१६ वर्षसम्म गाउँमा बिताएपछि सदरमुकाम तानसेन आएर उद्योगमा ढाका बुन्न सिकेँ
पाल्पा — रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा जन्मेहुर्केकी हुँ । अहिले ५० वर्षकी भएँ । माइतीमा ६ दिदीबहिनी र तीन दाजुभाइ थियौं । पाल्पाको दुर्गम गाउँको बसाइँ कहिल्यै सुखद रहेन । अभावमा हुर्किएकाले पढाइमा ध्यानै गएन ।
१६ वर्षसम्म गाउँमा बिताएपछि सदरमुकाम तानसेन आएर उद्योगमा ढाका बुन्न सिकेँ । सुरु–सुरुमा काम गरे पनि कमाइ हुन्थेन । बिस्तारै जे कार्ड ढाका बुन्न सिकेपछि भने धेरै ढाका उद्योगमा काम गर्ने अवसर मिल्यो ।
तानसेन नगरपालिका–७, कुन्सरेका चिनजानका व्यक्तिसित बिहे भयो । अहिले कुन्सरेमा सानो घर र थोरै जग्गा छ । श्रीमान्–श्रीमती मिलेर कमाइ गर्ने साेचअनुसार तानसेन बजारभरि जागिर खोज्दै हिँडेम् । विद्यालय, कलेजमा सहयोगीको काम गर्यौं । भाँडा माझ्ने, संस्थामा कार्यालय सहयोगीको रूपमा पनि काम गर्यौं । दिनहरू बित्दै जाने क्रममा दुई छोरी जन्मिए । अहिले ठूली छोरी पाल्पामै छन् । कान्छी छोरीको ओखलढुंगाका व्यक्तिसित बिहे भयो ।
संघर्ष गर्ने क्रममा तानसेनमा किराना पसल, तरकारी पसल पनि चलायौं । यहाँ जति दुःख गरे पनि नपुगेपछि ऋणधन गरेर श्रीमान्लाई विदेश पठाएँ । तैपनि पुग्ने कमाइ हुन सकेन । अनि मलाई ढाका बुन्ने सीपको सम्झना भयो । अहिले श्रीमान् विदेशमै हुनुहुन्छ । फुर्सदको समयमा म ढाकाका कपडा बुन्छु । ५/६ वर्षअघिसम्म धेरै दुःख थियो । अहिले मैले ढाका उद्योगमा काम गर्ने र विदेशबाट श्रीमान्ले पैसा पठाउने भएकाले घरखर्च चलेको छ । तर पनि सोचे अनुसार पैसा बचाउन सकिएको छैन । दुःख गर्दागर्दै समय बितेको छ ।
ढाका कपडा उद्योगमा अहिले सारी बुन्छु । उद्योगमा काम गर्न थालेपछि अलि सन्तोष भएको छ । पहिले काम गरेका स्थानमा सिकाउने भन्दा पनि अनावश्यक गाली खाने गरेकी थिएँ । अहिले ढाका कपडाको सारी बुन्दा कुनै गुनासो छैन । घरधन्दा सकेर कपडा बुन्ने गरेकी छु । महिनामा ४ देखि ९ वटासम्म सारी बुन्छु । जसबाट महिनामा १० देखि २० हजारसम्म कमाउँछु ।
पहिले धेरै हन्डर ठक्कर खाए पनि अहिले आरामले श्वास फेर्नसम्म पाएकी छु । महँगी अचाक्ली भएकाले जति कमाए पनि पुग्दैन । सामान्य मान्छेलाई घरखर्च चलाउनै मुस्किल छ । विगत सम्झिँदा अहिले पनि आँखामा आँसु भरिन्छ । तर विगत बिर्सने प्रयासमा छु ।
पहिलो पटक तानसेन आउँदा १ सय ५० रुपैयाँ डेरा भाडा तिरेर बस्थेँ । अहिले दुईवटा कोठाको महिनाको ५ हजार ५ सय कोठाभाडा तिर्छु । दाल–चामल, तरकारी, मसलाको मूल्य यति धेरै अकासिएको छ कि कुरै नगरौं । मैले तानसेनमा पहिलो पटक आउँदा २५ किलो चामलको बोरा १ सय ५० रुपैयाँमा किनेकी थिएँ । एक–दुई रुपैयाँ किलोमा तरकारी पाइन्थ्यो ।
अहिले चामलको भाउ २ हजार नाघिसक्यो । तरकारी महँगीले गर्दा २ सय रुपैयाँ किलो पर्छ । मसलाको कुरै छोडौं । १ सय ५० रुपैयाँ किलो पाइने अहिले १ हजार रुपैयाँ किलो पुगेको छ । घर खर्च धान्ने कसरी हो भन्ने छ । बचत गर्ने कुरै छाडौं, खान र लाउनमै आम्दानी ठिक्क हुन्छ ।
थोरै खेतबारीमा अन्न लगाउने गर्छु । तर पनि अहिले उब्जनी गराउन पनि मुस्किल छ । खेती लगाउन खेताला लगाउने हो भने त्यस अनुसारको प्रतिफल पाइँदैन । त्यही भएर आफैं लगाउने गर्छु । उब्जनी राम्रो हुन्न । महँगीमा केही राहत होस् र खेतबारी बाँझिन नदिऊँ भनेर यसो गरेकी हुँ ।
सरकारलाई महँगी नियन्त्रण गर्नका लागि उपाय सोच्न मेरो विशेष सुझाव छ । गरिब विपन्न परिवारलाई बाँच्नै मुस्किल भइसकेको छ । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान पुगोस् ।
प्रस्तुति : माधव अर्याल
