अरूथोक के नै गर्ने हो र ! यही ज्यान त पाल्ने हो । एक्लो ज्यान यही पानी बेचेरै पालेको छु
काठमाडौं — धादिङमै जन्मेहुर्के पनि त्यहाँ मेरो घर छैन । म अहिले ८३ वर्षको भएँ । काठमाडौंका सडकमा पानी बेचेर दुई छाकको जुगाड गरेको छु । मैले यसरी काम गर्न थालेको झन्डै १२ वर्ष भयो । पहिले सडक छेउमा धुप, नंकट, टुथपिकजस्ता खिच्रीमिच्री सामान बेचेर गुजारा चलाउँथेँ । २ वर्षयता भने पानी बेच्न थालेको हुँ ।
दमको रोग लागेर श्रीमती बितेको ३४ वर्ष भो । उनको लामो समय उपचार गरेँ । धेरै पैसा उनको उपचार खर्चमै सकियो । तर बचाउन सकिएन । उनी भगवान्को प्यारो भइन् ।
एक छोरा र चार छोरी छन् । सबै बिहे गरिवरी आफ्नै दुनियाँमा रमाइरहेका छन् । उनीहरूले आ–आफ्नो गरेर खाएका छन् । अहिले भने म एक्लै बस्छु । काठमाडौंमा एउटा कोठा भाडामा लिएको छु । दिनभर पानी बेच्छु । बेलुका त्यही कोठामा जान्छु । खाना बनाउँछु, खान्छु र झुपुक्क निदाउँछु । भोलिपल्ट फेरि त्यही काम सुरु हुन्छ । मेरो समय यसरी नै बितिरहेछ ।
गर्मीमा अल्ली धेरै पानी बिक्छ । दिउँसो हतपत्ती कोठामा बस्दिनँ । सडकतिर आएपछि १/२ कार्टुन भए पनि पानी बिकिहाल्छ । जाडोमा भने त्यतिविधि बिक्दैन । कसैलाई ‘पानी किन्नु पानी’ भन्यो भने यस्तो जाडोमा कसले पानी खान्छ बाजे भन्छन् ।
कोठाभाडा पानी, बत्ती सबै गरेर महिनाको पाँच हजार खर्च छ । चामल, तेल, तरकारीमा पनि उत्ति नै खर्च छ । वृद्धभत्ता (सामाजिक सुरक्षा भत्ता) आउँछ । भत्ताले ठूलै राहत दिएको छ । बुढेसकाल लागे पनि स्वाद फेर्न पन्ध्र या महिना दिनमा खसीको मासु बनाएर खान्छु । के गर्ने, लागेको बानी ।
मैले महिनामा यति कमाएँ भनेर हिसाब गरेको छैन । धेरै कमाउने भनेको दिनको हजार/बाह्र सय हो । तर यो कात्तिकदेखि माघसम्म पटक्कै व्यापार हुन्न । सिजनमा कमाएर बचाएको पैसा व्यापार नभएका महिनामा खर्च गर्छु । बोतलको पानी धेरै बिक्ने भनेको चैत र वैशाख महिनामा हो ।
यो उमेरमा पनि आफ्ना हातगोडा चलेका छन् भन्ने कुराले सन्तोष लाग्छ । अरूको भर पर्नु परेको छैन भन्ने कुराले आनन्द मिल्छ । मैले अरूथोक के गर्ने हो र ! यही ज्यान त पाल्ने हो । एक्लो ज्यान त यही पानी बेचेरै जसोतसो पालेकै छु । म त डाँडामाथिको घामजस्तै भइसकेँ । अब त्यस्ता केही सपना छैनन् । यत्ति हो– कसैसँग हात थापेर खान नपरोस् । कसैबाट यो बुढेसकालमा अपमानित हुन नपरोस् ।
मलाई कोठाभाडा तिर्ने र घरखर्च चलाउने पैसा कमाउन पाए पुग्छ । तर कहिलेकाहीं व्यापार नहुँदा गरिखान सकिन्न कि भनेर पीर पनि पर्छ । मनमनै आफैं कुरा गर्छु । किनकि चित्त दुखाए पनि एक्लै, खुसी भए पनि एक्लै । बेलाबेला सोच्छु, बुढी भएको भए दुःखसुखमा साथ हुन्थ्यो । सँगै काम गरेर खान्थेम् ।
खान बस्न मात्र ठिक्क हुने कमाइ भएकाले म अरू कुरामा खर्च गर्दिनँ । कपडा पनि दसैंमा मात्र किन्छु । केही समयअघि एउटा नानीले माया लागेर होला नि दौरा–सुरुवाल किनेर ल्याइदिएकी थिइन् । अहिले त्यही लगाएको छु । यो न्युरोडको धूलोले यो कपडा एकदिनमै फोहोर हुन्छ । कपडा धुने समय पनि हुँदैन । त्यसैले तीन/चार दिनमा धुन्छु अनि फेरि तिनै लाउँछु ।
पानी बेच्दाका अनेक अनुभव छन् । कोही कोहीले त खुसी भएर एक बोतल पानी खाएर हजार रुपैयाँ पनि दिन्छन् । कोहीले बा राख्नूस् भनेर १००/५०० थमाएका जान्छन् । मैले मागेर हैन, उनीहरू नै खुसी भएर दिएका हुन् । कसै कसैले भने कति महँगोमा पानी बेचेको भनेर पनि हकार्छन् । कोही भने बिर्को खोल्न लागेको पानी पनि महँगो भयो भनेर फिर्ता गर्छन् ।
पहिला त पानी बेच्न सजिलै थियो । अहिले भने काठमाडौं महानगरले कडाइ गरेको छ, दिन्न । अलि पहिलेको कुरा हो । महानगरका प्रहरीले मेरो पानी उठाएर लैजान लागेका थिए । म त्यतिबेला खुबै रिसाएँ । मैले त होसै गुमाएर हान्नलाई ढुङ्गा नै उचालेछु । रिस थामिएपछि 'किन यस्तो गरेँ हुँला !' भन्ने पनि लाग्यो ।
यही पानी बेचेर एक्लो ज्यान पालेको छु । पानी पनि बेच्न नपाए त भोकै बस्नुबाहेक उपाय हुन्न होला मेरो ।
प्रस्तुति : आरती पौडेल (प्रशिक्षार्थी)
