दिनको बीस/तीस रुपैयाँ कमाएर के नै किनेर खान पुग्छ र ?
कपिलवस्तु — कपिलवस्तु नगरपालिका–२, चौक बजारमा बस्छु । अंशबन्डा गर्दा पाएको एउटा कोठामा गुजारा गर्दै आएको छु । दुई कोठामा भाइ भोला परिवारसहित बस्छ । यसबाहेक जग्गा–जमिन केही छैन ।
पेट पाल्नु पर्यो भनेर आफूले जानेको ‘घडी बनाउने’ काम गर्छु । सबै प्रकारका घडी बनाउन जान्दिनँ । क्वार्ज र क्यासियो घडीमात्र बनाउन जानेको छु । त्यसमाथि घडी बनाउन आउने निकै कम हुन्छन् । अचेल सबैका हातहातमा मोबाइल हुन्छ । मोबाइलमै घडी हुन्छ । त्यही भएर घडी लगाउने निकै कम छन् ।
मैले आफूले जानेको सीप पनि उपयोग गर्न पाएको छैन । गरुँ पनि कसरी गरिब र विपन्नताले थलिएको छु । एकसरो कपडा फेर्न सकेको छैन । कतै भाडाको कोठा खोजेर पसल गर्न सक्ने अवस्था छैन । तराईको उखरमाउलो खलखली पसिना आउने प्रचण्ड गर्मी होस् कि आँतै ठिहिर्याउने ठण्डी– म खुला आकाशमुनि दिनभरि ग्राहक कुर्दै बस्छु । न ओतिने ठाउँ छ । न छहारी खोजेर कतै बसौं भन्ने ठाउ नै ।
तौलिहवास्थित भिक्षु चोक–नयाँटोल सडक खण्डअन्तर्गत चोक बजार जाने बाटोको दक्षिण नालीमाथि राखिएको स्ल्याबमा पसल थाप्छु । विभिन्न समान प्याक बनाइएको दप्ती भुईमा ओछयाउँछु । आफु बस्छु । अघिल्तिर दुई छेउमा इँटा राखेर त्यसमाथि काठको पटेरा राखेर थोरै उँचो बनाएर पुराना घडी र मर्मत गर्ने औजार राख्छु । पूर्वी छेउमा एउटा कार्टुन राखेर त्यसमा नयाँ पाँच/सातवटा घडीका फिता राखेको छु ।
मेरो सम्पत्ति भनेको एउटा कार्टुनमा अटाउने पुराना घडी, बिग्रेका घडी, त्यसमा लाग्ने स्टिलका चेन र औजारमात्र हुन् । जम्माजम्मी ५/६ किलो छ । यही कार्टुन बोक्दै बिहान पसल खोल्न ल्याउँछु । साँझ लिएर फर्कन्छु । सात वर्षदेखि चलिरहेको छ ।
त्यसअघि म पनि भारतको सिद्धार्थनगर जिल्लामा पर्ने नौगढस्थित ससुरालीमा परिवारसँग बस्दै आएको थिएँ । त्यहाँ एकपटक म अचानक बेहोस भएपछि सासूले तिमी घरै गएर बस भनेपछि सात वर्षअघि तौलिहवा फर्किएको हुँ ।
मेरो २० वर्षको छोरा, १६ वर्षकी छोरी र श्रीमती छन् । सबै माइतीमै बस्छन् । सात वर्षयता मसँग कुनै सम्पर्क छैन । भाइले बोलायो भने एक–दुई वर्षमा एकपटक आउँछन् । तर मसँग सम्पर्क हुँदैन । परिवार भएर पनि म निकै दुःखकष्टले बाँचेको छु । यसले निकै पीडा र तनाव हुन्छ ।
घडी बनाएर जीवनयापन गर्न निक्कै गाह्रो छ । महिनामा ३/४ दिन त एक रुपियाँ पनि कमाइ हुन्न । अरु दिन बीस/तीस रुपियाँदेखि दुई/तीन सयसम्म कमाइ हुन्छ । दिनको बीस/तीस रुपैयाँ कमाइ हुँदा के नै किनेर खान पुग्छ र ? त्यत्तिकै पेट छामेर सुत्छु । भोकभोकै सुतेका दिनको त कुनै गिन्ती नै छैन ।
जीवनमा एकै दिन सबैभन्दा धेरै कमाइ भएको ८ सय रुपियाँ थियो । त्यसै दिन थाहा पाएँ– जीवनमा खुसी भनेको के रहेछ भन्ने । त्यसयता फेरि त्यति कमाएको याद छैन । कमाइ नहुँदा लाउन खान पनि समस्या छ । घरमा भाँडाकुडा भए पनि चुलो नहुँदा भात पकाउँदिनँ । दिनभरिको कमाइले भुजा, दालमोट, चटपटे, चिया, बिस्कुट र फलफूल खाएर साँझ–बिहानको छाक टार्छु । भात खान मन लागे बिरयानी किनेर खान्छु । नभए चाउचाउ, चाउमिन खाएर पनि साँझ बिहानको छाक टार्छु ।
म बिहानै ७ बजेर उठेर कोठाबाट पसल राख्ने ठाउँ पुग्छु । त्यहा सरसफाइ गर्छु । छेउछाउको बाटो पनि बडारेर चिरिच्याट्ट बनाउँछु । यसले स्थानीय खुसी छन् । विहान ९ बजे पसलमा बस्छु । गर्मीको बेला साँझ ६ बजेसम्म र जाडोमा साँझ ५ बजेसम्म पसलमै हुन्छु ।
कपडा नकिनेको दुई वर्ष भइसक्यो । मैलोले कट्कटिएर कमिज र पाइन्ट फोहोरो भएको छ । तीन–चार साता भयो धुने मौका पाएको छैन । त्यही धोएर सुकेर लगाउने हो । धेरै फेरफार गर्ने कपडा नै छैनन् । नयाँ किन्ने त झन् कुरै छैन । म अहिले ४२ वर्षको भएँ । दुःख पनि त्यति नै किसिमका छन् ।
घडी बनाउन आउनेलाई पनि फेरिदिने सामान छैन । मसँग सामानका नाममा जम्माजम्मी ६ सय २६ नम्बरदेखि २०३२ नम्बरका १८/२० वटा घडीका ससाना ब्याट्री र १२/१५ वटा फिता छन् । जम्माजम्मी ७/८ सयका सामान होलान् । थप्न पुँजी छैन । पैसा भयो भने यही घडी व्यापारलाई बढाउने सोच छ ।
गरिब छु । त्यसमाथि ग्राहक पनि उस्तै आउँछन् । घडी बनाउन आएका सात/आठ जना ग्राहक आफ्नो घडी लिन नआउँदा अहिले अर्को तनाव थपिएको छ । उनीहरूका घडी बनाएर राखिदिएको छु । लिनै आउँदैनन् । भएको एक–दुई सय पुँजी पनि अहिले त्यसैमा फसेको छ ।
प्रचण्ड गर्मीमा खुला आकाशमुनि बसेर ग्राहक कुर्छु । एक जना दाताले दिएको ठूलो छाता हावाले उडाएर बिगारदिएपछि घाम छेक्न पाएको छैन । गर्मीमा घामले सेकिँदा र तरतर्ती पसिना चुहिँदा कति दुःख लिएर आइएछ भन्ने पनि लाग्छ ।
प्रस्तुति : मनाेज पाैडेल
