चार वर्षदेखि रूपन्देहीको बुटवल–बेलहिया सडकको पडसरीमा बसेर उखुको रस बिक्री गरिरहेको छु
तिलोत्तमा — टन्न पैसा कमाउने, मिठो खाने र मस्त घुम्ने रहर कसको पो हुँदैन र ! फेरि रहर गरेर मात्र पुग्ने भए दुःख पनि गर्नु पर्थेन होला नि ! अहिले ३३ वर्षको भएँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३ मा मेरो घर छ । दुई/चार पैसा घर खर्च जुटाउन चार वर्षदेखि रूपन्देहीको बुटवल–बेलहिया सडकको पडसरीमा बसेर उखुको रस बिक्री गरिरहेको छु । यस्तै खुद्रा र मौसम अनुसारको व्यापारले परिवार चलेको छ ।
उखु ल्याएर मेसिनमा पेलेर रस बनाउँछु । अहिले एक गिलास रसको ३० रुपैयाँमा बेच्छु । यही सडक भएर ओहोर–दोहोर गर्ने ग्राहकले दिनमै दुई/तीन गिलास रस पिएर रुपैयाँ हातमा थमाइदिएर जान्छन् । दिनमा सरदर ९० गिलास रस बिक्री हुन्छ । आफूलाई बोल्ने फुर्सद हुँदैन । आखिर समयले चल्न सिकाउने रहेछ ।
जस्तो आम्दानी, त्यस्तै अपेक्षा हुने रहेछन् । तर कमाइ देखेर श्रीमतीले पनि यो चाहियो, त्यो चाहियो भन्दिनन् । जे छ, त्यसमै सन्तुष्ट हुने बानी परिसक्यो । एकपटक कमाउन भनेर विदेश पनि गएको थिएँ । त्यहाँ दुःखमात्रै भएपछि आफ्नै मुलुक फर्किएर मौसम अनुसारको व्यापार गर्न थालेको हुँ ।
अहिले आराम मिल्दैन । बिहानै ठेला ल्याएर सडक किनारमा उभिन्छु । दिनभरि उखुको रस बेच्यो अनि साँझ घर फर्कियो । अहिले १ हजार ५ सय रुपैयाँमा एक क्विन्टल उखु ल्याउँछु । त्यसले २/३ दिन चल्छ । दिनमा १ किलोदेखि ५ पाउसम्म कागती किन्छु । त्यसको ३ सय पर्छ ।
बीरेनुन पाउको ४० रुपैयाँ पर्छ । १ बन्डल प्लास्टिकका गिलास ल्याउँदा १ सय २० रुपैयाँ पर्छ । व्यापारबाट नाफा कमाएको छैन । छाक टार्न पनि कहिले पुग्छ, कहिले पुग्दैन । छोराको विद्यालय शुल्क महिनाको ५ हजार छ । जति कक्षा माथि पुग्छ, त्यति फिस बढ्छ । नयाँ कक्षामा भर्ना भएपछि पोसाक सिलाउनमात्रै १ हजार खर्च लाग्छ । महिनाको ३ हजार कोठा भाडा छ ।
कामको चापले घर जान पनि पाउँदिनँ । केटाकेटी कहिलेकाहीँ जान्छन् । पानी परेका दिनमात्रै व्यापार ठप्प हुन्छ । गर्मी बाहेक याममा पिठ्यूँमा कपडाको भारी बोकेर पाल्पाका घरदैलोमा पुगेर बिक्री गर्छु । पाल्पा बसुन्जेल खान, बस्न, कहिलेकाहीँ यता आउजाउ गर्दा कमाइ बराबरजस्तो हुन्छ ।
पडसरीमा दुईवटा कोठा भाडामा लिएका छौं । त्यसमा म, श्रीमती र दुई सन्तान बस्छौं । आमा–बुवा कपिलवस्तु हुनुहुन्छ । घरबाटै चामल ल्याउने भएकाले राहत मिल्छ । नुन, तेल, मरमसला, हरियो तरकारी किनेर खान्छौं । मासु खान त मन लाग्छ तर पैसाले पुग्दैन ।
मेरो चाहना त रूपन्देहीमा घडेरी किनेर घर बनाउने हो । तर, सपनामात्रै होला जस्तो छ । सकुन्जेल काम गर्छु, हेरौं के के हुन्छ । जसरी तसरी केटाकेटी पढाउँछु । दुई छाक खान पुगोस् । दिनदिनै चलाउँदा उखुको मेसिन बिग्रिरहन्छ । मेसिन बनाउँदा एकपटकमा ३ हजार खर्च लाग्छ । दिनभरि मोटर चलाउन डिजेल किन्नु पर्यो ।
मलाई पैसाको आपत् परेका बेला सघाउने साथीभाइ थुप्रै छन् । उनीहरूसँग सापट लिएर व्यवहार चलाउँछु । फेरि कमाएर रिन तिर्छु । गरिब हुनुको साह्रै पीडा छ । तर, त्यो पीडा कसलाई देखाउनू ? बुवाआमा काम गर्न सक्नुहुन्न । त्यस्तो अवस्थामा पनि घरै बसेर बुवाआमाको रेखदेख गर्न सकिरहेको छैन ।
प्रस्तुति : सन्जु पौडेल
