पढलेख गर्ने उमेरमा बुवाले सारंगी रेटेर गीत गुनगुनाउन सिकाउनु भयो
संखुवासभा — खाँदबारी बजारमा सारंगी बजाउँदै डुल्दै ४५ वर्ष बिताइसकेँ । उमेर छँदा गलै सुक्ने गरी गीत गाइन्थ्यो । पुराना गीत खुबै चल्थे । उमेरसँगै सारंगीको धुन सुन्ने जमाना पनि घर्कियो ।
बाजेको पालादेखि भोजपुरको अरुण गाउँपालिका–६, जरायोटारमा हाम्रो बसोबास छ । पढलेख गर्ने उमेरमा बुवाले सारंगी रेटेर गीत गुनगुनाउन सिकाउनु भयो ।
अहिले म ६१ वर्षको भएँ । बाल्यकालमा सिकेको त्यही सीपले अहिलेसम्म गुजारा चलाउन मद्दत गरिरहेको छ । हुन त मेरा १ छोरी र ४ छोरा छन् । छोरीको बिहे भइसक्यो भने चारै छोरा अहिले सम्पर्कमा छैनन् । घरै बसेर खाइपिइ गर भन्नलाई पुग्ने गरी कमाउन नसकिएकाले छोराहरू लाखापाखा लागे । अहिले कुराकानीसम्म नहुने गरी उनीहरूले माया मारे । बैंस हुँदा पनि छोराछोरीको रहर र आवश्यकता पूरा गर्न सकिनँ ।
मेरो साथी भनेको यही १० वर्ष पुरानो सारंगीको हालत पनि ठिक छैन । यसका तार गतिला नभए पनि जसोतसो बजाइरहेको छु । मलाई गाउँ/सहरमा बमबहादुर गाइने भनेर चिन्छन् । पहिले जरायोटारबाट खाँदबारी आउन एक दिन पैदल यात्रा गर्नुपर्थ्यो । अहिले घरबाट यहाँसम्म गाडी चल्न थालेपछि सजिलो भएको छ । घरबाट हिँडेरै अरुण पुल तरेपछि धनकुटाको लेगुवाबाट गाडी चढेर खाँदबारी आउाछु र यहाँका आँगन–आँगन पुगेर गीत सुनाउँछु ।
रोज घरदैलो गर्दाको दुःख देख्नेले ५ देखि ५० रुपैयाँसम्म दिएर जान्छन् । गीत गाउन सकेका दिन एक्लो ज्यानलाई एक छाक खान पुग्छ । नसकेका दिन भोकै बिताउनु पर्छ । दुई वर्षअघि श्रीमती सरस्वतीको निधन भएपछि एक्लै भएँ । श्रीमती हुँदा सँगै गीत गाउन हिँडेर साथ दिन्थिन् । खाँदबारीमा खान र बस्नका लागि दिनको ४ सयजति खर्च हुन्छ । दिनभरि डुलेर यति रकम जम्मा गर्न पनि हम्मे पर्छ । भाग्यले जुरेका दिन एक हजारसम्म कमाइ हुन्छ । कोही बेला १ सय रुपैयाँ कमाउन पनि सकिँदैन ।
एकातिर बुढ्यौलीले होला गलाबाट स्वर निस्किँदैन, अर्कोतिर सारंगीको तार फेर्न सकेको छैन । त्यसैले श्रोता लठ्याउने गरी गीत गाउन नसक्दा अचेल त दाल–चामल किन्ने पैसा पनि उठ्दैन । यहाँ एक आफन्तकोमा आश्रय लिएर बस्छु । किनिखानु महँगो भए पनि एक्लो ज्यान बाँच्न त पर्यो भनेर होटल गएर सादा खाना खान्छु । १५ दिनमा एकफेर मासुभात खान्छु ।
दुई पैसा कसरी हात पार्न सकिएला भन्नेमै मेरो ध्यान हुन्छ । बिहान–बेलुका सडक किनारमा रुमाल थापेर बस्छु । खाँदबारीमा शनिबारे हाट लागेका दिन धेरै रकम जम्मा हुन्छ । जरायोटारमा अहिले १५ परिवार गन्धर्व छन् । पाखोबारीमा खेती गरे पनि बाँदरले स्याहार्न दिँदैन । सुक्खा डाँडा भएकाले पिउने पानीको अभाव छ । सागसब्जी केही नफल्ने हुँदा हरियोपरियो देख्न पाइँदैन । त्यसैले दुःखसुखका गीत नगाई हुँदैन ।
मलाई ५०/६० जति गीत त कण्ठै छन् । बजारमा चलेका गीत गाउन स्वरले भ्याउँदैन । नयाँ लुगा किनेर नलगाएको दुई वर्ष भयो । धेरै जसो अरुले लगाएका पुराना लुगा दिन्छन् र त्यही लगाउँछु । मैलो र टाटा, धब्बा भएका लुगा लगाएरै हिँड्छु । गीत गाएर पुग्ने पैसा जम्मा गर्न त सकिएन । तैपनि, बिरामी परिहाले उपचार गर्न २/४ हजार चाहिएला भनेर बचत गरेको छु । तर, गम्भीर रोग लाग्यो भने थला पर्नेबाहेक उपाय छैन ।
नयाँ सारंगी किन्नका लागि बजार गएर मूल्य सोधेको २० हजार पर्छ भने । मूल्य सुनेर मन खिन्न भो अनि एकफेर नयाँ सारंगीलाई सुमसुम्याएर घर फर्किएँ । गत वर्ष रुखमा घाँस झार्न जाँदा लडेर एक महिना थला परेँ । त्यतिबेला उपचारमा ३० हजार खर्च भयो । त्यतिबेला लागेको चोटले गर्दा अहिले पनि च्वास्सच्वास्स ढाड दुख्छ । ढुंगामाटोले बनाइने घरमा गाह्रो लगाउन सिकेको छु । शरीरले साथ दिँदा मिस्त्री काम गरेर दिनको ५ सयसम्म कमाउँछु । तर, अहिले त पक्की घर बन्न थालेपछि त्यही काम पनि खोसियो ।
प्रस्तुति : दीपेन्द्र शाक्य
