कहिलेकाहीँ त ‘जिन्दगी नाफाघाटाको खेल रहेछ' भनेर मन बुझाउँछु
काठमाडौँ — साइकलमा मकै लिएर बेच्ने काम गर्छु । यसरी मकै बेच्न थालेकै १७ वर्ष भयो । म हरेक दिन बिहान ४ बजे उठेर साइकल चढेर मकै लिन कहिले कालिमाटी त कहिले माछापोखरी बजारसम्म पुग्छु । सिजनका बेला मैले १ सयदेखि १ सय ५० सम्म मकै बेच्छु । मकै बेचेर नै जसोतसो घरखर्च चलिरहेको छ ।
काठमाडौंको स्वयम्भूमा जन्मे अनि मेरो बाल्यकाल स्वयम्भूकै डाँडामा बित्यो । बुबा सानै हुँदा रोग लागेर बितेपछि हाम्रो घरमा सधैं दु:ख र अप्ठ्यारो सुरु भयो । बुबाको मृत्युपछि हामी चार छोरालाई हुर्काउन, पढाउन, घरखर्च धान्न आमालाई निकै गाह्रो भयो । घरको यही अप्ठ्यारोका कारण मेरो पढाइ छुट्यो ।
अहिले मेरो परिवारमा म , श्रीमती, छोरा छौं । छोरा अहिले सामुदायिक कलेजमा १२ कक्षामा कम्प्युटर साइन्स पढ्दै छ । हामी हात्तीगौंडामा कोठा भाडामा लिएर बसेका छौं । कोठाभाडा मात्रै मासिक सात हजार छ । सहरको महँगीमा एक जनाको कमाइले घरखर्च धान्न सारै गाह्रो छ । तर पनि जसोतसो चलाएकै छु ।
१७ वर्ष मकै बेचेर, कहिले तिहारको सरसामग्री ठेलामा बेचेर अलिअलि जम्मा गरेर सहकारीमा २ लाखजति रकम राखेको थिएँ । तर सहकारी नै डुब्यो । यो खबर थाहा पाएपछि एक/दुई महिना त मलाई निद्रै लागेन । अहिले पनि त्यो पैसा आउँछ भन्ने आशमा बसेको छु ।
अरूका लागि त २ लाख रुपैयाँ पनि थोरै होला । तर मलाई मात्र थाहा छ, २ लाख कमाउन कति दु:ख गर्नुपर्छ । पहिले त म हरियो मकै मात्र नबेचेर ठेलामा पोलेर पनि बेच्थेँ । त्यसो गर्दा कमाइ पनि अलिक राम्रो हुन्थ्यो । तर अहिले त्यस्तो गर्न सकिन्न । किनकि महानगरले देख्यो कि ठेला उठाएर लैजान्छ । त्यसैले म साइकलमा मकै ल्याउँछु र घरघरै बेच्दै हिँड्छु । मकैको सिजनमा मकै नै बेच्छु तर दसैं, तिहारका बेला मकै पाइँदैन । त्यतिबेला भने तिहारका सामग्री, भाइटीका, भाइमसला, मैनबत्ती बेच्ने गर्छु ।
मकै बेच्ने काम पनि सजिलो त कहाँ छ र ! मकै राम्रो पाएर बेच्न सके त अलिअलि नाफा हुन्छ। तर कहिले त मकैका घोगा नै नराम्रो पर्छन् । अनि मकै किन्ने मान्छेहरूले लिन मान्दैनन् । नराम्रो मकै त्यत्तिकै रहन्छ । त्यस्तो बेला मलाई निकै घाटा हुन्छ । हुन त जुनसुकै काम गर्दा सधैं नाफा मात्र हुन्छ भन्ने छैन । म त्यसबेला ‘जिन्दगी नाफाघाटाको खेल रहेछ' भनेर मन बुझाउँछु ।
उमेरले ४५ वर्ष लागेँ । देशमै बसेर घर-घडेरी जोड्ने सपना पूरा गर्न नसके पनि छोरालाई प्राइभेट कलेजमा पठाउने ठूलो सपना थियो । तर यही सपना पनि पूरा गर्न सक्दिनँ कि भन्ने डर भयो । कलेज फि तिर्न सकिएन भने के गर्ने भन्ने कुरामा घर-सल्लाह पनि भयो । यही कुरा छोरालाई सम्झाएँ अनि सामुदायिक कलेजमा भर्ना गरिदिएँ । कहिलेकाहीँ सोच्छु- छोराले मन दुखाउँछ कि भनेर । उसले चाहेको जस्तो कलेजमा पढाउन नसकिएको कुराले मेरो मन बेलाबेला खान्छ । त्यस्तो बेला मनमनै डर पनि लाग्छ ।
मैले गरेको कामले छोरालाई नराम्रो महसुस हुन्छ कि भनेर सोच्छु । कतै छोराका साथीले उसलाई गिजाउँछन् कि भन्ने पनि सोच्छु । यस्तो सोच आएका बेला फेरि मनमा अर्को कुरा पनि आउँछ । मैले कसैको चोरेर खाएको छैन, भ्रष्टाचार गरेर खाएको छैन, आफैंले मिहिनेत गरेर जति सक्छु- त्यति कमाएको छु । यो कुरा छोराले पक्कै बुझ्छ होला ।
नेपालमा त काम अनुसार व्यवहार हुन्छ । तर काम गरेर खानु त सबैभन्दा राम्रो काम हो । त्यसैले मेरो काम देखेर छोराले नराम्रो कहिल्यै नसोचोस् भन्ने लाग्छ ।
यो उमेरमा मेरा अरु सपना खासै छैनन् । आफूले पढ्न नपाए पनि छोरालाई मास्टर (स्नातकोत्तर) सम्म पढाउने मन छ । तर छोराले १२ पछि त सरकारी कलेज पढ्दिनँ भनिरहेको छ । उसको कुरा सुनेर मन सारै दुख्छ । हुन त मैले सम्झाएको छु । अब हेरम् १२ सकेपछि के गर्छ !
दु:खसुख चलेकै छ । तर स्वास्थ्य समस्याले सताइराख्छ । मेरो मुटुमा हल्का खराबी देखाएको छ त्यसको पनि औषधि खान पर्छ । महिनाको ३ हजार जति औषधि किन्दा नै जान्छ । तेल, चामल, दाल भनेजस्तो रासन खर्च, ग्यास, घरभाडा गर्दा कमाएको पैसा सबै सकिन्छ । त्यसैले मसँग बचत नै छैन । विश्वास गरेर अलि अलि सहकारीमा जम्मा गरेको पैसा त सबै डुब्यो । अब त पैसा पनि छैन, सहकारीको विश्वास पनि छैन ।
एकदिन मोबाइल चलाउँदा जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ...भन्ने गीत सुनेको थिएँ । कहिलेकाहीँ साँच्चै नै यो गीतले कस्तो सत्य भनेको जस्तो लाग्छ । मलाई त मेरो पनि जिन्दगी पनि चल्न त चल्या छ पिरै पिरमा छ भनेजस्तो लाग्छ । तर पनि के नै गर्न सकिन्छ र ! आफूले आफूलाई सान्त्वना दिनुबाहेक ।
प्रस्तुति : आरती पौडेल/प्रशिक्षार्थी
