‘सबै भरथेगको आधार सामाजिक सुरक्षा भत्ता मात्रै हो’

२० वर्षअघि बाढीले बस्ती चुर्लुम्म डुबाएपछि गाउँका धेरै परिवारको उठिबास लाग्यो 

फाल्गुन २५, २०८१

काशीराम महतो 

”The basis of all benefits is social security allowance only”

पूर्वी नवलपरासी — अहिले मेरो बसोबास पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–६, धजाहामा छ । यो हाम्रो पुर्ख्यौली थलो भने होइन । पुरानो बासस्थल मध्यबिन्दु–२, सेहरीमा परिवारको नाममा १० कठ्ठा जग्गासमेत थियो । त्यहाँ खेतीपाती राम्रो हुने भएकाले दुई छाक खान परिवारलाई कष्ट हुन्थेन ।

अन्य गाउँलेको जस्तै जेनतेन खेती किसानीबाट गुजारा चलिरहेको थियो । अहिले म ७० वर्षको भएँ । २० वर्षअघि नारायणी नदीमा आएको बाढीले बस्ती चुर्लुम्म डुबाएपछि गाउँका धेरै परिवारको उठिबास लाग्यो । 

हेलिकप्टरले उद्धार गरी हामीलाई डुब्नबाट जोगाइएको थियो । पानी सुके पनि बाढीको त्रास कायम रहेपछि बस्ती छाड्नु पर्‍यो । विस्थापित बासिन्दालाई घर बनाउन भनेर सरकारले १०/१० धुर जमिन दियो । मैले पनि त्यही जग्गामा घर बनाएर बसेदेखि दुःखका दिन सुरु भए । 

खेतीपातीका लागि जग्गा नभएपछि गुजाराका लागि नयाँ काम गर्नुपर्‍यो । घरखर्च जोरजाम गर्ने उपाय नभएपछि पुर्खाको सीपको सम्झना आयो । बालख छँदा बुवाले डोरी, नाम्लो लगायत सामान बुनेको देखेको थिएँ । मैले पनि त्यही काम गर्न थालेँ । 

मेरो आफ्नै कथाव्यथा छ । १० वर्षको उमेरसम्म मेरालागि संसार झलमल्लै थियो । त्यसपछि भाग्यले ठग्यो र आँखाको ज्योति गुमाउन पुगेँ । के कारण आँखा देख्न छाँडेँ, अहिलेसम्म थाहा छैन । बुवा–आमाले अस्पताल लगेर शल्यक्रिया पनि गराउनुभयो ।

केही समयसम्म अलिअलि देखे पनि बिस्तारै दुवै आँखा ठप्प भए । हेर्दाहेर्दै संसारसँगै भविष्य पनि अन्धकारमय भयो । अन्नपातदेखि नुन, तेल र मरमसला किनेर खानुपर्ने भयो । छाक जुटाउन मजदुरी गर्नुपर्ने बाध्यता भए पनि आँखा नदेख्ने भएकाले साथीभाइले लैजान खोज्थेनन् ।

कमाइ नभएपछि दुई छाक खान पनि धौ–धौ हुन थाल्यो । अनि हरेक दिन बजार पुगेर डोरी, नाम्ला, फलफूल लगायत सामान बिक्री गर्न थालेँ । गाउँघरबाट संकलन गरिएका बोराबाट धागो निकालेर नाम्लो र डोरी बुनिसकेपछि बिक्री गर्न दिनहुँ १०/१२ किलोमिटर हिँडेर चोरमारा, डण्डा, कावासोती बजार पुग्छु । 

सातामा दुई/तीन दिन डोरी र नाम्लो बुन्ने र बाँकी दिन बिक्री गर्ने गर्छु । सहयोगी कोही नभएकाले एक्लै बजार जान्छु । बजार गएका दिन २/३ सय रुपैयाँ कमाइ हुन्छ । पैसा चिन्ने भएकाले त्यति समस्या पनि लाग्दैन । त्यही आम्दानीले नुन, तेल, चामल किनेर घर फर्किन्छु ।

मिठो मसिनो खाने भन्दा पनि बिहान–बेलुका खान पुगोस् भन्ने कामना गर्छु । मेरो मात्र होइन, भाइको शारीरिक अवस्था पनि सग्लो छैन । प्यारालाइसिस भएकाले हिँडडुल गर्न सक्दैन । परिवारमा सबैको रेखदेखको जिम्मेवारी बुहारीको टाउकोमा छ । 

भाइका छोराहरू कमाउन कताकता पुगेका छन्, मलाई केही मेसो छैन । कमाएर पक्की घर बनाउने भनेको सुने पनि अहिलेसम्म उनीहरूको धोको पूरा भएको छैन । अलिकति जग्गा जोड्न सके खेतीपाती गर्न हुन्थ्यो पनि भन्छन् । मेरो भरथेगको आधार सामाजिक सुरक्षा भत्तामात्रै हो । तीन–तीन महिनामा मिल्ने यही सामाजिक सुरक्षा भत्ता र मेरो आम्दानीले जसोतसो घर धान्न पुगिरहेको छ । 

अलिअलि पैसा बचत गर्न सकेको भए बिरामी हुँदा उपचार र कमाइ नभएका बेला खानका लागि हुन्थ्यो भन्ने मनमा तर्कना उठिरहन्छन् । तर, एक सुको पनि बचत गर्न सकेको छैन । अहिलेसम्म ऋण लागेको छैन, त्यसैलाई बचत मानेको छु । भगवान‍्को कृपाले भनौं अहिलेसम्म कुनै रोग लागेको छैन ।

परिश्रम गर्ने भएकाले होला यो उमेरमा पनि मलाई बुढ्यौलीले छोएजस्तो महसुस हुँदैन । त्यही हो, अहिलेसम्म बिहे भएको छैन । तन्नेरीमा बुवा–आमाले विवाह गरिदिएनन् । बुढेसकालमा घरजम गरेर के गर्नु, आफ्नै खर्च धान्न धौ धौ छ । 

प्रस्तुति : नवीन पौडेल

घरखर्च

काशीराम

Link copied successfully