‘इलम गरेर खानुपर्छ भनेरै ४ लाखमा ई-रिक्सा किनेँ’

घरको दुःख देखेरै २०५७ सालमा ८ कक्षा पास हुनासाथ नेपाल प्रहरीमा भर्ना भएँ

वैशाख १८, २०८२

चामु थारु

”I bought an e-rickshaw for 4 lakh just because I had to do Ilam and eat”

रुपन्देही — म सानै छँदै बुवा बित्नुभयो । म समेत दुई दिदी र एक बहिनीको रेखदेख जिम्मेवारी आमामाथि थियो । आमालाई सारा घर व्यवहारको दुःखले छोप्यो । घरको दुःख देखेरै २०५७ सालमा ८ कक्षा पास हुनासाथ नेपाल प्रहरीमा भर्ना भएँ । १७ वर्ष सेवा गरेँ । प्रहरीको जागिरले मलाई परिवार पाल्न सजिलो भयो । प्रहरीमा जागिर खाँदा मेरो सुरु तलब २ हजार ९ सय ३७ रुपैयाँ थियो । तलब बुझेर पहिलोपटक घरमा २ हजार रुपैयाँ पठाउँदाको क्षण अहिले पनि भुल्न सक्दिनँ ।

सिपाहीबाट हवल्दारमा बढुवा भएको केही समयपछि अवकाश पाए । पुलिसमा हुँदो पो ड्युटी गरेर दिन कट्थे । घर आएपछि मन थीर नहुने । काम नगरी बस्नै सकिनँ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, केवलपुरमा दिन कटाउनै धौ हुन थालेपछि केही न केही काम गर्ने सोच बनाएँ ।

अहिले ४४ वर्षको भएँ । अहिले ७७ वर्षकी आमा, श्रीमती र २ छोरा छन् । प्रहरीको ब्यारेकबाट बाहिर निस्केपछि मलाई छटपटी भयो । त्यही बेला साथीभाइको सल्लाहले ४ लाखमा इ–रिक्सा किनेँ । बिहान ६/७ बजे नै रिक्सा लिएर निस्कन्छु । बिहान १० बजे घरमै आएर खाना खान्छु । त्यसपछि कामबाट साँझ मात्र फर्किन्छु । रिक्सा चलाउन थालेपछि घरबाहिर मुस्किलले एक कप चिया पिउँछु ।

रिक्सा चलाएर दिनमा त्यहीँ २ हजार रुपैयाँ जति कमाइ भइहाल्छ । हरेक दिन अलिकति पैसा बचत गर्छु । यही कमाइ र पेन्सनको रकमले जेठो छोरालाई इन्जिनियरिङ पढाएको छु । कान्छो छोरा स्थानीय विद्यालयमा ९ मा पढाउन सकेको छु ।

घरखर्चका लागि महिनामा १० हजारजति एकमुष्ठ श्रीमतीलाई दिन्छु । बाँकी जम्मा भएको पैसामध्ये छोरालाई खर्च पठाउनुपर्छ । धरानमा बसेर पढिरहेको छोराले कोठाभाडा ४ हजार, एक छाक खानाको ६० रुपैयाँको दरले बुझाउँछ । उसको फिस मात्रै महिनाको २५ हजार छ । पढाइ सकिन अझै साढे २ वर्ष बाँकी छ । श्रीमतीले पनि फुर्मास गर्नु हुँदैन भन्छिन् । उनको बानीले सहज भएको छ । मेरो पढ्ने धोको अधुरै रह्यो । छोराहरुलाई जसरी पनि डिग्रीसम्म पढाउने इच्छा छ ।

ई-रिक्सा पनि खर्चिलो छ । दैनिक ब्याट्री चार्ज गर्दा १ सय रुपैयाँ बिल उठ्छ । ब्याट्री मर्मत गर्नुपरे दिनकै २ सय जान्छ । कमाएको सबै बचत हुन पाए त अहिलेसम्म १० लाख पुग्थ्यो होला । यसबाहेक मेरो महिनामा १५ हजार रुपैयाँ पेन्सन आउँछ । 

हाम्रो पालामा साइकल नै मुख्य सवारीसाधन थियो । साथीको मोटरसाइकल देख्दा चढ्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । मोटरसाइकलको रहर अझै पूरा भएको छैन । पहिले पाइनँ, अहिले चढ्न मन लाग्दैन । घुमफिर गर्न, परिवारसित रमाउन मन त लाग्थ्यो, तर सबै कुरा मनमै सीमित भए । प्रहरीमा हुँदा एकपटक दक्षिण अफ्रिका मिसनमा गएको थिएँ । त्यतिले विदेशी भूमिमा टेकेँ भन्ने भयो ।

अभावका कारण रहर मारेर सम्झौतामा जिन्दगी जिइयो । दुःखमा ती पल यादमा पनि राख्न मन लाग्दैन । टुटेका इच्छा सम्झिएर के गर्नु ? अब स्वस्थ रहन सकूँ । कसैलाई रोग नलागोस्, मैले कमाएर इच्छा पूरा गर्न सकूँ । कसैको सुःख देखेर त्यहीअनुसार चल्न खोज्दा दुःखी भइँदो रहेछ । त्यसैले जे छ, त्यसैमा सन्तुष्ट हुने हो । जति सकिन्छ त्यति गरेर रमाउनु नै खासमा जीवन रहेछ ।

सँगैका साथी जागिर छोडेर विदेश पनि गए । तर मलाई भने देश र घरको मायाले यहीँ राख्यो । अहिले प्रशस्त कमाइ नभए पनि सन्तुष्ट छु । भनिन्छ नि, जति इच्छा, त्यति कष्ट । मैले पैसा कमाएर जोगाउन सके न छोराहरुलाई घडेरी जोडिदिने हो ।

प्रस्तुति : सन्जु पाैडेल

चामु

Link copied successfully