‘सहरले दुई–चार पैसा कमाउन सिकाएको छ’

गाउँमा ९ कक्षा पढ्दापढ्दै मायापिरिममा परेर विवाह गरेँ

चैत्र ३१, २०८१

विष्णुमाया आले

”The city has taught me to earn two to four money”

तनहुँ — छोरा होस् वा छोरी दुवैलाई सानैदेखि जिम्मेवार र आत्मनिर्भर बन्न सिकाउनुपर्ने रहेछ । अहिले पनि  समाजमा छोरालाई धन कमाउन र छोरीलाई घरवार धान्न सिकाइन्छ । प्रविधिको युगमा यस्तो ज्ञान सबैका लागि उपयुक्त नहुँदो रहेछ ।

अहिले ३२ वर्षकी भएँ । उमेर थोरै भए पनि भोगाइले जीवनमा धेरै पाठ सिकाइसकेको छ । ९ कक्षा पढ्दापढ्दै प्रेममा परेँ । मायापिरिममा परेको थाहा पाएपछि आमाबुवाकै स्वीकृतिमा तनहुँकाे व्यास नगरपालिका–१३ का विष्णु आलेसँग विवाह गरेँ । जसलाई सर्वस्व ठानेर बिहे गरेँ, उसैसँग सम्बन्ध दिगो बनेन । बिहेपछि सम्बन्धमा खटपट आएपछि बीचैमा पढाइ छाडेर हिँडेकामा अहिले पछूतो लागिरहेको छ ।

बुवा शिक्षक भएकाले मैले चाहेजति पढाउनु हुन्थ्यो । पढ्नका लागि प्रेरित पनि गर्नुहुन्थ्यो । त्यतिबेला निरन्तर पढेको भए अहिले राम्रो नोकरी गर्थें होला । बिहे गर्ने आफ्नै निर्णय भएकाले अहिलेको भोगाइसित गुनासो गर्ने ठाउँ छैन । अहिले व्यास नगरपालिका–२, दमौलीमा सिलाइकटाइ गरेर आफ्नो र छोराको जीवन निर्वाह गरिरहेकी छु । 

२०६५ सालमा विवाह हुँदा १६ वर्षकी थिएँ । त्यसको चार वर्षपछि छोरा जन्मियो । अहिले बाबु विवश १२ वर्षको भइसक्यो । घर नजिकैको महमाई बोर्डिङ स्कुलमा कक्षा ८ मा पढिरहेको छ । छोरालाई राम्रो स्कुलमा पढाउन भनेर सहर झरेकी थिएँ । यहाँ आएपछि खर्च बढ्यो । केही इलम नगरी नहुने भएपछि यही सहरले मलाई दुई पैसा कमाउन सिकाएको छ ।

हुन त श्रीमानसँगै यहाँ बसाइँ सरेकी थिएँ । दुवै मिलेर पहिलो एक वर्ष किराना पसल पनि चलायौं ।  व्यापार नभएपछि लगानी डुब्यो । आफ्नो हातमा कुनै सीप थिएन । त्यसैले २०७५ जेठमा पैसा तिरेर सिलाइकटाइको काम सिकेँ । त्यसपछि यही कामलाई निरन्तर दिएकी छु । अहिले यही सिलाइ–कटाइ नै मेरो घरखर्च पुर्‍याउने माध्यम बनेको छ ।  

श्रीमान् साथै हुँदा सरसल्लाह र एकअर्कालाई ढाडस मिल्थ्यो । उहाँ अहिले भारतमा हुनुहुन्छ । भूगोलको मात्र होइन, मनको दूरी पनि बढेको छ । हाम्रो सम्बन्धमा खटपट सुरु भएको पनि ५ वर्ष भयो । विगत दुई वर्षदेखि त भेटघाट पनि छैन । अहिले बातचित धेरै हुँदैन । एकअर्कालाई जीउँदै छौं भन्नेसम्म थाहा छ । 

सिलाइकटाइबाट कमाइ ठिकै भइरहेको छ । छोराको विद्यालयको शुल्क, किताब, कपी–कलम, कोठाभाडा, रासनपानी जसोतसो पुर्‍याएकै छु । दुई कोठा भाडामा लिएर बसेका छौं । एक सटर र एक कोठाको गरी महिनामा १२ हजार रुपैयाँ भाडा तिर्नुपर्छ । छोराको विद्यालय शुल्क मात्रै ३ हजार रुपैयाँ दिनुपर्छ । साँझ–बिहानका लागि दाल–चामल, मरमसला खरिद गर्नुपर्छ । महिनाको १० हजारभन्दा बढी भान्छाकै खर्च छ ।  

यो व्यवसायबाट कति कमाइ हुन्छ भन्ने थाहा नै हुन्न । चाडपर्वमा, विवाहको महिनामा ५ देखि ६ हजार रुपैयाँको कमाइ हुन्छ, नभए त्यही एक/दुई सय आउँछ । कुनै दिन त सुको पैसाको पनि कमाइ हुँदैन । गाउँमा जग्गाजमिन छ । म गएर खेतीपाती गर्न भ्याउँदिनँ । बेलाबेलमा माइतीबाट आमाबुवा भेट्न आउँदा तरकारी ल्याइदिनु हुन्छ । अरू यही सिलाइको कमाइले नुनतेल, मसला, चामल, दाल गरी बिहान–बेलुकीको छाक टारेकी हुन्छु ।

सासूससुरा हुनुहुन्न । छोरा र म मात्रै नभएर गाउँमा दाजुभाइ पनि छन् । कहिलेकसो त्यता पनि पुर्‍याउनै पर्छ । मेरो व्यवसायबाट पुर्‍याउन धौ–धौ नै छ । सकेसम्म गरिरहेकै छु । गाह्रो–साह्रो परेका बेला थपथाप बुवाबाट हुन्छ । 

अहिले गुनासो त कुनै कुरामा छैन । पढेर जान्ने बुझ्ने भएको भए केही फरक हुन्थ्यो भन्ने मात्रै हो । अहिले छोराकै मुख हेरेर अगाडि बढिरहेकी छु । छोरो नै सबै कुरा हो । अब यसको भविष्यका लागि दुःख गर्दै छु ।

प्रस्तोता : सम्झना रसाइली

विष्णुमाया

Link copied successfully