राम्रो व्यापार हुँदा फुरुङ्ग पर्छु । एक साताअघि एकै दिन मैले २ हजार रुपैयाँ कमाएको थिएँ
पोखरा — भारतको राजस्थान घर भए पनि २३ वर्षदेखि नेपालमै छु । जन्मपत्र, आधार कार्ड, बोर्डर कार्ड, पासपोर्टमा मेरो नाम बब्लु हरिजंग छ । तर सबैले बब्लु राजस्थानी भनेर मलाई चिन्छन् ।
म अहिले ३९ वर्षको भएँ । जुत्ता सिलाएर र पालिस गरेर घरखर्च जुटाउँछु । मेरो बुवाले पनि यही काम गर्नुभएको थियो । पहिला म काठमाडौंको बौद्धतिर जुत्ता सिलाएर गुजारा गर्थें । त्यसपछि पोखरा आएको पनि १०/११ वर्ष भइसक्यो । पोखराको पृथ्वीचोकमा भाडामा बसे पनि काम गर्दै चिप्लेढुंगा, महेन्द्रपुलतिर डुलिरहन्छु । धेरैजसो लेकसाइडमै हुन्छु ।
मेरो घर पुग्न पोखराबाट तीन दिन लाग्छ । बुवा, श्रीमती र ६ वटा बालबच्चाको लालनपालनको जिम्मेवारी मैमाथि छ । दाइहरू पैसावाला भए पनि बुवालाई हेर्दैनन् । भगवान्ले मलाई जे दिएको छ, त्यसमै खुसी छु । मलाई त मान्छेको दिल सफा हुनुपर्छ भन्ने लाग्छ । मन सफा भएपछि सबैको माया पाइन्छ । पैसा कमाइन्छ, खर्च भइजान्छ ।
जुत्ता सिलाएर महिनाको १० देखि १५ हजार भारतीय रुपैयाँ कमाए पनि खाना र औषधिमा खर्च हुन्छ । बचत हुँदैन, बराबर हुन्छ । महिनाको ४ हजार कोठा भाडा तिर्छु । लेकसाइडमा एक ठाउँमा १ सय २५ रुपैयाँ छाक खाना मिल्छ । त्यहीँ गएर बिहान खान्छु । साँझ कोठानजिकै रेस्टुरेन्टमा गएर ४ पिस रोटी र सब्जीको १ सय ५० रुपैयाँ तिरेर खान्छु । काम गर्ने स्थलबाट कोठासम्म आउ–जाउ गर्दा ६० रुपैयाँ गाडी भाडा लाग्छ ।
मेरो ढाड र दाँत दुख्ने समस्या छ । श्रीमतीको टाउको दुखिराख्छ । एउटी छोरीको आँखा कमजोर छ । त्यसैले औषधि उपचारमै पैसा सकिन्छ । परिवार बिरामी भएपछि पैसा खोज्नकै दिक्कत हुन्छ । यही चिन्ताले मलाई खाइरहेको छ । पानी परेका दिन व्यापार हुँदैन । राम्रो व्यापार हुँदा फुरुङ्ग पर्छु । एक साताअघि एकै दिन मैले २ हजार रुपैयाँ कमाएको थिएँ । ट्रेकिङ गएर फर्किएका पर्यटकका २/३ वटा जुत्ता सिलाएँ, पालिस गरेँ, झोला सिलाएपछि त्यति पैसा हात पर्यो । अरु दिन ८ सयदेखि १ हजार रुपैयाँ कमाइ हुन्छ ।
भारतमा सरकारले महिनामा ४० किलो गहुँ निःशुल्क दिन्छ । घरमा ८ जनालाई त्यसैले पुग्छ । कमाएको पैसाले खाना र औषधि पुग्छ । खर्च नभएका बेला साथीहरूले परिवारलाई सहयोग गर्दिन्छन् । बच्चाबच्ची स्कुल पठाएपछि साह्रै खुसी हुन्छु । स्कुल नगएपछि एकदमै दुःख लाग्छ । मेरो जिन्दगी गरिबीमा गइसक्यो । जहिल्यै प्रार्थना गर्छु– ‘भगवान् ! मैले दुःख हेरिसक्यो, बच्चाहरूलाई यस्तो दुःख नहेराइदिनू ।’
६ जनामध्ये ठूली छोरी १२ कक्षा पढ्छे । विज्ञान विषय पढिरहेकी छ । अरू बच्चा पढ्दैनन् । ठूली छोरीले म पढेर मेरो भविष्य बनेपछि भाइबहिनी पढाउँछु भन्छे । खोइ, कुनबेला भविष्य परिवर्तन हुन्छ । मैले १० वर्षअघि यहीँ एक जना स्पेनको पर्यटक भेटेको थिएँ । उसलाई मेरो दुःख सुनाएँ । त्यसपछि उसले नै मेरो ठूलो छोरीका लागि वर्षैपिच्छे पैसा पठाइदिन्छ । मेरो खातामा त्यो पैसा आउँदैन, वर्षमा एकैपटक सिधै स्कुलमा पैसा पठाइदिन्छ ।
मैले कत्ति पनि पढिनँ । नेपाल आएर थोरै अंग्रेजी बोल्न सिकेँ । पर्यटकलाई ‘क्लिनिङ सुज सर ?’, ‘रिपयेरिङ योर सुज सर ?’ भनेर बोलाउँछु । नेपाली त म बुझ्छु, बोल्छु । मसँग धेरै पैसा हुन्थ्यो भने म आफ्नै कपडा र जुत्ता पसल खोल्थेँ । बच्चाहरूलाई पढाउँथें । म चुरोट र रक्सी केही खान्न । ४/४ महिनामा घर जान्छु । अब २ हप्ता बसेर फेरि जान्छु । १५/२० दिन बसेर फर्किन्छु । हाम्रो राजस्थानमा एकदमै गर्मी छ । पोखरा शीतलो छ ।
प्रस्तुति : अनुप पौडेल
