घरखर्च टार्न १२/१३ वर्षको उमेरमै बुवा–आमालाई काममा सघाउन थालेँ
सल्यान — म सानै हुँदा मेरा बुवा–आमाले मरिमेटेर काम गरेको देखेको थिएँ । उहाँहरू खेतीपाती गर्नु हुन्थ्यो । त्यति गर्दा पनि आर्थिक अवस्था सुधार भएन । बुवा–आमाले अभावमै हामीलाई हुर्काउनुभयो । जति मरिहत्ते गरे पनि घरखर्च टार्न नपुग्दा १२/१३ वर्षको उमेरमै बुवा–आमालाई काममा सघाउन थालेँ । उहाँहरूले काम गरेको देखेरै मैले पनि खेतीपाती गर्न सिकेँ । त्यसले पनि मलाई कृषि पेसा अँगाल्न हौस्यायो ।
उब्जनीले बिहान–बेलुकीको छाक टार्न ठिक्क हुने र बचत केही नहुने भएपछि एसएलसी पास गरेपछि पढाइ छाडे । उच्च शिक्षा पढ्ने अवस्था नभएपछि मैले पनि बुवा–आमाकै कुटो–कोदालो समात्न पुगेँ ।
बुवा–आमाको साथ लामो समय रहेन । दुवै जनाको मृत्युपछि सल्यानको कारागिठीबाट त्रिवेणी गाउँपालिका–१ काभ्रामा बसाइँ सरेर आफ्नै जग्गामा खेतीपाती गर्न थालेँ । खाद्यान्न बालीसँगै तरकारी उत्पादन गर्छु । तरकारी बिक्री गरेर आम्दानी हुन थालेपछि त्यसलाई व्यावसायिक रूपमा विस्तार गरेँ । तरकारीबाट कमाएको रकम छोराछारीको पढाइमा खर्च गरिरहेको छु ।
अहिले पाँच रोपनी जग्गामा तरकारी खेती गरिरहेको छु । यसैबाट कमाएको पैसाले खेत नजिकै बस्नका लागि टहरो बनाएको छु । बिहानै ५ बजे उठेर तरकारी गोडमेल र मलजल गर्छु । श्रीमतीले गाईबस्तुका लागि घाँसपात गर्छिन् । बिहान तरकारी टिपेर नजिकैको बजारमा लगेर बिक्री गर्छु । सिजन अनुसार दैनिक तरकारी बिक्री गरेर १ हजारदेखि १५ सयसम्म कमाइ हुन्छ । महिनामा ३५ हजारसम्मको तरकारी बिक्री गर्दा वर्षमा ४ लाख २० हजार रुपैयाँको कारोबार हुन्छ ।
आफ्नै खेतमा उत्पादन गर्ने भएकाले खाद्यान्न, तरकारी किन्नु पर्दैन । किन्ने भनेको नुन, तेल र माछामासु मात्र हो । सबै खर्च कटाएर महिनामा २५ हजारसम्म बचाउँछु । आर्थिक अवस्था कमजोर भएका कारण आफूले उच्च शिक्षा पढ्न सकिनँ । कृषि पेसामा निर्भर हुनु पर्यो । तर मेरा छोराछारी पढाइबाट वञ्चित हुन नपरोस् भनेर ४४ वर्षको उमेरमा पनि मरिमेटेर काम गरिरहेको छु । अहिले मेरो उद्देश्य भनेकै छोराछारीलाई उच्च शिक्षा दिलाउनु रहेको छ ।
छोरा राजेश २९ र छोरी पार्वती २५ वर्षकी भइन् । छोराले काठमाडौंमा बसेर फार्मेसी अध्ययन गरेको छ । छोरीले बुटवलमा बसेर स्नातक तह पूरा गरिसकिन् । अहिले उनीहरू लोकसेवा आयोगको तयारी गरिरहेका छन् । छोराछारीका लागि महिनामा २० देखि २२ हजार रुपैयाँसम्म पठाउँछु ।
छोराले सानोतिनो जागिर पनि गरिरहेकाले पहिलाको जस्तो धेरै रकम पठाउनु पर्दैन । छोराछोरीले उच्च शिक्षा पूरा गरेपछि मात्र गतिलो घर बनाउने सोच बनाएको छु । बस्नका लागि गतिलो घर बनाउन सकुँला नसकुँला आफ्नो ठाउँमा छ तर छोराछारीलाई पढाउन पाउँदा धेरै खुसी छु ।
छोराछारी पढाइका लागि बाहिर बस्ने भएकाले घरमा अहिले श्रीमान् श्रीमती मात्र छौं । म र ४६ वर्षीया श्रीमती कृष्णी थापा आ–आफ्नै काममा ब्यस्त हुन्छौं । दुवै मिलेर काम गर्दा धेरै सहज मात्र भएको छैन, अहिले दुवैलाई रोजगारी मिलेको छ । त्यति मात्र नभई दिन कटाउन पनि सहज भएको छ ।
पछिल्लो समयमा युवापुस्ता उच्च शिक्षाका साथै रोजगारीका लागि भनेर धमाधम बिदेसिँदै गएका छन् । युवा पुस्ता बिदेसिँदा गाउँघर सुनसान बन्दै गएको छ भने घरमा बुढाबुढी मात्र हुँदा खेतीयोग्य जग्गासमेत बाँझिँदै गएका छन् । तर म आफ्ना छोराछारी रोजगारीका लागि बाहिर नगई लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामै लागून भन्ने चाहन्छु । त्यही भएर उच्च शिक्षा दिलाउने मात्र नभई लोकसेवाको तयारी समेत गर्न लगाएको छु ।
प्रस्तुति : विप्लव महर्जन
