‘भारी बोक्नेलाई नामको जरुरत नपर्दो रहेछ’

बुवासँगै भैंसीको पछिपछि लागेर मंगलसेन आएदेखि फर्केर आफ्नो घर गएको छैन

फाल्गुन २८, २०८१

जगनाथ खनाल

”He who carries heavy does not need a name”

काठमाडौँ — भारी बोकेर गुजारा चलाउने भएर होला मलाई ‘बोक्न्यारो’ भन्छन् । अछामको बारला घर भएकाले कतिले बारल्ले भन्छन् । मेरो थर खनाल हुँदा धेरैले बाहुन पनि भन्छन् । भारी बोकेर गुजारा चलाउनेलाई नामको जरुरत नपर्दो रहेछ । जसलाई जे मन लाग्यो, त्यसैले सम्बोधन गर्छन् ।

सदरमुकाम मंगलसेन आएको ४० वर्ष नाघे पनि वास्तविक नाम कसैले पत्तै पाएका छैनन् । अनेक नामले किन बोलाएको हो भनेर प्रश्न गरिहालेँ भने काम नपाइने डर छ । त्यसैले जसले जे नाम दिए पनि गुजारा चलाउन पाएकाले ठिकै लाग्छ । अहिले ६० वर्ष हाराहारी भएँ हुँला । उमेर गणनासित मलाई मतलब पनि छैन । 

२० वर्षको उमेरमा बारलाबाट सदरमुकाम आउनुका पछाडि लामै कहानी छ । त्यतिबेला मंगलसेनका अछामी राजाले मेरो गाउँमा पुगेर एउटा भैंसी किने । उक्त भैंसी मेरो बुवाले राजाको घरसम्म पुर्‍याउने निर्णय भयो । बुवासँगै म पनि भैंसीको पछिपछि लागेर मंगलसेन आएदेखि फर्केर गएको छैन । 

घरमा को–को छन्, बुवा–आमाको अवस्था के छ, मलाई केही पनि थाहा छैन । आफू लेखपढ गर्न जान्दिनँ । सम्पर्क गर्न मोबाइल पनि छैन । घरबाट पनि मेरो अवस्था बुझ्न कोही आएनन् । यता आएदेखि राजाको घरमै बसेर लामो समय काम गरेँ । सुरुका केही वर्ष बाहिरफेर काम गर्नु पर्थेन । बस्नलाई समस्या पहिले पनि भएन, अहिले पनि छैन । भूकम्पको धक्काले चिराचिरा परेको घरमा बस्नका लागि एक कोठा दिएर ‘राजपरिवार’ कताकता पुगे कुन्नि । म भने घर कुरेर बसेको छु । कच्ची घरमा बिजुली, चर्पी, खानेपानी सुविधा छैन । 

ज्यान पाल्न भारी बोकेर दिनको सय/दुई सय कमाउँछु । मंगलसेनमा गाडी नपुगेको बेला भारी बोक्दा राम्रै कमाइ हुन्थ्यो । त्यतिबेला सरुवा भएर आउने/जाने सेना, प्रहरी र कर्मचारीका भारी बोकेँ । मंगलसेनबाट साँफेबगरसम्म भारी बोकेको २ सय ५० रुपैयाँ दिन्थे । बाटोमा खाना, नास्ता उनीहरूले नै खुवाउँथे । यहाँबाट बाजुराको मार्तडीसम्म भारी पुर्‍याएको ३ सय दिन्थे । डोटीको सिलगढी, दिपायल, शान्तिनगरसम्म पुर्‍याएका दिन ५/६ सय हात पर्थ्यो । 

भारी नै बोकेर ९० हजारजति जम्मा गरेको थिएँ । ढाडको छाला जानेगरी भारी बोकेर जम्मा गरेको त्यही पैसा पनि घरबारै चोरी भएपछि मानसिक रुपमा विक्षिप्त भएँ । अलिअलि पैसा जम्मा भएपछि बिहे गर्ने, थोरै भए पनि जग्गा किन्ने र आफ्नै घर बनाउँला भन्ने सोचेको थिएँ । पैसासँगै सपना पनि चोरी भयो । 

मेरो हुलिया पनि अन्य पुरुषको भन्दा फरक हुनुमा छुट्टै बाध्यता छ । पहिले अन्य पुरुषले जस्तै लुगा लगाउँथेँ । कहिलेकाहीँ आफ्नो कमाइले लुगा पनि किन्थेँ । पैसा चोरी भएपछि नयाँ लुगा किनेर लगाएको छैन । एक दिन घरमा राजाका छोरीहरूले ‘आफूले लगाउने लुगा लगाउँछौ’ भन्दा हुन्छ भनेँ । सुरुमा महिलाको पहिरनमा देखेर सबैले जिस्काउँथे । कमाइले लुगा किन्न नसक्ने भएपछि इज्जत ढाक्न केही न केही लगाउनै पर्‍यो । तर, जिस्काउँदा जिस्काउँदै चुरा, पोते पनि लगाइ दिन थाले । अहिले त यस्ता लुगा लगाउने बानी नै परिसक्यो ।

मैले धेरै बोक्ने भनेको चामल र ग्यासको भारी हो । गाउँमा विवाह, व्रतबन्ध भएपछि भाँडा धुन पनि बोलाउँछन् । भाँडा धोएबापत कसैले सय/दुई सय त कतिपयले पाँच सयसम्म दिन्छन् । अहिलेसम्म खाना घरमा पकाएर खाएको छैन । घरमै पकाउन भाँडाकुँडा, खाद्यान्न जुगाड गर्नलाई पैसा जम्मा हुँदैन । धेरैजसो त बजारमा घर भएका लक्षिराम भाट सरले खान दिनुहुन्छ । उहाँको ग्यास पसल भएकाले त्यहीँको भारी पनि बोक्छु । मसँग नागरिकता नभएकाले बैंकमा खाता खोल्न मिलेको छैन ।

नागरिकता कसले बनाइदिन्छ, कहाँ जानुपर्छ केही थाहा छैन । अहिले पो भारी बोक्न सक्छु, भारी बोकाउनेले खाना दिएका छन् । हातखुट्टा चल्न छाडेपछि के खाने, कहाँ जाने भन्ने चिन्ताले सताउँछ । सबैभन्दा धेरै चिन्ता त मरेपछि कसले अन्त्येष्टि गरिदेला भन्ने लाग्छ ।

प्रस्तुति : मेनुका ढुंगाना

जगनाथ खनाल

Link copied successfully