‘छोरीको विवाह कसरी गर्ने भन्ने चिन्ताले सताइरहन्छ’

आफ्नो ओत लाग्ने ठेगान नभएकाले जेठाजुको घरमा शरण लिनुपरेको छ

फाल्गुन २३, २०८१

सविता देवी साह 

”I am worried about how to marry my daughter”

पर्सा — वीरगन्ज महानगरपालिका–१७, अलौंमा बसिरहेका छौं । आफ्नो ओत लाग्ने ठेगान नभएकाले जेठाजु प्रेमलाल साहको घरमा शरण लिनुपरेको छ । त्यसैले बेघर भएका छैनौं ।

६ वर्षअघि मुटुरोगी नाति विशालको उपचार गराउँदा १२ लाख रुपैयाँ कर्जा चढ्यो । तर, नाति बचाउन सकिएन । एकातिर नाति गुमाउनु पर्दाको शोक र अर्कोतिर कर्जाको पिरले एकपछि अर्को तनाव थप्दै गयो । 

यही चिन्ताले छट्पटाइरहेका पति हरेरामलाई दुई वर्षअिघ पक्षाघात भयो । बिरामी परेपछि त्यसै लड्न दिन भएन भनेर उहाँको उपचारका लागि सक्नेसम्म गरेर निको बनायौं । पतिको उपचार गर्दागर्दै ८ लाख रुपैयाँ ऋण थपियो ।

घरमा एकपछि अर्को सन्ताप पर्दै गयो । त्यही बेला जेठी छोरी सुनिताको विवाह गर्दा थप १३ लाख रुपैयाँ ऋण बोक्नु पर्‍यो । सबै ऋण खप्टिएर ३३ लाख पुग्यो । ऋण दिने चुप लागेर किन बस्थे । भाका नाघेपछि उनीहरू रकम फिर्ता माग्न घरमै धाउन थाले । अनि त कर्जा चुकाउन ६ महिनाअघि ६ धुर जग्गामा बनेको पक्की घर बेच्नुको हामीसित विकल्प रहेन । 

घर बेचेर सडकमा पुगेपछि हामी दम्पती, जेठो छोरा विकास, बुहारी र ५ वर्षीय नाति अदित, कान्छी छोरी पूजासमेत गरी ६ जना जेठाजुको घरमा शरण लिएर बसेका छौं । अझै ५ लाख रुपैयाँ कर्जाको भार थाप्लोमा छ । त्यही कर्जा चुकाउन अहिले म पनि पतिसँगै घर बनाउने मजदुरीको काम गर्छु । पतिले मिस्त्रीको काम गरेबापत दिनको ८ सय र मैले मजदुरी गरेर दैनिक ५ सय रुपैयाँ कमाउँछु । 

छोरो विकासले अटो चलाएर कमाएको पैसाले उसका बालबच्चा पाल्दै ठिक्क छ । अलिकति बचाएर घरखर्च चलाउन छोराले पनि सहयोग गर्न सकेको छैन । परिवारका लागि मासिक ३ बोरा चामल (७५ किलो)का लागि ४ हजार ५ सय रुपैयाँ खर्च हुन्छ । दाल ५ किलो, ४ लिटर तेल, तरकारी, मरमसला आदि गरेर मासिक १०/१२ हजार रुपैयाँ घरखर्च भइहाल्छ ।

सातामा एकपटक शनिबार भए पनि एक किलो कुखुराको मासु खाइन्छ । त्यही मासु किन्न महिनामा १२ सय रुपैयाँ खर्च हुन्छ । लत्ताकपडा, साबुन, पेस्ट आदि खर्चको हिसाब किताब हुँदैन । उच्च रक्तचाप पीडित भएकाले श्रीमानले नियमित औषधि खानुपर्छ । 

विद्यालयको मुख नदेखेकाले अक्षर पनि चिन्दिनँ । बाराको नौतन बहुअरीमा मेरो माइती हो । सात दिदीबहिनी र एउटा कान्छो भाइमध्येकी म जेठी हुँ । मेरो र माहिली बहिनीको विवाह हुनासाथै बुवा बित्नु भयो । त्यसपछि मैले र मेरा पतिले मिलेर बाँकी बहिनी र भाइको विवाह गरेका हौं । कक्षा १२ पास गरेपछि गाउँकै बोर्डिङ स्कुलमा पढाएबापत २० वर्षकी कान्छी छोरी पूजाले महिनाको ४ हजार कमाइ गरे पनि सुको बच्दैन । 

अहिले छोरीको विवाह कसरी गर्ने भन्ने चिन्ताले दिनरात सताइरहन्छ । छोरीलाई बिदा गर्न पाए गंगा नुहाएजस्तो मन हल्का हुन्थ्यो । सिमेन्ट, बालुवा, इँटा र पानी खेलाउँदा हात र खुट्टा पनि सिमेन्टजस्तै कठोर भइसके । धन्न अहिलेसम्म मलाई कुनै रोगव्याधि लागेको छैन । जाडोका दिनभन्दा गर्मी याममा काम गर्दा ज्यानै जालाजस्तो हुन्छ ।

पति र म अरुको घर बनाउँछौं तर आफ्नो नयाँ घर कहिले बन्ने हो, ठेगान छैन । कतिन्जेल यसरी शरणार्थी बनेर बस्नू । अहिले त आफ्नो घरमा बस्ने रहर लाग्न थालेको छ । । कहिलेकाहीँ नयाँ घरमा बसेको सपना पनि देख्छु, तर त्यो सपना कहिले पूरा होला ?

प्रस्तुति : शंकर आचार्य

सविता

Link copied successfully