जस्ताको छानो हालेर खर र काठले बारेर घर बनाएको छु, यही मेरा लागि सुनको दरबारजस्तो छ
चितवन — बाग्लुङको ताराखोलामा जन्मिए पनि एक जनाले घरायसी काम गर्न भनेर सानैमा भरतपुरको गौरीगञ्ज ल्याए । धेरै वर्ष भरतपुरमै काम गरेर बिताएपछि बागलुङ, म्याग्दी, कास्की हुँदै जिन्दगीको टुँगो खोज्ने क्रममा चितवनको माडी आइपुगेको हुँ । यहाँ आएपछि पनि कहिले कुन कुनो, कहिले कुन गर्दागर्दै अहिले परुई खोलाको बगरछेउमा छाप्रो बनाएर श्रीमती र कान्छो छोरासँगै बसेको छु ।
अरू लेखपढ गर्न चितवन झर्ने बेला आफू काम गर्न आएकाले मैलेजस्तो दुःख कसैले पाएको छैन होला । पुराना दिन सम्झिएर पछुताएर मात्र नहुने ठानेर जस्ताको छानो हालेर खर र काठले बारेर घर बनाएको छु । मेरालागि यही सुनको दरबारजस्तो छ ।
अहिले पक्की घर बनाउने लहर चले पनि पैसा नभएपछि के लाउँछ र ! खोलाबाट ढुंगा ल्याएर माटोको गाह्रोले जडान गरेर लिपपोत गरेर चिटिक्क पारेको घरमा बस्ने चाहना पनि चाहनामै सीमित भो ।
मेरो जन्म २०१९ सालको हो । गौरीगञ्ज आउँदा ५/६ वर्षको थिएँ होला । त्यहाँ लगभग १६ वर्षजति ‘कमैया’ बसेर फेरि बाग्लुङ गएँ । बाग्लुङ पुगेपछि पो बुवा–आमा बितिसकेको थाहा पाएँ । एकमात्र दिदी पनि बिहे गरेर म्याग्दी पुगेकी रहिछन् । दिदीलाई भेट्न पुगेका बेला उहाँले नै मेरो बिहे पनि गराइदिनु भयो ।
नागरिकता टोली आएको मौका छोपेर पहाडबाटै नागरिकता बनाएँ । केही वर्ष निमेक गरेर म्याग्दीमै गुजारा गरेँ । त्यहाँबाट पोखरा गगनगौडा आएर दाउरा बेच्दै गुजारा गरियो । त्यसले केही उपती नलागेपछि भरतपुर आएँ । भरतपुरमा अल्लमल्ल परेका बेला माडीको बाँदरझुलामा जग्गा खुलेको छ भन्ने खबर सुनेर त्यहाँ पुगेँ ।
त्यो बस्ती निकुञ्जभित्र परेको भनेर २०५८ सालको संकटकालमा सरकारले हात्ती लगाएर हटाएपछि भौंतारिदै माडीकै गणेशकुञ्जमा अर्काको जग्गा अँधियाँ गरेर बसियो । त्यही समय नगरपालिकाले परुई खोला क्षेत्रमा कुसुमखोला लगायत ठाउँका भूमिहीनलाई आश्रय दिन लागेको सुनेपछि मैले हारगुहार गरेपछि ६ वर्षअघि अहिलेको बासस्थल मिलेको हो । आफू बास खोज्न भौंतारिरहेका बेला बाँदरझुलामै मलाई छाडेर श्रीमती अर्कैसित गइन् । उनीबाट दुई छोरी जन्मिएका थिए ।
छिमेकीले कर गरेपछि दोस्रो बिहे गरेपछि तीन छोरी र दुई छोरा जन्मिए । एउटी छोरी ९ कक्षा पढ्दै गर्दा मुटुसम्बन्धी समस्याले बितिन् । खर्च गर्ने हैसियत हुन्थ्यो भने छोरीलाई बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ । छोरी बितेको १०/१२ वर्ष भए पनि खर्च अभावले पिरोल्न छाडेको छैन ।
बिहे गरेर अलग्गै बस्न थालेको जेठा छोराबाट दुई नाति छन् । कान्छोको बिहे भएको छैन । १० कट्ठा जमिन अँधियाँ कमाएकाले आधा धान जग्गाधनीलाई बुझाउनु पर्दछ । आफूसित पैसा नहुने भएकाले मल किनेर हाल्न सक्दिनँ । यसपटक श्रीमतीले माउ बाख्रा र दुईवटा साना पाठा १० हजार रुपैयाँमा बिक्री गरिन् । त्यसले कुखुराको सुली मल किनेर खेतमा हाल्दा २२ मुरी धान फल्यो ।
कान्छो छोराले गाडी–ग्यारेजमा काम गरे पनि उसको आम्दानी उसैलाई पुग्दैन । धान पराल बेचेर नुन–तेलको खर्च जोहो गर्दछु । कहिले काहीँ निमेक मजदुरीमा पनि जान्छौं । तर शरीरले साथ दिन छाडेको छ । दुःख त पहिला कति गरियो–गरियो । गोरु छैनन्, ट्याक्टरले खेत जोत्दा पैसा धेरै लाग्छ । तीन ठाउँमा गरी तीन वर्षमा १२ हजारजति ऋण छ । धान रोप्ने बेलामा मल किन्न खोरै रित्याएर बाख्रा बेच्नु परेकाले यो ऋण कसरी तिर्ने होला भन्ने पिर लाग्छ । अहिले श्रीमतीले अँधियाँमा दुईवटा बाख्रा ल्याएर खोरमा राखेकी छन् ।
एक हल गोरु पाल्न सकेको भए ट्यक्टरलाई दिने खर्च जोगिन्थ्यो कि भन्ने लाग्छ । तर गोरु किन्न पनि पैसा चाहियो, बस्तुलाई स्याहार चाहियो र मुख्य कुरो जोत्ने मान्छे चाहियो । मैले त सकुँला नसकुँला, छोरो पनि घरतिर बस्दैन । कहिलेकाहीँ त ढुक्कले निद्रा लाग्ने घरमा बस्न नै नपाइ मरिने भइयो जस्तो लाग्छ । मिठो–मसिनो खानेकुरा किन्न पैसा हुँदैन । चाडपर्वमा सबै भेट भएका बेला मिठो–मसिनो खाने गरेका छौं ।
प्रस्तुति : रमेशकुमार पौडेल
