'पैसा नभएपछि राम्रो लाउन र मिठो खान मन लाग्ने रहेनछ'

७ वर्षअघि क्यान्सर लागेर श्रीमान्‌को निधन भएपछि एक्लै संघर्ष गरिरहेकी छु

फाल्गुन २७, २०८१

ज्ञानु अधिकारी

'When there is no money, you will not want to have nice clothes and delicious food'

सुर्खेत — वीरेन्द्रनगर–५, चिसापानीमा नातिनातिना हेरेर बसिरहेकी छु । ६ वर्षको उमेरमै छोराको मृत्यु भयो । ७ वर्षअघि क्यान्सर लागेर श्रीमान‍्को निधन भएपछि एक्लै संघर्ष गरिरहेकी छु । श्रीमान् हुन्जेल दुई जनाले मजदुरी गरेर तीन छोरी हुर्कायौं । छोरीहरू बिहेवारी गरेर आ–आफ्नो घर गए । अहिले २ छोरीबाट जन्मिएका १४, ११ र ८ वर्षका नातिनी र १६ वर्षको नाति मसित बस्छन् ।

सास रहेसम्म साँझ–बिहान गाँस पनि चाहिने भएरै तीन २० उमेर कटिसक्दासमेत काममा जोतिनु परेको छ । २०५३ सालदेखि जंगलबाट सालका पात टिपेर ल्याएर दुना, टपरी बनाएर घरखर्च चलाइरहेकी छु । कामधन्दा केही नभएका बेला गाउँमा गठन भएको महिला समूहकी सदस्य बनेँ ।

समूहले आय–आर्जनका लागि रामजानकी दुनाटपरी उद्योग सुरु गर्‍यो । गाउँघरका दिदीबहिनीसँगै अहिले म पनि त्यही उद्योगमा काम गर्छु । दुना, टपरीका लागि पहिले–पहिले भुइँबाटै सालका पात टिप्न सकिन्थ्यो । अचेल अग्ला रुख नचढी नहुने भएकाले गाह्रो लाग्न थालेको छ । उमेर बढ्दै गएर होला गत वर्ष चढेको रुख यसपालि चढ्न सक्दिनँ । 

पात टिप्न गएका बेला किराले टोकेको सम्झिँदा त डोकोमा तरकारी बेच्न बजारतिर जाऊँ कि जस्तो लाग्छ । तर, तरकारी रोप्न आफ्नो बारी छैन, किनेर बेचौं पैसा हुँदैन । अनि आफ्नै काममा ध्यान दिन्छु । अहिले दुना, टपरी हात र मेसिनबाट बनाइरहेका छौं । हातले बनाएको र मेसिनले निर्माण गरेको मूल्य पनि फरक हुन्छ । दुःख गरेर बनाएका दुना र टपरी बजारमा खपत हुन्छन् । यसबाट महिनाको ८ देखि ९ हजार कमाइ हुन्छ । यही पैसाले महिनाभरका लागि तरकारी, चामल, दाललगायत सामान किन्छु । 

महिनामा चामलको मात्र २५ देखि २७ सय खर्च लाग्छ । ४ किलो दाललाई हजार/बाह्र सय लाग्छ । २ किलो आलु किन्दा ४ दिन मात्र पुग्छ । एक किलो आलुको ५०/६० रुपैयाँ छ । अहिले प्याज १ सय ५ रुपैयाँ प्रतिकिलो छ । महिनाको १ पेटी अर्थात् १० लिटर खाने तेल सकिन्छ । केटाकेटीलाई खाजा, नास्ता गरेर महिनाको १२ हजारजति खर्च भइहाल्छ । आम्दानीभन्दा खर्च धेरै भएकाले पुर्‍याउन मुस्किल पर्छ । हरेक तीन महिनामा मिल्ने एकल महिलाबापतको ८ हजार सामाजिक सुरक्षाभत्ताले गाह्रोसाह्रोमा भरथेग हुन्छ । 

भूमिहीन भएकाले सरकारले उपलब्ध गराएको १० धुर जग्गामा ओत लाग्न मिल्ने घर बनाएर बसेकी छु । घर बनाउँदा सहकारीबाट ऋण र सापटी गरेर ६ लाख जति खर्च भयो । महिनामा १/२ हजार बचत भयो कि सहकारीमा गएर ब्याज तिर्न काम लाग्छ । साँवा र ब्याजका लागि साउदी अरबबाट छोरीले पैसा पठाउने गर्दा केही सजिलो भएको छ । अहिलेसम्म २ लाख रिन तिरिसकियो ।

एउटा छोरी साउदी र अर्की भारत गएका छन् । उनीहरूका छोराछोरी मसँग बस्छन् । कान्छी छोरी कुवेत गएको पनि दुई वर्ष पुग्न लाग्यो । कहिलेकसो उसले पनि पैसा पठाउने गरेकी छ । सामुदायिक विद्यालयमा पढ्ने नाति–नातिनाका लागि लाग्ने विद्यालयको खर्च छोरीहरूले नै पठाउँछन् । किताब, कापी, कपडा, झोला, कलम मैले किन्नु पर्दैन । 

तर, घरमा नदेखिने अनेक खर्च हुन्छन नि ! बिजुली र पानीको बिल तिर्नैपर्छ । जस्तो पायो, त्यस्तै लाउने भएकाले कपडामा धेरै खर्च छैन । चाडपर्वका बेला एकजोर नयाँ कपडा किन्छु । पुरानो फाटेर कामै नलाग्ने भएपछि मात्र नयाँ जुत्ता–चप्पल किन्छु । पैसा नभएपछि नयाँ नयाँ लाउन र मिठो मिठो खान मन लाग्ने रहेनछ ।

श्रीमान‍्को उपचारका क्रममा लागेको ७० हजार रिन दाइ र भाइ मिलेर तिरिदिएपछि हलुको भयो । कहिलेसम्म दुना, टपरी खुट्नुपर्ने हो ठेगान छैन । तैपनि अलिकति पैसा भैदिए सानोतिनो पसल गरेर बस्न मन छ । यत्तिको कमाइले त्यो धोको पूरा होलाजस्तो लाग्दैन । 

प्रस्तुति : तृप्ति शाही

ज्ञानु अधिकारी

Link copied successfully