७ वर्षअघि क्यान्सर लागेर श्रीमान्को निधन भएपछि एक्लै संघर्ष गरिरहेकी छु
सुर्खेत — वीरेन्द्रनगर–५, चिसापानीमा नातिनातिना हेरेर बसिरहेकी छु । ६ वर्षको उमेरमै छोराको मृत्यु भयो । ७ वर्षअघि क्यान्सर लागेर श्रीमान्को निधन भएपछि एक्लै संघर्ष गरिरहेकी छु । श्रीमान् हुन्जेल दुई जनाले मजदुरी गरेर तीन छोरी हुर्कायौं । छोरीहरू बिहेवारी गरेर आ–आफ्नो घर गए । अहिले २ छोरीबाट जन्मिएका १४, ११ र ८ वर्षका नातिनी र १६ वर्षको नाति मसित बस्छन् ।
सास रहेसम्म साँझ–बिहान गाँस पनि चाहिने भएरै तीन २० उमेर कटिसक्दासमेत काममा जोतिनु परेको छ । २०५३ सालदेखि जंगलबाट सालका पात टिपेर ल्याएर दुना, टपरी बनाएर घरखर्च चलाइरहेकी छु । कामधन्दा केही नभएका बेला गाउँमा गठन भएको महिला समूहकी सदस्य बनेँ ।
समूहले आय–आर्जनका लागि रामजानकी दुनाटपरी उद्योग सुरु गर्यो । गाउँघरका दिदीबहिनीसँगै अहिले म पनि त्यही उद्योगमा काम गर्छु । दुना, टपरीका लागि पहिले–पहिले भुइँबाटै सालका पात टिप्न सकिन्थ्यो । अचेल अग्ला रुख नचढी नहुने भएकाले गाह्रो लाग्न थालेको छ । उमेर बढ्दै गएर होला गत वर्ष चढेको रुख यसपालि चढ्न सक्दिनँ ।
पात टिप्न गएका बेला किराले टोकेको सम्झिँदा त डोकोमा तरकारी बेच्न बजारतिर जाऊँ कि जस्तो लाग्छ । तर, तरकारी रोप्न आफ्नो बारी छैन, किनेर बेचौं पैसा हुँदैन । अनि आफ्नै काममा ध्यान दिन्छु । अहिले दुना, टपरी हात र मेसिनबाट बनाइरहेका छौं । हातले बनाएको र मेसिनले निर्माण गरेको मूल्य पनि फरक हुन्छ । दुःख गरेर बनाएका दुना र टपरी बजारमा खपत हुन्छन् । यसबाट महिनाको ८ देखि ९ हजार कमाइ हुन्छ । यही पैसाले महिनाभरका लागि तरकारी, चामल, दाललगायत सामान किन्छु ।
महिनामा चामलको मात्र २५ देखि २७ सय खर्च लाग्छ । ४ किलो दाललाई हजार/बाह्र सय लाग्छ । २ किलो आलु किन्दा ४ दिन मात्र पुग्छ । एक किलो आलुको ५०/६० रुपैयाँ छ । अहिले प्याज १ सय ५ रुपैयाँ प्रतिकिलो छ । महिनाको १ पेटी अर्थात् १० लिटर खाने तेल सकिन्छ । केटाकेटीलाई खाजा, नास्ता गरेर महिनाको १२ हजारजति खर्च भइहाल्छ । आम्दानीभन्दा खर्च धेरै भएकाले पुर्याउन मुस्किल पर्छ । हरेक तीन महिनामा मिल्ने एकल महिलाबापतको ८ हजार सामाजिक सुरक्षाभत्ताले गाह्रोसाह्रोमा भरथेग हुन्छ ।
भूमिहीन भएकाले सरकारले उपलब्ध गराएको १० धुर जग्गामा ओत लाग्न मिल्ने घर बनाएर बसेकी छु । घर बनाउँदा सहकारीबाट ऋण र सापटी गरेर ६ लाख जति खर्च भयो । महिनामा १/२ हजार बचत भयो कि सहकारीमा गएर ब्याज तिर्न काम लाग्छ । साँवा र ब्याजका लागि साउदी अरबबाट छोरीले पैसा पठाउने गर्दा केही सजिलो भएको छ । अहिलेसम्म २ लाख रिन तिरिसकियो ।
एउटा छोरी साउदी र अर्की भारत गएका छन् । उनीहरूका छोराछोरी मसँग बस्छन् । कान्छी छोरी कुवेत गएको पनि दुई वर्ष पुग्न लाग्यो । कहिलेकसो उसले पनि पैसा पठाउने गरेकी छ । सामुदायिक विद्यालयमा पढ्ने नाति–नातिनाका लागि लाग्ने विद्यालयको खर्च छोरीहरूले नै पठाउँछन् । किताब, कापी, कपडा, झोला, कलम मैले किन्नु पर्दैन ।
तर, घरमा नदेखिने अनेक खर्च हुन्छन नि ! बिजुली र पानीको बिल तिर्नैपर्छ । जस्तो पायो, त्यस्तै लाउने भएकाले कपडामा धेरै खर्च छैन । चाडपर्वका बेला एकजोर नयाँ कपडा किन्छु । पुरानो फाटेर कामै नलाग्ने भएपछि मात्र नयाँ जुत्ता–चप्पल किन्छु । पैसा नभएपछि नयाँ नयाँ लाउन र मिठो मिठो खान मन लाग्ने रहेनछ ।
श्रीमान्को उपचारका क्रममा लागेको ७० हजार रिन दाइ र भाइ मिलेर तिरिदिएपछि हलुको भयो । कहिलेसम्म दुना, टपरी खुट्नुपर्ने हो ठेगान छैन । तैपनि अलिकति पैसा भैदिए सानोतिनो पसल गरेर बस्न मन छ । यत्तिको कमाइले त्यो धोको पूरा होलाजस्तो लाग्दैन ।
प्रस्तुति : तृप्ति शाही
