकै आपत् पर्छ । त्यतिबेला आफन्तसँग सापटी माग्नेदेखि सामानहरू उधारो लिन्छु । 

कान्छो छोरालाई ११ कक्षामा भर्ना गर्दा ५० हजार खर्च लाग्यो । त्यतिबेला आफन्तबाटै ऋण लिएँ । जेठो छोराले वेङ्ग्लोरबाट कमाइ गरेर रकम पठाएपछि बिस्तारै तिर्दैछु । अहिले पनि कापी–कलम, किताबदेखि विभिन्न खर्च चाहिन्छ । तर मसँग घरकै खर्च पुर्‍याउने पैसा हुँदैन । जेठो छोराले नै उसका लागि पढाइखर्च जुटाइरहेको छ । 

रासनका लागि गहुँ र धान काट्ने र स्याहार्ने बेला मजदुरी गर्छु । त्यसैबाट वर्षभरि खानका लागि धान र गहुँको जोहो हुन्छ ।

प्रस्तुति : भवानी भट्ट

घरखर्च

पार्वती

Link copied successfully