परिवारको रेखदेख र खर्चपर्चको जिम्मेवारी मेरै काँधमा छ
तेह्रथुम — तेह्रथुमको मेन्छायेम गाउँपालिकामा २३ वर्षअघि जन्मिए पनि केही वर्षदेखि धरानमा बसेर संघर्ष गरिरहेकी छु । परिवारको रेखदेख र खर्चपर्चको जिम्मेवारी मेरै काँधमा आइपरेको छ । मभन्दा १० वर्ष जेठी दिदीको विवाह भएपछि घरमा बुवा–आमा र म मात्रै छौं ।
स्नातक तह अध्ययनका लागि २०७७ सालमा धरान आएर महेन्द्र बहुमुखी क्याम्पसमा बीएमा भर्ना भएकी थिएँ । सुरुमा धरान–५, देउरालीमा आफन्तको घरमा बसेर कलेज धाएँ । कलेज टाढा भएकाले एक वर्षपछि धरान–१५, पर्वत टोल मार्गमा भाडाको कोठामा बस्छु । बुवाले कृषि काम गरेर गुजारा चलाउनु हुन्थ्यो । सधैं आर्थिक अभाव हुँदा कतिपय सपनाहरू त्याग्नुपर्ने बाध्यता पहिले पनि थियो र अहिले पनि छ ।
अभाव देखेपछि काम गर्दै कलेज पढ्ने निधो गरेँ । सुरुमा गिफ्ट हाउसमा काम गरेँ । त्यहाँ पारिश्रमिक कम दिएपछि धेरै दिन काम गरिनँ । काम नगरी बस्ने अवस्था थिएन । तीन वर्षदेखि धरानको घन्टाघरपछाडिको भाँडा पसलमा काम गरिरहेकी छु । बिहान ८ देखि बेलुका ८ बजेसम्म काम गर्नुपर्छ । पसलले मासिक १२ हजार तलब दिएको छ । यतिले कोठा भाडा, भान्छाको खर्च पुर्याएर अलिकति पैसा घर पठाउँछु ।
बुवा नसासम्बन्धी रोगले पीडित हुनुहुन्छ । केही महिनाअगाडि धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरियो । त्यहाँ निको नभएपछि काठमाडौं पुर्याएर उपचार गराएर ल्याएँ । पुर्ख्यौली सम्पत्तिका नाममा पहाडमा थोरै जमिन छ । तागत भइन्जेल त बुवाले खेतीपाती गर्नुभयो, तर अहिले सक्नु हुन्न । आमाले सकी नसकी बारीमा नगदे बाली लगाउनु भएको छ । २/४ वटा बाख्रा पाल्नु भएको छ । त्यसबाट हुने कमाइ उपचारमा ठिक्क हुन्छ ।
आमाले बाख्रा बेचेर जम्मा गर्ने पैसा र मेरो तलबबाट हुने बचतले बुवाका लागि महिनाको ६ हजारको दबाई किन्छौं । बुवाको उपचारका लागि धेरै रकम चाहिएका दिन के गर्ने भन्ने चिन्ता लाग्छ । कोठा भाडा ३ हजार तिर्छु । बत्ती–पानीको बिल र खानामा सबै कमँइ सकिन्छ ।
स्नातक तह उत्तीर्ण गरेर बसेकी छु । लोकसेवा आयोगको तयारी गर्न समय छैन । दिनभरि काम गरेर थकित भएपछि रातमा पढ्न सकिँदैन । पसलको जागिर भएकाले भनेको बेला छुट्टी पाउन गाह्रो छ । कहिलेकाहीँ काम छोडिदिऊँजस्तो लाग्छ । तर, घरखर्च कसरी चलाउने होला भन्ने पिरले त्यसो गर्न सक्दिनँ । कहिलेकाहीँ विदेश गएर खटेको भए धेरै पैसा कमाइन्थ्यो होला भन्ने सोच आउँछ । बुवा–आमाको सहारा नभएकाले बिदेसिने पनि सोच्न सक्दिनँ ।
सामाजिक सञ्जाल हेर्दा मेरो उमेरकाहरू स्वतन्त्र रूपमा रमाइलो गरेर हिँडेको देख्छु । त्यस्ताको भीडमा आफू भने एक्लो लाग्छ । मनमा गुम्सिएका कुरा साथीभाइसँग साट्छु । उनीहरूका पनि मेराजस्तै अनेक समस्या छन् । अनि सबैको भाग्य एउटै हुँदैन रहेछ भनेर चित्त बुझाउँछु ।
मभन्दा धेरै दुःख पाएका व्यक्ति देख्दा जीवन जिउने प्रेरणा मिल्छ । बुवाआमाले दुःख गरेर पढाएको याद गर्छु अनि झन संघर्ष गर्न मन लाग्छ । यही जुनीमा बुवाआमाका सपना पूरा गरेर देखाउन मन छ, खै सक्छु कि सक्दिनँ !
प्रस्तुति : एलिना राई
