‘पैसा त हात पर्नासाथ सकिने चिज रहेछ’

हरेक दिन केही न केही नयाँ जिम्मेवारीले अचेटिराख्छन्

फाल्गुन २६, २०८१

धर्मराज थारु

”Money is something that can be used up.”

तिलोत्तमा — उमेरसँगसँगै दुःख पनि बढ्दैछन् । एकदिन त आराम गर्न पाउँला भन्दाभन्दै ५० वर्षको भइसकेँ । तर, घर–व्यवहारले बूढो हुन लागिस्, आराम गर् नभन्ने रहेछ । हरेक दिन केही न केही नयाँ जिम्मेवारीले अचेटी राख्छन् ।

मेरा ६ वटी छोरी हुन् । बुवालाई दुःख हुन्छ भनेर चार जनाले आफैं हाँसीखुसी बिहे गरे । घरमा रहेका दुई छोरीमध्ये कान्छी अहिले ११ मा पढ्छिन् । उनले पनि ‘बुवालाई दुःख दिएर पढ्दिनँ’ भनेको सुन्दा मन कटक्क खान्छ ।

मेरा कारण छोरीले पढ्न छोड्नु नपरोस् भनेर सकुन्जेल मिहिनेत गरिरहेको छु । कान्छीभन्दा माथिकी छोरीले भैरहवामा पसल चलाएर बसेकी छिन् । म विगत ८ वर्षदेखि तिलोत्तमा नगरपालिकाको सरसफाइकर्मीका रूपमा कार्यरत छु । बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म पालिकाका सडक सफा राख्ने मेरो काम हो । सडक बढार्ने, झार उखेल्ने, फोहोर टिप्ने, बोटबिरुवा छाँट्ने, पानी हाल्ने र सडक सिंगार्ने जिम्मेवारी पाएको छु । 

तिलोत्तमा–१६, पूर्व बोइयामा २ कोठाको ढलान गरेको घरमा एक छोरी, ज्वाइँ र नातिसँगै बसेर आफ्नो काम गर्छन् । अहिले सुत्न पनि ठाउँ पुग्दैन । तला थपेर सबै जना अट्ने कोठा थप्न मन छ । पैसा भैदिए खेत जोड्ने चाहना छ । मैले कमाउने १८ हजार रुपैयाँले सोचेको पूरा हुन सम्भव छैन । छोरीहरूले दाइजो त लगेनन् । तैपनि ढोगभेटको संस्कार पूरा गर्दा ३ लाख ऋण लागेकाले अहिले महिनाको साढे १३ हजार त ब्याजमात्रै तिर्छु । 

ढाड दुख्ने समस्या भएकाले श्रीमतीको औषधि उपचारका लागि बेलाबेला पैसा आवश्यक परिरहन्छ । त्यस्तो बेला साथीसँग सापटी माग्ने, पालिकाका सुपरभाइजर सरसँग पेस्की मागेर काम चलाउँछु । हामीले पाउने पैसा तलब नभई ज्यालादारीबापतको रकम हो । धेरै काम गर्न सकेमा महिनाको २० हजारसम्म कमाइन्छ । तर अहिले काम गर्दागर्दै लखतरान पर्छु, आराम गर्न मन लाग्छ ।

श्रीमतीले काम नछोड्नु भनिरहन्छिन् । तर, मलाई घरबाहिर काम गर्न मन नभए पनि बाध्य छु । यही आम्दानी पनि नहुने हो भने त खान र ब्याज तिर्ने मेसो हुँदैन । विवाह भइसकेका छोरीले कहिलेकाहीँ खर्च गर्न केही पैसा दिन्छन् । तर उनीहरूसँग नियमित माग्नु पनि भएन । आफ्नै परिवार पाल्न काम गर्छन् । साथमै रहेकी छोरीलाई अर्कै ठाउँमा भाडा खोजेर बस भन्न सकिरहेको छैन । आफ्ना सन्तान तर कोठा अपुग हुँदा उनीहरूलाई पनि समस्या भइरहेको छ । 

सकुन्जेल कर्म गर्नुबाहेक विकल्प छैन । म भक्ति गर्ने मान्छे भएकाले माछामासु र मदिरामा पैसा खर्च हुँदैन । मलाई कहिलेकाहीँ मिठो खाऊँ भन्ने लाग्दा पनिर लिएर आउँछु । अघिपछि श्रीमतीले घरछेउको सानो बारीमा तरकारी रोपेकी छन्, त्यसले गुजारा चल्छ । आफूसँगै काम गर्ने साथीहरूको पनि आर्थिक स्थिति कमजोर भएकाले चित्त बुझाउने बाटो त छ, तर उमेरले साथ छोड्दै जाँदा पिरको भारी बढिरहेको पाउँछु ।

आफूले कमाएर आफ्ना लागि खर्च गरेको भनेको गत वर्ष भारतका केही धाम घुमेँ । ४० हजार रुपैयाँ लाग्यो । श्रीमतीलाई लैजाने इच्छा भए पनि स्वास्थ्य ठीक हुँदैन भन्ने चिन्ताले गइनन् । मलाई कपडा किन्न नआउने भएकाले दुवै जनाका लागि श्रीमतीले किनेर ल्याउँछिन् । दिनैभरि सडकको बास हुँदा स्वास्थ्यमा समस्या पनि आउँछ । धूलो, गाडीले फाल्ने धूवा उत्तिकै छ । भो भन्न मिल्दैन, काम हो– गर्नैपर्छ । पैसा जम्मा होला र यो गरौंला, त्यो गरौंला भनेर मनमा गुन्यो, तर पैसा त हात पर्नासाथ सकिने चिज रहेछ । 

प्रस्तुति : सन्जु पौडेल

धर्मराज

Link copied successfully