‘सामाजिक सुरक्षा भत्ताले कोठाभाडा तिर्ने गरेकी छु’

बिहान उज्यालो भएपछि रात नपरुन्जेलसम्म सडक पेटीमा बसेर मौसमी तरकारी र फलफूल बिक्री गर्छु

चैत्र २४, २०८१

मैया बोहरा

”I have paid the room rent with social security allowance”

बागलुङ — भाग्यमै दुःख लेखेपछि सुख आस गरेर नमिल्ने रहेछ । त्यही भएर त होला– २५ वर्षदेखि सडक पेटीमै दिन कटाइरहेकी छु । अहिले म ६० वर्षकी भएँ । यो बूढो ज्यान पाल्न पनि कष्ट नगरी नहुने रहेछ । त्यसैले बिहान उज्यालो भएपछि रात नपरुन्जेलसम्म सडक पेटीमा बसेर मौसमी तरकारी र फलफूल बिक्री गर्छु । सडकमा व्यापार नगरेका दिन परिवार भोकै बस्नुपर्छ । आराम गर्ने उमेरमा रहरभन्दा पनि बाध्यताले यस्तो काम गर्नुपरेको हो ।

बागलुङ नगरपालिका–३, गुठीमा घर भए पनि मेरो दैनिकी चिसो सडक र मजदुरीमै बितेको छ । २५ वर्षअघि पति भैरवबहादुरको निधन भएपछि मैमाथि यस्तो जिम्मेवारी आइलाग्यो । 

उहाँ (पति) ले भारत पुगेर भए पनि मजदुरी गरेर परिवारको घरखर्च जुटाउनु हुन्थ्यो । अचानक हृदयघात भएर उहाँले प्राण त्याग्नु भयो । त्यसपछि सहाराविहीन बनेर सडकमा आइपुगेकी हुँ । पतिको निधन हुँदा मेरो काखमा तीन छोरी थिए– जेठी पुष्पा ८ वर्ष, माइली उशा ६ वर्ष र कान्छी आशा ४ वर्षकी । उनीहरूलाई हुर्काउने, पढाउने जिम्मेवारी पूरा गर्न सडक व्यापार गर्नुपरेको हो । 

बिक्री गर्नका लागि फलफूल र तरकारी खरिद गरेर ल्याउन पनि बिहान ४ बजे उठ्नुपर्छ । जाडो मौसममा बिहान उज्यालो नहुँदै गाउँ पुगेर सुन्तला आफैंले टिपेर ल्याउने गरेकी छु । तरकारीको सिजनमा पनि आफैं बारीमा पुगेर टिपेरै ल्याउनुपर्ने बाध्यता छ । केही दिनअघिसम्म दैनिक ५० किलोसम्म सुन्तला बेच्थेँ । त्यसैबाट भएको कमाइले अहिले पनि घरखर्च चलिरहेको छ । मासिक ४ हजार सामाजिक सुरक्षा भत्ता पाउँछु । एकमुष्ट त्यही आएपछि कोठाभाडा तिर्ने गरेकी छु । 

सुन्तलाको सिजन सकिएपछि अहिले गाउँगाउँ पुगेर तरकारी खोजेर ल्याउनुपर्छ । समयमा वर्षा भइदिए वैशाख र जेठमा निगुरोको सागको व्यापारबाट केही कमाइ हुन्छ । निगुरोमा लगानी नहुने र आफैंले टिपेर बेच्ने भएकाले राम्रो कमाइ छ । साहुको बारीबाट तरकारी र फलफूल खरिद गरेर ल्याएर बेच्दा थोरै पैसा मात्रै बचाउन सकिन्छ । फलफूल र तरकारी खरिद खर्च कटाएर महिनाको त्यहीँ १७/१८ हजार रुपैयाँ कमाइ हुने गरेको छ । 

यही पेसा गरेर दुई छोरीको विवाह गरेर घर पठाइसकेँ । कान्छी छोरी र एक नाति आफैंले पालेकी छु । उनीहरूलाई पढाउने र हुर्काउने काममा लागेको ऋण तिर्न पनि यो दुःख गर्नु परेको छ । तीन जनाका लागि महिनामा २०/२१ हजार रुपैयाँ घर खर्च भइरहेको छ । डेरामा बस्ने भएकाले नुन, तेल, मसला, दाल–चामल, हरियो तरकारी सबै किनेर खानुपर्छ । सातामा एक दिन माछा/मासुमा ४/५ सय खर्च हुन्छ । लुगाफाटो आवश्यकताअनुसार किन्ने गरेकी छु । त्यसमा वर्षमा ५/७ हजार त खर्च भइहाल्छ । 

दैनिक कमाएको पैसा सहकारीमा जम्मा गरेर मौका पर्दा झिक्ने गरेकी छु । कहिले सय, कहिले दुई सय गरेर जम्मा गर्छु । ठ्याक्कै यति नै भन्ने छैन । घर सगोलमै भएकाले जेठाजु–देवर र उनीहरूका परिवार बस्छन् । मैले घर बण्डा माग्नभन्दा छुट्टै बसेर छोरीहरू पढाउने, हुर्काउने कामले बजारमा डेरा लिएर बसेकी हुँ । 

मैले नगरेको काम केही छैन । कहिले बालुवा बोक्छु, कहिले घर बनाउने काममा पनि गएँ, बेलाबेला खेत खन्न पनि जान्छु । परिआए खेत जोत्न पनि सक्छु जस्तो लाग्छ । अचेल मिनी टिलर आएपछि जोत्ने काम गरेकी छैन । गाउँका किसानले फलाएको च्याउ, गोलभेंडा, केरा, साग र काँक्रो सबैभन्दा बढी बेच्ने गरेकी छु ।

सुरुसुरुमा त विकासे सामान पनि बेचेकी थिएँ, तर बागलुङ नगरपालिकाले अर्गानिक र स्थानीय उत्पादन मात्रै ठेलागाडीमा बेच्न दिन थालेपछि अर्गानिकमा ध्यान दिएकी छु । मौसमी र गाउँघरकै उत्पादन भएकाले नगरपालिकाले बेच्न दिएको छ । बाहिरबाट ल्याए कर तिर्नुपर्छ । सुरुमा नगरपालिकाले मेरो सामान पनि फ्याँकिदिएको थियो । अहिले स्थानीय तरकारी र फलफूल मात्र बेच्ने गरेकी छु । नगर प्रहरीको गाडी छेवैबाट गए पनि अर्गानिक उत्पादनलाई समय मिलाएर सडक पेटीमै बसेर पनि बेच्न दिएको छ । 

अझै पनि बिरामी परियो भनेचाहिँ हातमुख जोर्न मुस्किल पर्छ । ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधिको व्यवस्था छ भन्ने सुनेकी छु, तर त्यो कता गएर पाइने हो भन्ने थाहा छैन । अचेल चिसोले हातखुट्टा दुख्ने त भएको छ, ओच्छ्यान परेकी छैन । त्यसैले काम गरिरहेकी छु । अप्ठ्यारो भयो भने वडामा गएर औषधि उपचारका लागि सहयोग माग्नुपर्ला । 

प्रस्तुति : प्रकाश बराल

मैया बोहरा

Link copied successfully